विष्णु पौडेलको टिप्पणी : 'कांग्रेसले नीति तथा कार्यक्रम बुझेन'
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारको नीति तथा कार्यक्रम 'बुझ्न नसकेको' टिप्पणी गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जारी छलफलमा महासचिव पौडेलले प्रमुख प्रतिपक्षी कांग्रेसले 'आलोचनाका लागि आलोचना' गरिरहेको टिप्पणी गरे।
'हामीले नीति तथा कार्यक्रममा समान अवसर, समान अधिकारको कुरा गरेका छौँ तर प्रतिपक्षीलाई यो पनि पचेन', पौडेलले भने, 'सभामुख महोदय, यो भनेको बुझ्न नसक्नु वा बुझ्न नचाहनु हो। विभेदमा विश्वास गर्नेले समान अवसर र समान अधिकारलाई बुझ्न सक्दैनन्।'
कांग्रेसका सांसदहरूले नीति तथा कार्यक्रमलाई 'कर्णप्रिय' भनेर व्यंगय गरेकोमा आपत्ति जनाउँदै पौडेलले भने- 'कर्णप्रिय पनि आलोचनाको विषय हुन सक्ला र?'
'सरकारको नीति तथा कार्यक्रममा गणतन्त्र आएन'
प्रतिपक्षीको धर्म 'विरोध गर्ने' भए पनि विरोधका लागि विरोध नगर्न उनले आग्रह गरे। 'प्रतिपक्षीको धर्म विरोध गर्ने हो, यो संवैधानिक अधिकार हो', उनले भने, 'तर म भन्न चाहन्छु- यो स्पष्ट दृष्टिकोण र आत्मविश्वासका साथ आएको छ। शान्ति, सुशासन र समृद्धिको दृष्टिकोणमात्र होइन, गन्तव्य प्राप्त गर्ने अठोट पनि छ।'
पौडेलले 'समाजवादतर्फको आधारवर्ष र संविधान कार्यान्वयनका लागि चालिएको गहकिलो कदम' का रुपमा सरकारको नीति तथा कार्यक्रमको चर्चा गरे।
सरकारले राष्ट्रिय एकताका पक्षमा बोल्दा 'देशभक्तिको पाठ पढाएको' रुपमा अर्थ्याइएको भन्दै पौडेलले प्रश्न गरे- 'सबै जाति, भाषा, धर्म, संस्कृतिको एकतालाई पक्षपोषण गरेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नु सरकारको कमजोरी हो?'
नीति तथा कार्यक्रममा 'यो पनि गर्छौँ, त्यो पनि गर्छौँ' भनिएको भन्दै प्रतिपक्षी कांग्रेसले गरिरहेको टिप्पणी सतही भएको उनले बताए। 'एउटा मात्र काम गरेर देशलाई समृद्ध बनाउन सकिन्छ?', उनले भने, 'हामीले प्रथामिकता तय गरेका छौँ। यसको प्रभावकारी कार्यान्वयनबाट लक्ष्य प्राप्तिका लागि काम गरौँ।'