कपालमा कमाइ
अरबिन्द ठाकुर (२४) स्नातक पढ्दैछन्। उनले चाहेको भए अरू पनि काम पाउन सक्थे। तर, उनी फुर्सदको समयमा आफ्नो बुवाको कपाल काट्ने व्यवसायलाई साथ दिइरहेका छन्। ‘पढाइ हुँदा कलेज जाने हो, नभए म नै सेलुनमा धेरै बस्छु’ उनी भन्छन्। ठाकुरबाहेक पनि अन्य समुदायका धेरै युवाहरू कपाल काट्ने व्यवसायमा लागेको अरबिन्दको अनुभव छ। यसले युवाहरूमा पनि कपाल काट्ने ‘हजाम’ व्यवसायमा आकर्षण बढेको देखिन्छ।
अरबिन्दको परिवारमा ६ जना छन्। ‘ठूली बहिनी ९ कक्षा र साना भाइबहिनी ८/८ कक्षा पढ्छन्, यो सबै बुवाले कपाल काटेर नै गर्नु भएको हो।’ काठमाडौंको ढुंगेअड्डामा जनता हेयर ड्रेसर्स सञ्चालन गरेका अरबिन्द भन्छन्, ‘बुवालाई मैले पनि सहयोग गर्ने भएकाले हामीलाई गुजारा चलाउन ठीकै छ।’
पछिल्लो समय ठूला लगानीमा समेत सैलुनहरू खुलिरहेका छन्। १० देखि १५ जनासम्म कामदार राखेर व्यवसायसमेत सञ्चालन भइरहेका छन्। उनीहरूले महिनाको डेढ, दुई लाखसम्म आम्दानी गर्छन्। ठाकुरहरूको पुस्तौनी परम्परागत पेसाको रूपमा मात्र नभई अव व्यावसायिक रूपमा कपाल काट्ने पेसा अघि बढ्दैछ। ‘यो पेसामा सम्मान चाहिँ कम छ, सम्मानको वातावरण सरकारले बनाइदिनुपर्छ।’ अरबिन्द भन्छन्, ‘पढेलेखेको युवाले कुनै पनि काम गर्न लाज मान्नु हुन्न। आखिर विदेशमा परिआउँदा जे काम पनि गर्छन्। विदेशमा थोरै पैसामा समय गुजारिरहेका युवाका लागि स्वदेशमै यो राम्रो करियर बन्न सक्छ।’
लामो समयदेखि काठमाडौंको सुन्धारामा कपाल काट्ने काम गर्दै आएका छन्, ५५ वर्षीय हजाम प्रेम ठाकुर। सुनसरीको लौकीका ठाकुरको तीन छोरा र एक छोरी छन्। भन्छन्, ‘अरूको कपाल, दाह्री काटेर नै बालबच्चा हुर्काए, अहिले त आफैं कमाउने भएका छन्, परिवार पाल्न गाह्रो छैन।’
विवाह व्रतबन्धको समयमा कपाल र दाह्री काट्नेको भीडभाड धेरै हुन्छ। शनिबार र बिदाका दिनमा अरू दिनभन्दा कपाल र दाह्री काट्न आउनेहरू धेरै हुन्छन्। केहीले कपाल काट्ने व्यवसाय गरेर नै काठमाडौंमा घरसमेत बनाएका छन्। ‘सबैलाई त गाह्रो छ, तर कोही कोहीलाई धेरै फापेको छ, मेरा केही साथीहरूले कपाल काट्ने व्यवसाय गरेर नै काठमाडौंमा घरसमेत बनाएका छन्।’ प्रेम भन्छन्।
दाह्री काटेको सरदर ६० देखि एक सय रुपैयाँ र कपाल काटेको एक सयदेखि एक सय ५० सम्म तोकिएको छ। सामान्यतया मासिक ३५ देखि ४० हजारसम्म अधिकांशले आम्दानी गर्ने गरेका छन्। कपाल र दाह्री काट्नेबाहेक हेयर ड्राई, कपालमा कालो र रातो लगाउने, फेसियल, फेसवास, हेयर स्ट्रेट, हेयर आइरन, टाउको मसाज, हेयर हाइलाइट, फेस मसाज, थ्रेडिङ गर्नेलगायतका सेवा सैलुनहरूले दिने गरेका छन्। ठूल्ठूला व्यवसायीले घरमै गएर होमसेवासमेत दिने गरेका छन्।
