सिधा खर्च बढेपछि कैदीबन्दी खुसी

सिधा खर्च बढेपछि कैदीबन्दी खुसी

राजविराज : संघीय सरकारको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा कारागारका कैदीबन्दीका लागि सिधा खर्च बढेपछि सप्तरीका कैदीबन्दी खुसी भएका छन्। सरकारले कारागारमा रहने कैदीबन्दीको सिधा दैनिक ६० रुपियाँ पुर्‍याएकाले उनिहरु खुशी भएका हुन्। सरकारबाट प्रदान गरिने नगद सिधा समयक्रम सँगै बढेकोमा सरकारलाई धन्यवाद दिदै बन्दीहरुले सिधा खर्चवापत पाउने चामलको गुणस्तर भने कमजोर रहेको गुनासो गरे।

प्रत्येक कैदी तथा बन्दीहरुले लामो सयमदेखि दैनिक ४५ रुपैयाँ र सात सय ग्राम चामल पाइरहेका थिए। आश्रित बालबालिकालाई समेत दुधका लागि दिने गरिएको १० रुपियाँबाट बढेर ३५ रुपियाँ पुर्‍याइएको छ। कैदीबन्दीहरुमा सकारात्मक चिन्तन विकास गरी तनाव व्यवस्थापन गर्न राजविराज कारागारमा सञ्चालित शिविर गएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहितको टोलीसमक्ष कैदीबन्दीहरुले प्रशस्त गुनासो गरेपनि सिधा खर्च बढेकोमा खुशी व्यक्त गरे।

बन्दीहरुले शौचालय, खानेपानी, सञ्चार सुविधाको समस्याबारे स्थानीय प्रशासनसँग गुनासो गरे। सिधावापत उपलब्ध गराइने खर्च भने अब पुग्ने भन्दै कैदी मुकेशजंग खडकाले बन्दीका लागि ल्याइने चामलको गुणस्तरमा ध्यान दिन आग्रह गरे।

घरपरिवारमा फोन गर्न दुई घण्टा प्रतिक्षा गरेपछि मात्र पालो आउने भन्दै उनले थप सञ्चार उपकरणको माग गरे। बन्दीहरुका तीनवटा अलग–अलग भवनमा चारवटा टेलिफोन रहेको छ। उनले आर्सेनिक भएको ट्युववेलको पानी पिउन बाध्य भएको गुनासो समेत गरे। कैदी हरेन्द्र देवले क्षमताभन्दा तीन गुणा कैदीबन्दी कोचिएर राखिएको भन्दै संख्याको अनुपातमा शौचालयको कमी रहेको बताए। कारागारको तीनवटा भवनमा नौ शौचालय र नौ वटा ट्युववेल रहेको छ।

यसैगरी बी ब्लकका कैदीबन्दीहरुले चौकिदार निक्लिन नपाउँदा आफ्ना समस्याहरु कारागार प्रशासनसमक्ष पुग्न नसकेको गुनासो गरे। उनिहरुले प्रहरी, सरकारी वकिल र अदालतमा तयार गरिने बकपत्रबारे अगावै जानकारी नदिनाले कानुन व्यवसायीसँग सल्लाह लिन नपाउने, वैतनिक वकिल नियमित नआउने र तयार भइसकेको बकपत्रमा हस्ताक्षर गर्नुपर्ने वाध्यता चाँडै अन्त्य हुनुपर्ने आग्रह गरे।

कारागारभित्र खेलकूद सामग्रीको पूर्णत अभाव रहेको, पुस्तकालयमा पुस्तकको अभाव रहेको र कुनै पनि सीपमुलक तालिम नभएको भन्दै नेमलाल पासमानले व्यवस्थापनका लागि माग गरे। लामो समयदेखि पुर्पक्षका लागि कारागारमा थुनामा बसेकाहरुको मुद्दा नटुङ्गिदा तथा पेसी र बयानमा ढिलाई भई समयमै फैसला नहुनाले बढी संख्यामा थुनुवालाई कारागारमा राख्नु परेको कारागार प्रशासनले जनाएको छ। बन्दीहरुले घरपायक वा नजिकको कारागारमा स्थानान्तरण हुनुपर्ने माग समेत गरेका छन्।

प्रजिअ पौडेलसहित एसपी मुकेशकुमार सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका उप अनुसन्धान अधिकृत देबराज लिम्बु, जेलर सत्यनारायण यादवसमक्ष कैदीबन्दीहरुले गुनासो राखेका हुन्। एक सय २५ क्षमता रहेको कारागारका दुई सय ६६ पुरुष कैदी बन्दीहरु र १६ जना महिला कैदीबन्दी रहेका छन्। कारागारको तीनमध्ये महिला कारागार भवन नयाँ भएपनि घुमफिर गर्ने ठाउँ छैन भने पुरुष बन्दीका दुई भवन पुरानो र जिर्ण छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.