पुरुष जननेन्द्रियको प्रत्यारोपण

पुरुष जननेन्द्रियको प्रत्यारोपण

अमेरिकी चिकित्सकहरूको एउटा समूहले पुरुष जननेन्द्रियको सफल प्रत्यारोपण गरेका छन् । मेरिल्यान्ड राज्यको बाल्टिमोरस्थित जोन्स हप्किन्स विश्वविद्यालयका शल्य चिकित्सकको टोलीले एक अमेरिकी सैनिकको लिंग र अण्डकोषको सफलतापूर्वक प्रत्यारोपण गरेका हुन् । ती सैनिक अफगानिस्तानमा कार्यरत रहँदा एक घटनामा बम विस्फोटमा घाइते भएका थिए ।

चिकित्सकहरूले एक मृत व्यक्तिको लिंग, अण्डकोष र पेटको भित्री छाला ती सैनिकको जननेन्द्रिय प्रत्यारोपणमा उपयोग गरेका थिए । चिकित्सक टोलीले ती सैनिकका जननेन्द्रियले काम गर्ने दाबी गरेको छ । उनीहरूका अनुसार ती सैनिकको आफ्नै लिंग पुनर्निर्माण गरेको भए त्यो उपयोगी हुने थिएन ।

११ जना शल्य चिकित्सकको टोलीले गत मार्च २६ मा १४ घन्टा लगाएर ती सैनिकमा सफल प्रत्यारोपण गरेका थिए ।

कर्तव्यपालन गर्दा घाइते भएका कुनै पनि सैनिकको जननेन्द्रिय प्रत्यारोपण गरिएको योे पहिलो घटना हो भने अण्डकोष र जननेन्द्रियसहित त्यस वरिपरिका टिस्युलगायत पेटको तल्लो भागको छालासमेत प्रत्यारोपण गरिएको पनि पहिलो पटक हो । तर, चिकित्सकहरूले नैतिक कारणले कुन दाताको अण्डकोष ती सैनिकमा प्रत्यारोपण गरिएको हो जनाएका छैनन् ।

‘घाइते सैनिकको जननेन्द्रिय काटिइसकेकाले अक्षम भइसकेको थियो’, जोन्स हप्किन्स युनिभर्सिटीको प्लास्टिक एन्ड रिकन्स्ट्रक्टिभ सर्जरी प्रमुख डा.डब्ल्यूपी एन्ड्र्यु लीले भने, ‘युद्धका केही घाउ र चोटपटक बाहिर देखिँदैनन् तर तिनको असर भने धेरैलाई मन पदैन ।’ उनले यस्ता जननेन्द्रिय नै बेकम्मा हुने गरी लागेका चोटपटकलाई युद्धका अव्यक्त (मूक) घाउको उपमा दिए ।

‘हाम्रो विश्वविद्यालयले सन् २०१४ मा चोटपटकपछि गरिने सहवास कार्यक्रम सहप्रायोजन गरेको थियो’, उनले भने, ‘कार्यक्रममा हामीले जननेन्द्रियमा चोट लागेका घाइते सैनिकका पत्नी, पारिवारिक सदस्य र घाइतेको सेवा गर्नेहरूबाट त्यस्ता चोटग्रस्त व्यक्तिको जीवनमा, सहबास, पहिचान र आत्मसम्मानमा नै परेका अत्यन्त नकारात्मक प्रभाव थाहा पायौं ।’

जननेन्द्रिय प्रत्यारोपित सैनिकले अज्ञात नै रहने सर्तमा विश्वविद्यालयबाट जारी विज्ञप्तिमा भनेका छन्, ‘शल्यक्रियापछि जब म होशमा आएँ, मैले आफूलाई बल्ल सामान्य अनुभव गरेँ, म अब ठीक छु ।’

मेडिकल शब्दावलीमा यस्तो शल्यक्रियालाई भास्कुलराइज्ड कम्पोजिट एलोट्रान्सप्लान्ट भनिन्छ । यो शल्यक्रियामा छाला, हाड, मांसपेशी, टेन्डन र रक्त नली प्रत्यारोपण गरिन्छ ।

द जोन्स हप्किन्स जेनिटल ट्रान्सप्लान्ट प्रोग्रामले प्रत्यारोपणको खर्च बेहोरेको थियो । कार्यक्रमको पहिलो प्राथमिकता पोस्ट–ट्रमेटिक बिरामी खासगरी जननेन्द्रिय गुमाएका र परम्परागत विधिबाट उपचार नहुने घाइते सैनिकका चोट थिए ।

शल्य चिकित्सक टोलीमा समावेश विशेषज्ञहरूले ती सैनिक ६ देखि १२ महिनामा पूर्णतया निको भइसक्ने अपेक्षा गरेका छन् । जेनिटोयुरिनरी ट्रान्सप्लान्ट प्रोग्रामका क्लिनिकल डाइरेक्टर डा. रिक रिडटले ती सैनिकले स्वास्थ्यलाभ गरिरहेका र यसै साता अस्पतालबाट डिस्चार्ज हुने अपेक्षा गरिएको जानकारी दिए ।

‘हामीले यस्ता जीवन सुधार्ने प्रत्यारोपणबाट उनले पिसाब फेर्न र सहबास गर्न सक्ने तथा उनी सामान्य जिन्दगी जिउन सफल हुने अपेक्षा हामीले लिएका छौं’, डा. रिडटले भने, ‘हाम्रो अर्को उद्देश्य भविष्यमा यस्तै अन्य बिरामीको यसरी नै सफल उपचार गर्ने प्रविधि उपलब्ध छ भन्ने जानकारी दिनु पनि हो ।

विश्वविद्यालयले कार्यक्रमअन्तर्गत यस्तै प्रकृतिका अन्य ६० वटा जननेन्द्रिय प्रत्यारोपण शल्यक्रिया गर्न स्वीकृति दिइसकेको जानकारी प्रत्यारोपण गर्ने चिकित्सक टोलीले दिएको छ ।

अमेरिकामा पुरुष जननेन्द्रियको पहिलो प्रत्यारोपण सन् २०१६ मा बोस्टनस्थित म्यासाचुसेट्स जनरल हस्पिटलमा गरिएको थियो । विश्वमा पहिलोपल्ट लिंगको सफल प्रत्यारोपण भने सन् २०१४ मा एकजना दक्षिण अफ्रिकी शल्य चिकित्सकले गरेका थिए ।

बीबीसीबाट
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.