सक्षम फाउण्डेसनको विद्यार्थीलाई शैक्षिक सामग्री
राजविराज : विद्यार्थी भर्ना अभियान सुरु भएपछि सक्षम फाउण्डेसन नेपालले सप्तरीमा शैक्षिक सामाग्री वितरण गरेको छ।
आर्थिक अभावका कारण विद्यालयभन्दा बाहिर रहेका विपन्न परिवारका विद्यार्थीको भर्नासँगै फाउण्डेसनले तिलाठी कोइलाडी गाउँपालिका ६ स्थित श्री राप्रावि मधेपुरामा शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरेको हो।
बाल शैक्षिक अभियानअन्तर्गत सप्तरीबाट सुरु गरिएको शैक्षिक सामाग्री वितरण कार्यक्रम मुलुकका ७७ जिल्लामा पुर्याउने फाउण्डेसनका अध्यक्ष एवं अभियन्ता डा. सिके सिंहले बताए।
प्रदेश नम्बर २ का भूमि व्यवस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र डा. सिंहद्वारा गमलामा पानी हालेर उद्घाटन गरिएको समारोहमा ८७ जना गरिब तथा दलित विद्यार्थीलाई पोशाक, झोला, आधा दर्जन कपी, पाँचवटा पेन, एक दर्जन पेन्सिल, २-२ वटा कटर र इरेजर तथा शैक्षिक क्यालेण्डर वितरण गरेको छ।
विपन्न परिवारका बालबालिकाको पठन पाठनमा सहयोग गर्दै नियमित विद्यालय जानका लागि प्रेरित गर्ने उद्देश्यले शैक्षिक सामाग्री तथा विद्यालय पोसाक वितरण गरिएको फाउण्डेसनले जनाएको छ।
डा. सिंहका अनुसार फाउण्डेसनका एक हजार एक सय सदस्यले एक सय रुपैयाँका दरले मासिक जम्मा गरेको रकम तथा विभिन्न समाजसेवीले दिएको चन्दाबाट संस्थाको जनहीतकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ।
२०७३ सालमा स्थापित फाउण्डेसनले विर्थीलाई विद्यालयसम्म पुर्याउने अभियानसँगै निशुल्क स्वास्थ्य शिविर, दैवीप्रकोप प्रभावितको उद्धार तथा बालविवाह र दाइजो उन्मूलन अभियान सञ्चालन गरिरहेको छ।