‘काठमाडौं बस्न खान महँगो छ, भाडा तिर्नुपर्यो, सबै चिज किनेर खानुपर्छ। तर पनि यही व्यवसाय गरेर परिवार पालेका छु।’ सुन्धारामा श्री सैलुनमा काम गर्ने अर्का प्रेम ठाकुर भन्छन्।
भारतबाट समेत कपाल काट्ने रोजगारीका लागि धेरै हजामहरू नेपाल आएका छन्। भारतीयहरू यति नै छन् भन्ने तथ्यांक छैन। कपाल काट्ने व्यवसायमा अधिकांश मधेसी मूलको प्रभुत्व छ। नेपाल नाई संघका अध्यक्ष राजाराम ठाकुरका अनुसार नेपालमा ९२ हजार हजाम छन्। जसमा काठमाडौंमा मात्रै पाँच हजारको हाराहारीमा छन्। भारतबाट आएका विद्या ठाकुर पनि कपाल काटेर नै परिवारको गुजारा गरेको बताउँछन्। ‘यहीबाट कमाएको पैसा घर (भारत) पठाएर परिवार पालिरहेको छु,’ विद्या भन्छन्, ‘मान्छे आएको दिन राम्रो हुन्छ, कहिलेकाहीँ अलि गाह्रो हुन्छ।’
तालिमको माग
सरकारले कपाल काट्ने व्यवसायलाई व्यावसायिक रूपमा अगाडि बढाउन तालिम र प्रशिक्षणको व्यवस्था गर्नुपर्ने देखिन्छ। अरबिन्द यो व्यवसायलाई व्यावसायिक र सम्मानित बनाउन सरकारले समयसमय तालिम र प्रशिक्षणको व्यवस्था गर्नुपर्ने बताउँछन्, ‘विदेशमा त यो व्यवसाय गर्न तालिम लिनु अनिवार्य छ। तर, हामीकहाँ त पुख्र्यौली व्यवसाय भएकोले हामी बाबु तथा अग्रजबाटै सिक्ने हो, मैले पनि कुनै तालिम लिएको होइन, बुवासँगै सिकेको हो।’ तालिम र प्रशिक्षणको व्यवस्था राज्यले गरिदिए धेरै युवाहरू यो व्यवसायमा आउने उनको बुझाइ छ।
त्यसो त प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले कपाल काट्ने तालिम दिने गरेको छ। तर, यो तालिमले व्यापकता पाउन सकेको छैन। औपचारिकताको लागि मात्रै कपाल काट्ने व्यवसाय सञ्चालन गर्दै आएको देखिन्छ।
कपाल काट्ने व्यवसायमा समेत सिन्डिकेट देखिन्छ। उपत्यका नाई श्रमिक समन्वय समितिले तोकेको मूल्यभन्दा कम वा धेरै लिएमा व्यवसायीहरू कारबाही पर्ने गरेका छन्। दर रेट उल्लंघन गरेका पाइएमा १५ सयदेखि २५ सय रुपैयाँसम्म जरिवाना हुन्छ। प्रत्येक महिना अन्तिम मंगलबार सैलुन बन्द गर्ने नियम समितिले बनाएको छ। पसल खुला गरेमा जरिवाना तोकिएको छ।
युवा व्यवसायी अरबिन्द सैलुन व्यवसायीहरूको हक अधिकारबारे संघ संस्थाहरूले खासै काम नगरेको बताउँछन्। ‘पैसा असुल्छन्, त्योअनुसार केही काम गर्दैनन्।’ उनले पार्टी पिच्छेका समितिहरू रहेको पनि बताए। हातको सफाइ भएमा कपाल काटेर कमाउन न त उमेरले छेक्छ, न जातले। यो अब ठाकुरको मात्रै पेसा रहेन।
प्रतिक्रिया दिनुहोस !