सौभाग्यका लागि मिथिलाञ्चलमा वरको पूजा

सौभाग्यका लागि मिथिलाञ्चलमा वरको पूजा

राजविराज : मिथिलाञ्चलमा मंगलबार सोह्र श्रृंगार गरेर महिलाले श्रद्धापूर्वक बरसाइत (बटसाबित्री) पर्व मनाएका छन्। सौभाग्य–समृद्धिका लागि महिलाले वरको रूखमा दूध र जल चढाई पूजा-आजा गरेर यो पर्व मनाएका हुन्।

वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुने तथा सावित्री पनि सोही रूखमा प्रतिष्ठापित हुने मान्यताअनुसार पतिको दीर्घायुका लागि व्रत गर्ने गरिएको राजविराज ६ की अनु यादवले बताइन्।

मैथिली भाषामा वटलाई वर भनिन्छ भने पतिलाई पनि वर भन्ने गरिन्छ। बर रुखको दीर्घायु हुने भएकाले यसको पूजा गर्ने मान्यता रहेको बताइन्छ। वट-सावित्री पूजा नवविवाहिताले विवाह भएपछिको पहिलो पटक विशेष विधिविधानका साथ गर्नुपर्ने नवविवाहिता अन्जना ठाकुरले बताइन्।

वरको रूखको पूजासँगै शिक्षित तथा जेष्ठ महिलाले रुखमुनि गौरी, भगवती र विसहराको कथा भन्ने र अरुहरुले सुन्ने गर्छन्। पूजा सकिएपछि व्रत बस्ने महिलाले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको वरदान माग्ने गर्छन्। 

सधवा महिलाले वट सावित्री व्रतका दिन दिन सिंदूर, फल, फूल, अक्षता, बाँसको पंखा, चना र मिठाईले सावित्री, सत्यवान र यमराजको पूजा गर्छन्। सम्पूर्ण मिथिला क्षेत्रमा १६ श्रृंगार गरेका महिलाले बरको रुखको परिक्रमा गरी बेसारले रंगिएको काँचो सुतको धागो बाँध्ने चलन छ। ताकि उनका पति दीर्घायु हुन र प्रगति गरुन। 

प्रेम, श्रद्धा र समर्पणको यो पर्व पवित्र प्रेमको पौराणिक कथामा आधारित छ। राजविराज १ स्थित भगवती मन्दिरका पुजारी दुर्गानन्द मिश्रकाअनुसार पतिव्रता सावित्रीले यही पर्व गरेर मृत पति सत्यवानलाई यमराजबाट फिर्ता गरेको धार्मिक मान्यता छ। बट सावित्रीको पूजा गरेमा महिलाले अखण्ड सौभाग्यवतीको आर्शिवाद प्राप्त हुने विश्वास छ।

कथाअनुसार यमराजले सत्यवानको प्राण लिएर जान लागेपछि सावित्री पनि यमराजको पछि लागिन। यमराजले मृत पतिसँगै जिवित सावित्री जान नपाउने भन्दै त्यस्को साटो बरु वरदान माग्न भने। सावित्रीले सय पुत्रको आमा हुन पाउ भनी बरदान मागिन। यमराजले सय पुत्रको आमा हुन पाउने बरदान दिएलगत्तै सावित्रीले यमराजसँग आफू पतिव्रता महिला भएकोले पतिबिना सन्तान सम्भव नहुने बताएपछि सत्यवानको प्राण फिर्ता गर्न यमराज बाध्य भएको पुजारी मिश्रले बताए।

सावित्रीले पतिको प्राण बचाउन यमराजको पछि लागेको बेला बट वृक्षले नै सत्यवानको शवको देखरेख गरेको पौराणिक कथामा छ। पतिको प्राण फिर्ता लिएर फर्किने बेला सावित्रीले वट वृक्षप्रति आभार व्यक्त गर्दै परिक्रमा गरेर आराधना गरिन। यसैले वट सावित्री व्रतमा बरको रुखमा पूजा तथा परिक्रमा गर्ने नियम छ। आसपासमा बरको रुख नभएको अवस्थामा वरको हाँगा टिपेर आँगनमा रोपेर पनि व्रत सम्पन्न गरिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.