प्रदेश ५ : सदरमुकाममै खानेपानीको हाहाकार

प्रदेश ५ : सदरमुकाममै खानेपानीको हाहाकार

बुटवल :  गुल्मी मदानेको छापहिले गाउँमा खानेपानी संकट सुरु भएको छ।चामलका बोरा बोकेर गाउँ जानुपर्ने बाध्यता टार्न बनेको मोटरबाटोले खानेपानीको मुहान सुकेपछि दैनिक पानी खोज्न भौंतारिनुपरेको छ।पिउनेखोला मुहानमाथिबाट डोजरले बाटो खन्दा मुहान नै भासियो।मुहान भासिएपछि गाउँका झन्डै ५ सय घरधुरी पानीका लागि दुःख झेल्दै छन्।

‘गाडी त आयो तर थाप्लाको नाम्लो झरेन,’ स्थानीय कमला खड्काले भनिन्, ‘पानी बोक्दा झन् हैरान भएको छ।’ गाउँपालिकामा खनिएका अन्य सडकका कारण पनि मुहान भासिएपछि मुहान संरक्षण अभियान थालिएको छ।

गुल्मीका धेरै क्षेत्रमा खानेपानी समस्या छ।भएका मुहानसमेत सडक निर्माण क्रममा भासिएपछि सदरमुकाम तम्घासमा पानी संकट बढ्दै गएको हो।दर्लामचौर, बलेटक्सार, पुर्कोटदह, हुंगा, दौघालगायतका बासिन्दाले खानेपानी अभाव झेल्दै आएका छन्।

मुहानमाथि बनेको संरचनाले खानेपानी संकट निम्त्याएको गुल्मी जिल्ला खानेपानी आयोजनाका प्रमुख बालमुकुन्द श्रेष्ठ बताउँछन्।‘मापदण्डविपरीत सडक निर्माण भए, वृक्षरोपण छैन,’ उनले भने, त्यसैले पानीका मूल सुके।’ डाँडामा रहेका खानेपानीका मुहान सुक्दै जान थालेपछि खोला, नदीको पानीलाई लिफ्टिङ गर्ने आयोजनाको माग बढ्न थालेका छन्।श्रेष्ठका अनुसार हाल जिल्ला खानेपानी कार्यालयबाट सञ्चालित ९६ वटा खानेपानी आयोजनामध्ये ५५ वटा (पम्पिङ) खानेपानी आयोजनाको काम भइरहेको छ।

विद्यालय छाडेर पानी

इस्मा गाउँपालिका–३ दर्लामचौरकी निशा विक १२ वर्षकी भइन्।गाउँकै विद्यालयमा तीन कक्षामा पढ्ने उनलाई दैनिक पानी बोक्नुपर्ने बाध्यता छ।बिहान बेलुका पानी नबोक्दासम्म उनी विद्यालय जान पाउँदिनन्।विकलाई पानी बोक्ने रहरभन्दा बाध्यता हो।बिहानै चार बजेदेखि उनी पानी भर्न लाइनमा बस्छिन्।

‘बिहान–बेलुका पानी बोक्दा बोक्दै बित्छ’, विकले भनिन्, ‘सरहरूले दिएको होमवर्क पनि गर्न पाउँदिनँ।’ करिब एक घण्टा टाढाको दूरीबाट गाउँका धेरै बालबालिकाले डोकोमा खानेपानी बोक्दै आएका छन्।कतिपय बालबालिकाले पानीकै कारण विद्यालय छाडेका छन्।

सदरमुकाम तम्घासमा पनि मागअनुसार खानेपानी आपूर्ति हुन सकेको छैन।धागीथुम, उपल्लो तम्घास क्षेत्रमा खानेपानीको माग बढ्दै गए पनि आपूर्ति गर्न नसक्दा यस क्षेत्रका उपभोक्तालाई समस्या भएको उपल्लो तम्घास खानेपानी समितिका अध्यक्ष छविलाल पन्थीले बताए।

खानेपानीको दिगो समाधानका लागि स्थानीय तहले मूल संरक्षण र वृक्षरोपणका कार्यक्रम अगाडि बढाएको बताए।रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले खानेपानी समस्या समाधानका लागि स्रोतको खोजी र मूल संरक्षणमा लागेको जानकारी दिए।

तानसेनमा सधैँ संकट

पाल्पाको सदरमुकाम तानसेनमा खानेपानीको भाँडो भर्न एक साता कुनुपर्छ।सातामा एक घण्टा मात्रै आउने पानीले गर्जाे टार्नुपर्ने बाध्यता तानसेनवासीको दशकदेखिको हो।तानसेन मात्रै होइन, ग्रामीण क्षेत्र पनि खानेपानी समस्या झेल्दै छ।

