जनकपुर-अयोध्या बस सेवा उद्घाटनमै सीमित

जनकपुर-अयोध्या बस सेवा उद्घाटनमै सीमित

 जनकपुरधाम : प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झन्डा देखाएर संयुक्त रूपमा उद्घाटन गरेको जनकपुर-अयोध्या बस सेवा बन्द भएको छ।

जानकी मन्दिर परिसरमा वैशाख २८ गते उद्घाटन गरेसँगै अयोध्या पुगेका बस तीन दिनपछि जनकपुर फर्किएका थिए। त्यसपछि बस पुनः अयोध्याका लागि गुडेका छैनन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट तत्काल ल्याइएका बस अयोध्याबाट जनकपुर आएलगत्तै काठमाडौं फर्काइएपछि सेवा बन्द भएको जनकपुर उपमहानगरपालिकाकी उपमेयर रीता झाले जानकारी दिइन्।

जनकपुरलाई रामायण सर्किटमा जोड्न सुरु गरिएको बस सेवा प्राविधिक प्रक्रिया पूरा गर्न नसकेका कारण बन्द भएको उनको भनाइ छ। उनका अनुसार बस कसले खरिद गरेर सञ्चालन गर्ने विषयमा पनि अन्योल देखिएको छ।

‘रुट परमिट लिनुपर्ने, बस कहाँ-कहाँ रोक्ने, कति भाडा तोक्ने र बस कसले खरिद गर्ने भन्ने विषयमा केही निर्णय भएको छैन’, उनले भनिन्, ‘त्यही भएर बस सेवा तत्काल बन्द भयो।’

उनका अनुसार दुई महिनापछि बस सेवा नियमित सञ्चालनमा आउनेछ। यद्यपि, बस सेवा संघीय सरकार वा प्रदेश सरकार कसले प्रक्रिया पूरा गरेर सञ्चालन गर्ने भन्ने विषयमा उनले अनभिज्ञता प्रकट गरिन्। बसमा अयोध्या पुगेर फर्किएकी उनले भनिन्, ‘भारतमा मुख्यमन्त्री योगी आदित्यनाथजीले हामी यात्रुलाई स्वागत गर्नुभयो। बस सेवाले उहाँ एकदमै खुसी हुनुभयो।’ आदित्यनाथले बस सेवा सञ्चालनमा चासो देखाएको उल्लेख गर्दै उनले चाँडै सुरु हुने विश्वास व्यक्त गरिन्।

प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले बस सेवा सञ्चालन गर्ने योजना संघीय सरकारको भएकाले पुनः कहिले सुरु हुन्छ भन्ने यकिन नरहेको बताए। बस सञ्चालनका विषयमा संघीय सरकारसँग समन्वयसमेत नभएको उनको भनाइ छ। ‘बस सेवा बन्द भयो कि भएन भन्न पनि सकिन्न’, उनले भने।

उनका अनुसार जनकपुर-अयोध्या बस सेवा नियमित सञ्चालन गर्न कम्तीमा दुईवटा बस चाहिन्छ। ‘तर, बस कसले खरिद गर्ने भन्नेमै अन्योल छ’, उनले भने, ‘यसको आधिकारिक व्यक्ति म हैन। कहिलेदेखि नियमित बस सुरु हुन्छ भन्ने कुरा संघीय सरकारलाई नै थाहा होला।’

जनकपुरबाट करिब ६ सय किलोमिटरको यात्रा गर्दा भारतको उत्तर प्रदेशस्थित अयोध्या पुगिन्छ। सितामढी हुँदै अयोध्या पुग्न करिब १२ घण्टा लाग्छ। भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुर जोड्न बस सेवा आरम्भ भएपछि यहाँका बासिन्दा खुसी भएका थिए। बस सेवाले जनकपुरमा पर्यटक बढ्ने र यस क्षेत्रको विकासमा सघाउ पुग्ने विश्वास सरोकारवालाले लिएका छन्। तर, बस एकपटक मात्र अयोध्या पुगेर बन्द भएपछि स्थानीयवासी निराश बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.