खेलाडीलाई स्मार्ट घडी लगाउन प्रतिबन्ध
दुबई : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले खेलका दौरान खेलाडीलाई स्मार्ट घडी लगाउन प्रतिबन्ध गरेको छ। आईसीसीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै स्मार्ट घडीलगायत मैदानमा कुनै पनि सञ्चार उपकरण खेलाडीले लैजान नपाउने जनाएको छ। आईसीसीले मैदानमा मात्र नभई ड्रेसिङ रुममा पनि सञ्चार उपकरण लैजान निषेध गरेको छ।
बिहीबार मात्र पाकिस्तानी खेलाडीलाई स्मार्ट घडी लगाउन बन्देज गरेको आईसीसीले शुक्रबार यस्तो कदम उठाएको हो। बिहीबारबाट लर्ड्समा सुरु भएको घरेलु टोली इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टमा पाकिस्तानी खेलाडीलाई स्मार्ट घडी लगाउन आईसीसीले बन्देज गरेको थियो। पहिलो टेस्टको पहिलो दिन केही पाकिस्तानी खेलाडी स्मार्ट घडी लगाएर मैदान प्रवेश गरेका थिए। त्यही क्रममा आईसीसीको भ्रष्टाचार प्रतिरोधी युनिटले असद सकिफ र बाबर आजमलाई घडी फुकाल्न निर्देशन दिएको थियो।
स्मार्ट घडीलगायत सञ्चार उपकरण लगाएर मैदान प्रवेश गर्दा म्याच फिक्सिङलगायतका गतिविधि हुन सक्ने भन्दै आईसीसीले यो कदम उठाएको हो। आईसीसीले खेलाडी र खेल अधिकारीका लागि निर्देशित पीएमओए निर्देशिकाअन्तर्गत मैदानमा स्मार्ट घडीलगायत सञ्चार उपकरण पहिरिन बन्देज गरेको जनाएको छ। यसअघि पनि हरेक खेल अगाडि खेलाडी र अफिसियल्सले मोबाइल फोनलगायतका सञ्चार उपकरण मैदान प्रवेश गर्नुअगावै बुझाउनुपर्ने प्रावधान छ।
‘फोन अथवा वाईफाई भएको कुनै प्रकारको स्मार्ट घडी र अन्य कुनै पनि इलोक्ट्रोनिक्स उपकरण मैदानमा लैजान पूर्णत: बन्देज गरिएको छ’ आईसीसीले विज्ञप्तिमा भनेको छ।
प्रतिक्रिया दिनुहोस !