मोदी अभिनन्दनमा ‘स्वतन्त्र मधेस’ माग्ने रिहा

मोदी अभिनन्दनमा ‘स्वतन्त्र मधेस’ माग्ने रिहा

काठमाडौं : गत शुक्रबार जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन भइरहँदा दर्शकदीर्घामा रहेका केही व्यक्तिले अखण्ड नेपालविरुद्ध नाराबाजी गरे। अवाञ्छित गतिविधि गर्दै आएका सीके राउतका कार्यकर्ताले अभिनन्दनमा उपस्थित रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, संघका र प्रदेशका अन्य मन्त्री तथा सुरक्षा अधिकारीसामु देशको सार्वभौमसत्तालाई चुनौती दिँदै ‘स्वतन्त्र मधेस’का ब्यानरसमेत देखाए।

भारतबाट सिधै जनकपुरधाम उत्रिएका भारतीय प्रधानमन्त्री मोदीले समारोहलाई सम्बोधन गर्दा कतै पनि मधेस शब्द उल्लेखसमेत गरेनन्। उनले नेपालको आन्तरिक मामिलामा आफू तटस्थ र सचेत रहेको सन्देश दिए। मोदीले जनकपुरधामका लागि गरेको आर्थिक सहयोगसमेत केन्द्रीय सरकारमार्फत लिन भनेर नेपालको अखण्डताप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याए। प्रहरीले ‘स्वतन्त्र मधेस’का पक्षमा नाराबाजी गर्ने र ‘मधेस देशमें स्वागत है’ जस्ता देशविरोधी ब्यानर प्रदर्शन गर्नेमध्ये केहीलाई नियन्त्रणमा लिए पनि कुनै अनुसन्धान र छानबिन नगरी रिहा गरेको छ।

राजनीतिक अध्येता राजेश अहिराज जनकपुरमा सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्रीले मधेसी, दलित, जनजाति, महिला र पछाडि परेका क्षेत्रलगायत शब्द प्रयोग नगरी सरकारको प्राथमिकता नै भारतको पनि प्राथमिकता रहेको सन्देश प्रष्ट भाषामा दिएको बताए। उनले भने, ‘तर स्वतन्त्र मधेसका नाममा भारतीय प्रधानमन्त्री मोदीको स्वागत गर्ने समूह रोक्न नसक्नुले भने सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठाएको छ।’

प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवले केही भूमिगत समूह र स्वतन्त्र मधेसको माग गरिरहेका समूहले चुनौती दिँदै आएको दाबी गरे। उनले भने, ‘राष्ट्रिय अखण्डताविरुद्ध गतिविधि गर्ने उनीहरूलाई कुनै हालतमा छाड्दैनौं।’ तर प्रदेश सरकारले स्वतन्त्र मधेसका पक्षमा प्रदर्शन क्रममा पक्राउ २५ जनालाई रिहा गरिसकेको छ। देशविरोधी प्रदर्शनको आरोपमा पक्राउ परेकालाई बिनाछानबिन छाडेकोबारे सोध्दा उनले भने, ‘संविधानले विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गरेकाले एक पटकलाई कडा चेतावनी दिई उनीहरूलाई छाडेका हौं। दोहोर्‍याएर त्यस्ता गतिविधिमा संलग्न भए कडा कारवाही गर्छौं।’

नेपाल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज (निस)मा आबद्ध सेनाका अवकासप्राप्त सहायक रथी सुरेश शर्मा मोदीको नागरिक अभिनन्दनमा स्वतन्त्र मधेसका पक्षमा आवाज उठ्नु आपत्तिजनक ठान्छन्। ‘सुरक्षा चुनौती पहिचान गरी त्यस्ता गतिविधि गर्नेलाई पहिल्यै रोक्नुपथ्र्यो’, उनले भने, ‘संविधानलाई चुनौती दिने र उल्लंघन गर्नेलाई बेलैमा कानुनी दायरामा ल्याउनुपर्छ।’


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.