अर्बां लगानीका योजना अलपत्र पर्दा खेत बाँझै
कपिलवस्तु : कपिलवस्तुको वाणगंगा सिँचाइ प्रणालीसहित मुलुकका चार ठूला सिँचाइ प्रणाली सुरु गर्नुको लक्ष्य बाह्रै महिना सिँचाइ सुविधा पु¥याउनु थियो। चार दशकअघि बनेका यी योजनाबाट अहिले सिँचाइ हुने अवस्था छैन। करिब ५० हजार हेक्टर जमिनमा बाहै्र महिना सिँचाइ पु¥याउने लक्ष्यसहित करोडौं लागतमा योजना बनेका थिए।
दुई दशकअघिसम्म नमुना मानिने यी योजना अहिले जीर्ण बनेका छन्। जसकारण खाद्यान्न उत्पादनमा भारी ह्रास आएको छ। संकटमा परेको एउटा योजनामध्ये हो, वाणगंगा सिँचाइ प्रणाली। करोडौंको आयोजनामा बनेको कपिलवस्तुको यो सिँचाइ आयोजनाको उपलब्धि भने जम्मा एक प्रतिशत मात्रै छ।
जलस्रोत रणनीति तथा राष्ट्रिय जल योजनाले सिञ्चित क्षेत्रको दुईतिहाइ भागमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यसहित वाणगंगालगायत सिँचाइ प्रणाली सुरु भएका हुन्। तर, समयमै मर्मतसम्भार नहुँदा राष्ट्रिय महŒवका यी योजना अलपत्र परेका छन्। यो योजनाको लक्ष्य चैतदेखि जेठसम्म चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्नु थियो। तर, यसले जम्मा एक सय हेक्टरमा मात्रै सिँचाइ गर्दै आएको छ।
सिँचाइ प्रणालीको पूर्वाधार निर्माणमा भएका त्रुटि र मर्मतमा गरिएका लापरवाहीका कारण योजना विफल भएको हो। सिँचाइ नपुग्दा कपिलवस्तुमा एक बालीमात्रै हुँदै आएको छ। वाणगंगा सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयका प्रमुख ताराप्रसाद भट्टले जलाशय पुरिँदा र लामो समय मर्मत नहुँदा वाणगंगा जीर्ण बन्दै गएको बताउँछन्। ‘महŒवपूर्ण आयोजनाको पूर्वाधार संरक्षणमा बजेट नै राखिएन, जलाशय पुरिँदै गयो। नहर जीर्ण हुँदा लक्ष्य पूरा हुन सकेको छैन’, उनले भने।
जलस्रोत रणनीति तथा राष्ट्रिय जल योजनामातहत बनेका सबै आयोजनाबाट लक्ष्यप्राप्त भएको छैन। यी योजनामा करोडौं रकम खर्च भएको छ। यद्यपि कुनै कार्यालयले लेखाजोखासमेत गरेका छैनन्।
वाणगंगा सिँचाइ आयोजना सुरु भएको ४७ वर्ष भयो। यही आयोजनालाई दुई वर्षअघि थप व्यवस्थित गर्दै कपिलवस्तुको ६ हजार पाँच सय हेक्टर जमिनलाई सिँचाइ गर्ने योजना छ। पछिल्लो समय वाणगंगासहितका योजनामा नयाँ गुरुयोजना निर्माण गरेर काम थालिएको छ। नयाँ योजनामा सवा अर्ब खर्च गरिए पनि वाणगंगाबाट महिनाभन्दा बढी सिँचाइ हुन नसक्ने इन्जिनियरहरू बताउँछन्।
सिँचाइ प्रणालीको पूर्वाधार निर्माणमा भएका त्रुटि र मर्मतमा गरिएका लापरवाहीका कारण योजना विफल भएको हो।
वाणगंगा सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयका प्रमुख भट्टले समयमा बजेट आउन नसक्दा क्षमताअनुसार काम गर्न नसकेको बताए। ‘समयमै बजेट नआउँदा लक्ष्यअनुसार काम हुन सकेन, उनले भने, ‘आयोजना पूरा हुँदा सरकारको सिँचाइ योजनाले पूर्णता पाउँछ।’ वाणगंगाले हाल एक सिजन पनि लक्ष्यअनुसार सिँचाइ पु¥याउन सकेको छैन। हाल एक सिजनामा करिब तीन हजार पाँच सय हेक्टरमा मात्रै सिँचाइ पुगेको छ। सिँचाइ नहुँदा कपिलवस्तुका अधिकांश खेत बाँझै छन्। धानबाहेक अन्य खेती उत्पादन भएको छैन।
सिँचाइ पु¥याउने लक्ष्यसहित बनेका सिँचाइ प्रणालीले लक्ष्य प्राप्त नगरेको महालेखाको नयाँ प्रतिवेदनमा उल्लेख छ। वाणगंगा सिँचाइ आयोजनालगायतलाई सुझाव दिँदै महालेखाले भनेको छ—आयोजनाको सिँचाइको अवस्थाले जलस्रोत रणनीति तथा राष्ट्रिय जल योजनाले सिञ्चित क्षेत्रको दुईतिहाइ भागमा वर्षैभरि सिँचाइ उपलब्ध गराउने भनी राखेको लक्ष्य हासिल भएको देखिएन।
