जनप्रतिनिधिका एक वर्षा : भरतपुरको धीमा गति

जनप्रतिनिधिका एक वर्षा : भरतपुरको धीमा गति

भरतपुर : भरतपुरलाई महानगरपालिका घोषणासँगै जनतामा उत्साह र विकासको अपेक्षा ह्वात्तै बढेको थियो । निर्वाचनका बेला गरिएका उम्मेदवारको योजनाले महानगरवासीमा उत्साह र अपेक्षा बढाए पनि जनप्रतिनिधि आएको एक वर्षसम्म त्यो पूरा हुन सकेको छैन । ‘स्मार्ट सिटी’ बनाउने भनिएको भरतपुरमा गाभिएका ग्रामीण क्षेत्रका सडक निर्माणसमेत धीमा गतिमा भइरहेको छ ।

विकासको नाममा सडकमा कालोपत्रे गर्ने काम भइरहेको छ । नगरवासीले प्रगतिको खासै अनुभव गर्न पाएका छैनन् । महानगरको कामप्रति नागरिक सन्तुष्ट छैनन् । ‘महानगरपालिका भएपछि जस्तो होला भन्ने सोचिएको थियो केही फरक भएन’, भरतपुर–११ का मित्रराज खनालले भने, ‘सामान्य पूर्वाधारको समेत अनुभव गर्न पाएका छैनौं ।’ महानगरको विकासे कामलाई साना योजनाले अल्झाएको छ ।

नगरपरिषद्बाट पास गरिएको योजना सम्पन्न गर्नसमेत ढिलाइ भएको छ । पुस २१ मा भएको पहिलो नगरसभाले करिब १५ सय योजना पास गरेको थियो । तीमध्ये २ सयभन्दा बढी ठूला योजना छन् । महानगरको २९ वटै वडामा वडास्तर र महानगरस्तरका योजना सञ्चालनमा छन् । महानगरले ६० प्रतिशत काम सम्पन्न भएको जनाएको छ । त्यसमा अधिकांश साना योजना छन् । दुई लाखभन्दा बढी योजना सम्पन्न भएका छैनन् । यसका लागि महानगरले नगरसभा गर्न ढिलाइ भएको कारण देखाएको छ ।

कतिपय स्थानमा जनसहभागिताको रकम नउठ्ने समस्याले काम नभएको योजना प्रमुख वरिष्ठ इन्जिनियर भरत आचार्यले बताए । ‘संघ र प्रदेशको निर्वाचनसँगै नगरसभाको ढिलाइले काम धेरै हुन नपाएको हो’, उनले भने, ‘अहिले साना सडकको निर्माणमा धेरै काम भएको छ ।’ उनले कामको प्रगति सन्तोषजनक भएको दाबी गरे । आचार्यका अनुसार करिब ३५ किलोमिटर नयाँ सडकको योजना छ ।

साना योजनाको नाममा ठूला योजना ओझेलमा परेका छन् । अव्यवस्थित पार्किङ र मुख्य बजार क्षेत्र कुरुप बनाएको छ । नारायणगढ र भरतपुर क्षेत्रमा भएका जथाभावी पार्किङ नियन्त्रण गर्न महानगरपालिकाले सकेको छैन । लायन्स चोकदेखि पुल्चोकसम्म पार्किङ निषेध गरिए पनि अन्यत्र अस्तव्यस्त देखिन्छ । केही वर्ष हटाइएको फुटपाथ व्यवसाय फेरि सुरु भएको छ । फुटपाथलाई अन्यत्र सार्ने बताइएको छ । एक साताभित्र फुटपाथ व्यवसाय हटाइने उपप्रमुख पार्वती शाह ठकुरीले बताइन् । उनका अनुसार पार्किङलाई पनि यसै साताभित्र व्यवस्थित बनाइनेछ ।

नगरसभाले चक्रपथ निर्माणलाई मेघा प्रोजेक्टका रूपमा लिएको छ । दीर्घकालीन योजनाका रूपमा अघि सारिएको चक्रपथका लागि प्रक्रिया थालनी भएको छ । महानगरवासीले मन पराएको रिङरोडको अवधारणामा केही स्थानमा सामान्य सर्वे मात्रै गरिएको छ । केन्द्र र प्रदेशसँग सहकार्य गरी महानगरीय रिङरोड र लिंकरोडको योजना अघि सारिएको थियो । गोन्द्राङ, बिसहजारी ताल, पटिहानीको धनौजीलाई यसै वर्षबाट सुरु गरिने भनिए पनि त्यसले गति लिन सकेको छैन ।

