गोरेले आत्मसमर्पण गरे कि पक्राउ परे ?
![गोरेले आत्मसमर्पण गरे कि पक्राउ परे ?](https://annapurnapost.prixacdn.net/media/albums/Chudamadi_uprati_gore_20180522095636_DpCobeK2sa.jpg)
काठमाडौं : मंगलबार प्रहरीले ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ गोरेलाई सार्वजनिक गरेको छ। गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सुन तस्करी प्रकरणको छानबिनाका लागि गठित समितिले गोरेलाई सार्वजनिक गरेको हो। सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्याको प्रमुख अभियुक्त गोरे काठमाडौंको गौरीघाटबाट पक्राउ परेको छानबिन समितिको दाबी छ। मोरङ उर्लाबारी नगरपालिका ७ स्थायी घर भएका ३७ वर्षीया गोरे गौरीघाटमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको छानबिन समितिको दाबी छ।
उता गोरेले आत्मसमर्पण गरेको एक निवेदन सार्वजनिक भएपछि भने छानबिन समितिको दाबीमाथि प्रश्न उठेको छ। नेपाल मानवअधिकार संगठनमार्फत् गोरेले जीवन रक्षासहित आत्मसमर्पण गरेको पत्र सार्वजनिक भएपछि गोरे पक्राउको विषय पेचिलो बनेको हो।
गोरेले ०७५ जेठ ३ गते लेखेको पत्रमा भनेका छन्, ‘प्रस्तुत विषयमा हाल नेपालमा चर्चामा रहेको ३३ किलो सुन प्रकरणमा मलाई मात्र दोषी देखाई विभिन्न पक्ष व्यक्तिले मेरै ज्यान लिनेसम्मको घटना घटाई अनुसन्धानमा रहेको विषयमा आफ्ना कुरा राख्न समेत बञ्चित गराउने र दोष जति सबै मेरा थाप्लामा हाल्ने देखिएकोले म आफ्नो राय राख्न तथगा मसँग भएका प्रमाणहरु सम्बन्धित अदालत वा छानबिन समिति समक्ष राख्न चाहन्छु।’
सँगै गोरेले ३३ किलो सुन काण्डमा तीन जनाको हत्या भइसकेकाले आफ्नो पनि जीवन खतरामा परेको भन्दै उनले आत्मसमर्पण गर्नु परेको उल्लेख गरेका छन्। ‘यस बीचमा यसै घटनासँग सम्बन्धित हुन सक्ने तीनजनाको समेत हत्या वा मृत्यु भइसकेको थाहा पाएको हुँदा मेरो पनि जीवन खतरा पूर्ण रहेको देखिन्छ। हाल म लुकिछिपी बाच्नु परेकोले आफ्ना कुरा राख्न समेत पाएको छैन। सो सम्बन्धमा मसँग रहेका, भएका विषय राख्ने वातावरण बनाइदिनु हुन अनुरोध गर्दछु’, गोरेले लेखेको आत्मसमर्पण पत्रमा थप लेखिएको छ, ‘मेरो जीवन रक्षाहोस्। कानुनलाई सघाउन तथा आफ्ना कुरा राख्न पाउँ भन्दै तपाईमार्फत् नेपाल मानव अधिकार संगठन समक्ष यो निवेदन गर्दछु। सुरक्षित रुपमा न्यायालयमा पुग्न सक्ने मिति, स्थान र समयको प्रबन्ध मिलाई दिनु हुन समेत अनुरोध गर्दछु।’
आफैले मास्क खोलेर अनुहार देखाए गोरेले
काठमाडौंबाटै समातिएका थिए गोरे : छानबिन समित
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)