डोटीमा लाखौं बजेट फ्रीज

डोटीमा लाखौं बजेट फ्रीज

डोटी : डोटीको केआईसिंह गाउँपालिकामा महिला विकासका लागि २८ लाख बजेट छुट्याइएको छ। तर कर्मचारी अभावले गर्दा अहिलेसम्म उक्त बजेट खर्च भएको छैन।यो घटना एउटा उदाहरण मात्र हो।डोटीका गाउँपालिका तथा नगरपालिकामा कर्मचारी अभावका कारण बजेट फ्रीज हुने स‌ंभावना देखिएको हो।

'महिला विकासका कामका लागि कर्मचारी पठाइदिनु पर्‍यो भन्दै हामीले पटक-पटक आग्रह गर्‍यौं तर अझै कर्मचारी आएन', केआईसिंह गाउँपालिकाका उपाध्यक्ष मिना बिष्टले भनिन्, 'कर्मचारी अभावका कारण महिला विकास तर्फको २८ लाख बजेट फ्रीज हुने सम्भावना बढेको छ।' गाउँपालिकामा कर्मचारी अभावका कारण अन्य काममासमेत समस्या आएको उपाध्यक्ष बिष्टले बताइन्।

उता बोगटान गाउँपालिकामा वडाका सचिवसहित १०-१२ जना मात्र कर्मचारी छन्। कर्मचारी अभावले काममा समस्या भइरहेको बोगटान गाउँपालिकाका अध्यक्ष कमल गड्सीलाले बताए।' समयमै सकिनुपर्ने काम कर्मचारी अभावका कारण सकिएको छैन', अध्यक्ष गड्सीलाले भने, 'कर्मचारी मागका लागि हामीले पटक-पटक आग्रह गर्‍यौं तर सुनुवाइ भएको छैन।' 

'असार मसान्त नजिकिँदै गर्दा कर्मचारी अभावका कारण भ्याइनभ्याइ भइरहेको छ', शिखर नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज विनाडीले भने, 'प्राविधिक कर्मचारीको समेत अभावका कारण विभिन्न योजना सम्पन्न गर्न समस्या भइरहेको छ।' विनाडीले भने,'न त कर्मचारी पर्याप्त छन् न त भवन छ, भवन अभावका कारण समेत काम काजमा समस्या आइरहेको छ।'

शिखर नगरपालिका चारकोठे भवनमा सिमित रहेको छ।नगरपालिका प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृतदेखि सबै कर्मचारी चारवटै कोठामा अटाएका छन्।भवन अभावले काममा समेत समस्या आएको र कामका लागि आएका सेवाग्राहीलाई बस्नलाई समेत समस्या भएको विनाडी बताउँछन्।

योजना अधिकृत वडा सचिव

सबैभन्दा पुरानो नगरपालिका दिपायल सिलगढी नगरपालिकामा कर्मचारी अभावले गर्दा एउटै कर्मचारीलाई दुई/तीनवटा कामको जिम्मा दिइएको छ।नगरपालिकाको योजना शाखाको शाखा प्रमुखका रुपमा काम गर्दै आइरहेका राजबहादुर खड्का वर्षौंदेखि वडा सचिवको जिम्मेवारी समेत सम्हाल्दै आइरहेका छन्।

'करीब छ सय योजना रहेका छन्', योजना अधिकृत खड्काले भने, 'शाखामा एक्लै छु, योजनाको उपभोक्ता समिति गठन गर्नेदेखि योजनाको सम्झौतासम्म सबै आफैले गर्नुपर्छ।' उता वडा सचिवको जिम्मेवारी समेत दिइएकाले वडाको काम समेत गर्नुपर्दा साह्रै समस्या आएको खड्काले बताए।

 ६५ वडाका ३६ सचिव

डोटी जिल्लामा जम्मा ६५ वटा वडाहरु रहेका छन्। सबै वडामा एकजना वडा सचिव हुनुपर्नेमा जम्मा ३६ जना सचिवले काम चलारहेका छन्।एउटै सचिवले तीनवटा वडाको जिम्मेवारी सम्हालेका छन्। चेतराज पन्त शिखर नगरपालिकामा कार्यरत छन्।नयाँ संरचना अनुसार अहिले उनी शिखर नगरपालिकाको वडा नम्बर सात, आठ र नौं को जिम्मेवारी लिएका छन्।'तीनवटा वडाको जिम्मेवारी लिएका कारण समस्या भइरहेको छ', सचिव पन्तले भने, 'नगरपालिकामा कर्मचारी अभाव भएका कारण तीनवटा वडाको जिम्मेवारी दिएको छ।'

पहिलेको भन्दा अहिले योजना पनि बढी रहेका छन् र वडा कार्यालयमा हुने अन्य काम काजहरु गर्न समेत समस्या भइरहेको सचिव पन्तले बताए। सचिव अभावका कारण एउटै सचिवलाई दुई/तीनवटा वडाको जिम्मेवारी दिनुपरेको जिल्ला समन्वय समितिले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.