साढे तीन अर्बको योजनामध्ये ६० प्रतिशत मात्र काम सकिएको छ । बाँकी दुई महिनामा सक्न महानगर लागिपरेको छ । महानगरको नगर परिषद्बाट ‘सिटी हल’ र तेस्रोमा ल्यान्डफिल साइटको दीर्घकालीन योजना पास गरेको छ । यसका लागि पनि छलफलबाहेक अरू हुन सकेको छैन । विश्व बैंकको १० करोड रुपैयाँ सहयोगमा २५ करोड रुपैयाँ लागतमा ल्यान्डफिल साइट निर्माण गरिने भनिएको हो । झन्डै १६ विघा क्षेत्रमा महानगरभरिको फोहोर व्यवस्थापन गर्ने योजना छ ।

सहयोगका लागि कोरियाली सरकारसँग छलफलको चरणमा रहेको वातावरण शाखा प्रमुख विराट घिमिरेले बताए । बढीमा २५ करोडको लागतमा बनाउने गरी लगानीकर्ता छनोट गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र विश्व बैंकको सहयोगमा निजी क्षेत्रको समेत लगानी रहने गरी छानिएका लगानीकर्तालाई प्रतिवेदन बुझाउने गरी अध्ययनको जिम्मेवारी दिइएको घिमिरेले बताए । सन् २०१७ देखि २०१९ सम्म यो योजना सकिने लक्ष्य हो । उनका अनुसार कुहिने फोहोरबाट आम्दानी हुने गरी फोहोरबाट ऊर्जा कार्यक्रम गर्न लागिएको छ । निजी क्षेत्रको प्रस्तावबाट फोहोरलाई वर्गीकरण गरेर ल्यान्डफिल साइटबाट प्रतिदिन चार हजार केजी मल र ३८ सिलिन्डर ग्यास उत्पादन गर्ने गरी प्रोजेक्ट निर्माण गरिएको छ ।

भरतपुर महानगरपालिका र चीनको केन्द्रीय दक्षिण विश्वविद्यालयबीच शैक्षिक सहकार्यलाई उपलब्धि ठानिएको छ । स्नातकोत्तर र विद्यावारिधिमा २ सय १७ शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ शैक्षिक कार्यक्रम सञ्चालन भएको विश्वविद्यालयले महानगरपालिकाका गरिब, असहाय तथा जेहेनदार २० विद्यार्थीलाई पूर्ण र ५० विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको छ । अधिकांश योजना पूर्वाधारसँग सम्बन्धित रहेको त्यसपछि सामाजिक क्षेत्र, क्षमता अभिवृद्धि र सीप विकासका योजनालाई प्राथमिकतामा थियो ।

गत वर्ष साउन २२ गते जनप्रतिनिधिले कार्यभार सम्हालेका हुन् । पहिलो वर्ष भएकाले पनि काममा ढिलाइ भएको नगरपालिकाका अधिकृतले बताए । सुरुमा संरचनाको लागि ढिलाइ भएको थियो । विकास र समृद्धिको क्षेत्रमा १० प्रतिशत मात्र काम भएको छ । ग्राभेल, सरसफाइ र कालोपत्रे अहिले देखिएका काम हुन् । वातावरणमैत्री नगरका लागि साना पोखरी निर्माण तथा पार्क निर्माणको काम पनि कार्यान्वयनको चरणमा छ ।

महानगरको प्रमुख र उपप्रमुखको सचिवालय व्यवस्थापनमा ढिलाइ भएको छ । स्थानीय निकायलाई अधिकारसम्पन्न भनिए पनि प्रदेश सरकारबाट कार्यविधि नपाएको गुनासो जनप्रतिनिधिले गरेका छन् । एक वर्षको अवधि सकिए पनि जनताले सोचेअनुसार काम गर्न नसकिएको जनप्रतिनिधि स्विकार्छन् । मौखिक पाए पनि लिखित नहुँदा काम गर्न कठिनाइ भएको न्यायिक समितिको संयोजक महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले बताइन् ।

प्रदेश सरकारले तीन साताअघि मात्र विधेयक पठाएको छ । २२ वटा मुद्दामा एकल निर्णय गर्ने अधिकार भए पनि लिखित रूपमा नआउँदा न्यायिक समितिको काम प्रभावित भएको थियो । प्रदेशबाट पाएको विधेयकलाई राय परामर्शका लागि अधिवक्तालाई अध्ययन गर्न दिएको बताइन् । सचिवालयका लागि कर्मचारी नियुक्ति भएको छैन । दैनिक दुई वटा इजलास गरिने भरतपुरमा छुट्टै इजलास कक्ष छैन । उपप्रमुखले आफ्नै कार्यकक्षमा इजलास गर्दै आएकी छन् ।

...

महानगरपालिकाका मेयर रेणु दाहाल र उपप्रमुख पार्वती शाह एक वर्षअघि पद तथा गोपनीयताको शपथ लिँदै ।

निर्वाचनमा विजय भएपछि ¥यालीमा मेयर रेणु दाहाल र उपप्रमुख पार्वती शाह ।

चीनस्थित सेन्ट्रल साउथ विश्वविद्यालयसँग शैक्षिक सहकार्यको सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा मेयर रेणु दाहाल र उपप्रमुख पार्वती शाह ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.