पछिल्लो समय विस्तार भएका सडकले अधिकांश ग्रामीण क्षेत्रका मुहान सुकाएको छ।तानसेनमा आउने पानीको मुहान सुक्नुको मुख्य कारण अव्यवस्थित सडक निर्माण हो।तानसेनमा भुल्के, सिस्ने, होलाङ्दी, तीनधारा, क्षेत्रबाट लिफ्ट गरी खानेपानी वितरण हुँदै आएको छ।

तानसेनका ९० प्रतिशत जनताको घरमा लिफ्ट प्रणालीबाट खानेपानी आपूर्ति हुन्छ।विद्युत् आपूर्तिमा हुने अनियमितताले खानेपानीमा प्रत्यक्ष असर पु¥याएको छ।दैनिक २० लाख लिटर पानीको माग रहेको तानसेनमा ७ लाख लिटर मात्र आपूर्ति छ।‘चाहेर पनि धेरै पानी ल्याउन सकेका छैनांै,’ तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्यले भने।

तानसेनमा ३ हजार २ सय निजी धारा छन्।बस्ती बढ्दै गएकाले ६ सय धाराको मागसहित निवेदन थुप्रिएका छन्।‘पानी दिन सकिँदैन, धारा मात्रै वितरण गरेर के गर्नु ? ’ उनले भने।तानसेनको खानेपानी समस्या समाधान गर्न कालीगण्डकी लिफ्ट योजना सुुरु गरिएको छ।तर, ४० प्रतिशत काम सकिएको योजना कहिले आउने भन्ने पर्खाइमा तानसेनवासी छन्।योजना पूरा भए दैनिक २४ लाख लिटर पानी आयात हुने विश्वास गरिएको छ।

बुटवलमा धमिलो पानी

पाल्पाको ढल बोक्दै बग्ने तिनाउ नदी धमिलिएपछि बुटवलवासीका धारामा धमिलो पानी झर्छ।प्रदेशको अस्थायी मुकाम बुटवलवासीले धमिलो पानी खान थालेको दशक बढी भइसक्यो।तर, अहिलेसम्म स्वच्छ खानेपानी पिउन पाएका छैनन्।

बुटवलमा स्वच्छ पानी ल्याउन २० वर्षअघि सुरु गरिएको झुम्सा खोला खानेपानी आयोजना अलपत्र छ।दैनिक सवा तीन करोड लिटर पानी ल्याउने गरी बनेको अर्ब लागतको योजना निर्माण नै नहुने आशंका बढेको छ।खानेपानी योजनाका लागि झन्डै १२ किलोमिटर पाइप बिछ्याएको वर्षांै भइसकेको छ।बिछ्याएका पाइप फुट्दासमेत थप काम हुन सकेको छैन।योजनाका नाममा पटक–पटक परिवर्तन भए पनि बुटवलले पानी पाएको छैन।

‘खानेपानी आउँछ भन्ने सपना देखाएकै कति भयो, धमिलो पानी खानुपर्ने बाध्यता टरेन, बुटवल सुख्खानगगरका गिरिराज शर्माले भने।बुटवलमा अहिले झन्डै दुई करोड लिटर पानी वितरण भएको छ।

खानेपानी संस्थान बुटवलका निमित्त प्रमुख मोहन भट्टराईका अनुसार उपभोक्ताको माग साढे तीन करोड लिटर छ।साढे १५ हजार धारा वितरण गरिएका छन्।तिनाउ खोला र १८ वटा बोरिङबाट संकलित पानीले ती धाराको माग सामान्य थेगेको छ।तिनाउमा ६ वटा पम्प लगाएर तानिएको पानी धमिलो हुने गरेको हो।६० प्रतिशत पिउने पानी तिनाउबाटै तान्ने गरिएको छ।अस्वस्थकर पानी वितरणप्रति स्थानीय तह सचेत छैनन्।

बुटवलमा एक दशकअघि आएको एडीबीको खानेपानी आयोजनाको अत्तोपत्तो छैन।निर्माण सुरु भएको भनिए पनि त्यसले पानीको माग पूर्ति गरेको छैन।बढी धमिलो पानी जाने क्षेत्र सुख्खा र दीपनगरमा सोही २८ करोडको आयोजनाको पानी प्रयोग गर्ने योजना बनाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.