महालेखाले वाणगंगासहित नारायणी, महाकाली, मोहना सिँचाइ प्रणालीले समेत लक्ष्य प्राप्त नगरेको देखाएको हो। बारा, पर्सामा रहेको नारायणीबाट २८ हजार सात सय हेक्टर सिँचाइ हुनुुपर्ने थियो। तर, अहिले जम्मा पाँच सय हेक्टरमा मात्रै सिँचाइ भएको छ।
कञ्चनपुरको महाकाली सिँचाइ प्रणालीबाट ११ हजार ६ सय हेक्टरमा सिँचाइ गर्ने लक्ष्यमा जम्मा दुई सय हेक्टरमा सिँचाइ पुगेको छ। कैलालीको मोहना सिँचाइ प्रणालीबाट ५० हेक्टरमा मात्रै सिँचाइ पुगेको छ। जसको लक्ष्य दुई हजार हेक्टर हो। जलस्रोत रणनीति तथा राष्ट्रिय जल योजनाअन्तर्गत नै बनेका कमला सिँचाइ प्रणालीका पाँच आयोजनाबाट चैतदेखि जेठसम्म सिँचाइ नै हुने गरेको छैन।
सिँचाइ आयोजना विफल हुनुमा सरकारी अधिकारी नै मुख्य दोषी छन्। वाणगंगा नगरपालिका वडा नं ५ का अध्यक्ष भीष्मराज भुसाल भन्छन, ‘नहर मर्मतका लागि वर्षाैंदेखि बजेट खर्च भयो, तर काम गरिएन। अहिले धान खेती गर्ने बेला पनि किसानले पुर्पुरोमा हात राखेर बस्नुपरेको छ’, उनले भने, ‘किसानले नहरमा पानी आउने आसमा सम्पत्ति पनि दिए तर पानी कहिल्यै पाएनन्। न अहिलेसम्म मुआब्जा नै पाएका छन्, न त खेतमा पानी नै बगेको छ’, भुसालले भने।
वाणगंगा सिँचाइ प्रणाली यसअघि सिँचाइ विकास डिभिजन कार्यालय कपिलवस्तुमाहतहत थियो। नयाँ परियोजना थपिएपछि वाणगंगा सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय स्थापना गरेर सञ्चालनमा छ। नहर व्यवस्थित गर्न डीपीआर बनाएर एक अर्ब १६ करोड ७५ लाख बजेट खर्चिएको छ।
यो बजेट खर्चिंदा पनि चैतदेखि जेठसम्म सिँचाइ सुविधा नहुने भट्ट बताउँछन्। ‘चैत जेठमा सिँचाइ पु¥याउन अब पनि कठिन छ तर दुई बाली किसानले लगाउन पाउने गरी सिँचाइ सविधा हुन्छ’, उनले भने।
अहिले दुई वटा मूल नहरका लागि २०÷२० करोड, शाखा तथा प्रशाखा नहर निकासासहित एउटा ४५ करोड, जगदीशपुर तालको फिल्ड सफाइ २५ करोड, गेट निर्माण मर्मत कार्यका लागि एक करोड २० लाख, जल उपभोक्ता समितिका लागि ९० लाख बजेट शीर्षक छुट्याइएको छ। सरकारले यो बजेट पाँच वर्षभित्र दिन सके जिल्लाबासीको ६५ सय ५० हेक्टर जमिन सिञ्चित हुने कार्यालयको दाबी छ।
वाणगंगा सिँचाइ आयोजनाको पानी संकलनका लागि बनाइएको जगदीशपुर ताल सिमसार क्षेत्रमा सूचीकृत छ। केही गैरसरकारी संस्थाको लहलहै र दबाबमा जगदीशपुरमा ‘चराखेती’ सुरु भएपछि धान र गहुँको उत्पादन घट्दै गएको किसानहरू बताउँछन्। अहिले तालको पानीको विषयमा समेत विवाद देखिएको छ।
सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद विष्णु पन्थीले चरा संरक्षण र सिँचाइका लागि पोखरी प्रयोग हुने बताए। ‘पानी जम्मा भएको थियो र चरा आए, चरा आउने क्रम चलिरहन्छ, तर सिँचाइ प्रभावित गर्नु हुँदैन’, उनले भने, ‘कपिलवस्तुको सिँचाइ मेरुदण्ड नै वाणगंगा भएकाले यसलाई ‘फुलफेज’मा चलाउनैपर्छ।’
कपिलवस्तु पर्याप्त बाली उत्पादन हुने क्षेत्र भए पनि खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नुको कारण सिँचाइ रहेको सरोकारवालाहरू बताउँछन्। वाणगंगा सिँचाइबाट पानी आउन छाडेपछि कपिलवस्तु नगर, वाणगंगा, यशोधरा गाउँपालिकाको कृषिभूमि बाँझो बन्दै गएको छ।
वाणगंगा मुलुककै ठूलो सिँचाइ आयोजना हो। ०२८ सालमा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्मित आयोजना ०४५ सालतिर मुलुककै नमुना मानिन्थ्यो। थप लगानी र मर्मत नगरिँदा यो संकटमा परेको हो।