मोरङ जिल्ला अदालतमा गोरेको बयान
विराटनगर : साढे ३३ किलो सुन तस्करी मुख्य नाइके चुडामणी उप्रेती ‘गोरे’ को मोरङ जिल्ला अदालतमा बयान सुरु भएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बिहान १० बजेदेखि सुरु भएको बयान जारी रहेको छ ।
सुन तस्करीका नाइके गोरे मंगलबार पक्राउ परेका थिए । गृह मन्त्रालयले गोरेलाई काठमाडौंमा सार्वजनिक गरेर मोरङ ल्याएको हो । यसैबीच जिल्ला अदालत मोरङले मंगलबार सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्यामा मुछिएका २८ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
६३ जना अभियुक्त बनाएर जिल्ला अदालत मोरङमा वैशाख १९ गते मुद्दा दर्ता गरिएको थियो । १७ अर्व १ करोड ८० लाख ७२ हजार ४ सय १३ रुपैयाँ ९० पैसा माग दाबीसहितको मुद्दा दर्ता गरिएको थियो ।
सरकारी वकिल र प्रतिवादीतर्फका कानुन व्यवसायीको चुनछेक बहस पनि सोमबार नै सकिएको छ । बुधबारबाट मुख्य अभियुक्त गोरेको बयान सुरु भएको छ ।