दोलखालाई साढे २ अर्ब
चरिकोट : आगामी आर्थिक वर्षका लागि दोलखाका स्थानीय तहले २ अर्ब ४२ करोडभन्दा बढि बजेट पाउने भएका छन्।
सरकारले मंगबार प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेटमा दोलखाका ९ ओटा स्थानीय तहका लागि २ अर्ब ४२ करोड ९१ लाख बजेट विनियोजन गरेको हो। सरकारले सार्वजनिक गरेको आर्थिक बर्ष २०७५÷७६ को बजेटअनुसार दोलखामा २ नगरपालिका र ७ गाउँपालिका रहेकोमा नगरपालिकाका लागि ६४ करोड ८६ लाख र गाउँपालिकाका लागि १ अर्ब ७८ करोड ५ लाख बजेट विनियोजन गरिएको छ। नगरपालिकाका लागि वित्तिय समानीकरण तर्फ २७ करोड ५ लाख र सशर्त अनुदानतर्फ ३७ करोड ८१ लाख गरि ६४ करोड ८६ लाख बजेट विनियोजन गरिएको हो भने गाउँपालिकातर्फ ८१ करोड ६१ लाख वित्तिय समानीकरण र ९६ करोड ४४ लाख सशर्त अनुदान गरि १ अर्व ७८ करोड ५ लाख बजेट विनियोजन गरिएको हो।
नगरपालिकातर्फ भीमेश्वर नगरपालिकाका लागि ४१ करोड २ लाख बजेट विनियोजन गरिएको छ। जसमा १७ करोड ११ लाख वित्तिय समानीकरण तर्फको बजेट हो भने २३ करोड ९१ लाख रकम सशर्त अनुदान हो। यसैगरी, जिरी नगरपालिकाका लागि ९ करोड ९४ लाख वित्तिय समानीकरण र १३ करोड ९० लाख सशर्त अनुदान सहित कुल २३ करोड ८४ लाख बजेट आएको छ।
गाउँपालिकातर्फ कालिञ्चोक गाउँपालिकालाई सबैभन्दा बढि र गौरीशंकर गाउँपालिकालाई सबैभन्दा कम बजेट विनियोजन भएको छ। कालिञ्चोक गाउँपालिकाका लागि १३ करोड १८ लाख वित्तिय समानीकरण र १६ करोड ६६ लाख सशर्त अनुदान गरि कुल २९ करोड ८४ लाख बजेट विनियोजन गरिएको हो। यस्तै, मेलुङ गाउँपालिकाका लागि २७ करोड ४३ लाख रकम विनियोजन गरिएकोमा ११ करोड ९६ लाख वित्तिय समानीकरण अनुदान हो भने १५ करोड ४७ लाख सशर्त अनुदान हो। तामाकोशी गाउँपालिकामा ११ करोड ५४ लाख वित्तिय समानिकरण र १५ करोड ३७ लाख सशर्त अनुदान सहित कुल २६ करोड ९१ लाख बजेट विनियोजन गरिएको छ। वैत्यश्वर गाउँपालिकामा ११ करोड ८० लाख वित्तिय समानीकरण र १२ करोड ९९ लाख सशर्त अनुदान सहित २४ करोड ७९ लाख बजेट विनियोजन गरिएको छ भने विगु गाउँपालिकाका लागि ११ करोड २८ लाख वित्तिय समानीकरण र १२ करोड ४५ लाख सर्शत अनुदान गरि कुल २३ करोड ७३ लाख बजेट छुट्याईएको छ।
यसैगरी शैलुङ गाउँपालिकाले २२ करोड ९४ लाख बजेट पाएको छ। त्यसमध्ये ११ करोड ३१ लाख वित्तिय समानीकरण र ११ करोड ६३ लाख सशर्त अनुदान हो। सबैभन्दा कम बजेट विनियोजन भएको जिल्लाको गौरीशंकर गाउँपालिकाले भने १० करोड ५४ लाख वित्तिय समानिकरण र ११ करोड ८७ लाख सशर्त अनुदान गरि कुल २२ करोड ४१ लाख बजेट पाएको छ।
प्रतिक्रिया दिनुहोस !