पुनःनिर्माणमा महिला कामदार
ओखलढुंगा : गाउँमै सञ्चालन भएको सात दिने डकर्मी तालिम लिएपछि मोलुङ गाउँपालिका-३ की यसोदा फुयलले पाँचौ घर निर्माणका लागि डकर्मीको रुपमा काम सम्पन्न गरिन्।उनीसँगै गैराबारीकी २२ वर्षीया दुर्गा फुयल पनि डकर्मी बनेर पुनःनिर्माणको काममा व्यस्त छन्।
भूकम्प पछिको पुनःनिर्माण अन्तर्गत गाउँघरमै बनिरहेका भूकम्प प्रतिरोधी घर बनाउने काममा उनीहरु खटिरहेका छन्। यस अघि उनीहरु बेरोजगार मात्र थिएनन्, गाउँमा डकर्मीको तालिम लिनु अघि गाउँमा महिलालाई कतै कामदारका रुपमा बोलाउँदैनथे।
'अहिले चै महिलाले नि काम गर्ने रहेछन् भनेर सबैले पत्याए' यशोदाले भनिन्, 'महिलाले पनि डकर्मीको काम गर्न सक्दा रहेछन् भन्ने कुरा सबैले महशुस गरिरहेका छन्।'
दुर्गादेवी र यशोदा मात्रै होइनन्, पछिल्लो समय महिला डकर्मीको संख्या जिल्लामा दिनदिनै बढिरहेको छ। पुनःनिर्माणका लागि डकर्मी तालिम सञ्चालन गरी उत्पादन गरिएका २ हजारभन्दा बढी दक्ष जनशक्तिमा ५ सय महिलाले तालिम लिएका छन्।त्यसमध्ये १ सयको हाराहारीमा महिला त सक्रियरुपमा पुरुषसरह काम गरिरहेका छन्।
राष्ट्रिय पुनः निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाईका सामाजिक विकास विज्ञ सुनिता अधिकारीले महिला कामदारको सक्रियता बढिरहेको बताइन्।'पुनःनिर्माणमा टेवा पुग्ने त छँदैछ,' अधिकारीले भनिन्, 'वेरोजगारी समस्यालाई हल गर्न पनि सघाएको छ।'
सीपसँगै पुर्ननिर्माणमा खटिएका महिलाको काम देखेर पुरुष कामदार पनि दंग छन्।'हामीले सोचे भन्दा राम्रो काम महिला दिदी बहिनीले गरिरहनुभएको छ' मोलुङ गाउँपालिका ३ का पुरुष डकर्मी धनबहादुर तामाङले भने, 'कतिपय अप्ठ्यारो काममा हामीले पनि सहयोग गर्छौ।'
डकर्मी काम गरिरहेका महिलाले घरकै काममा अल्झिरहेका अन्य महिलालाई समेत प्रोत्साहित गर्ने गरेका छन्। कडा खालको श्रम पनि गर्नुपर्ने भएकाले महिलालाई कामदारको रुपमा बोलाउन भने कम प्राथामिता दिने गरेको पाइएको छ।
तालिम लिएका अधिकांश पुरुष काममा भेटिएका छन् तर, महिला भने १ सय हाराहारीमा मात्रै काममा सक्रिय रहेको बताइएको छ। ज्यालादर भने पुरुषसरह पाउने गरेको महिला कामदारको भनाइ छ । महिलालाई पुरुषले हेप्ने प्रवृतिले विश्वाश कम गर्ने गरेको मोलुंग गाउँपालिकाकी उपप्रमुख हेमकुमारी तामाङले बताइन्।'महिलालाई पुनः निर्माणको काममा अवसर छ तर धेरै चुनौति छन्, उनले भनिन्।
सुरक्षालगायतका चुनौतिका कारण पनि महिला खुल्लारुपमा काममा जान नसकेको महिला अधिकारकर्मी सुन्तला परियारको भनाइ छ। सुरुमा दैनिक ज्याला ५ सयदेखि काम सुरु गरेका महिलाले अहिले पुरुषसरह काम गर्न थालेपछि १ हजार लिने गरेका छन्।