प्रदेश ७ : मुख्यमन्त्री गरिब, अर्थमन्त्री धनी

प्रदेश ७ : मुख्यमन्त्री गरिब, अर्थमन्त्री धनी

धनगढी : शपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुनी प्रावधान रहे पनि सरकारको सय दिन पुगेपछि प्रेदश ७ का मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार सबभन्दा बढी गरिव मुख्यमन्त्री त्रिलोचन भट्ट देखिएका छन्।

उनको बैंक मौज्दात ७० हजारबाहेक आफ्नो नाममा कुनै अचल सम्पत्ति छैन। उनले डोटीको केआईसिंह गाउँपालिका–६ मा दाजु शालिग्राम भट्टको नाममा एक घर र १८ रोपनी जग्गा, भाउजू दुर्गादेवीको नाममा अढाई रोपनी जग्गा सम्पत्ति विवरणमा पेस गरेका छन्। मुख्यमन्त्रीसँग एक तोला सुन र १५ तोला चाँदी छ भने घरमा एक गाई, एक थान मोबाइल र हाते घडी छ। उनले वित्तीय ऋण एक लाख ४० हजार र बाहिरको ऋण दुई लाख रहेको सम्पत्ति विवरणमा पेस गरेका छन्।

यस्तै, प्रदेश ७ मा आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा सबैभन्दा धनी देखिएका छन्। उनीसँग ७ लाख २९ हजार ४२९ कित्ता सेयरको ७ करोड ५१ लाखको सम्पत्ति छ। उनले श्रीमती दुर्गा बोहराको नाममा कैलालीको धनगढी नगरपालिकामा साढे चार कठ्ठा जग्गा, उनकै नाममा लम्कीचुहा नगरपालिकामा ४ कठ्ठा १५ धुर जग्गा र टीकापुरमा दुई बिघा १६ कठ्ठा जग्गा, काठमाडौं–७ मा एक रोपनी तीन आना जग्गा, काठमाडौं–४ मा १६०९ वर्गमिटर जग्गा रहेको उल्लेख गरेका छन्।

मन्त्री बोहरा आफ्नै नाममा काठमाडौं–४ मा १५९८ वर्गमिटर जग्गा, कैलालीको गोदावरी–२ मा ४ रोपनी दुई आना जग्गा, टीकापुर–९ मा २ कठ्ठा जग्गा रहेको सम्पत्ति विवरण पेस गरेका छन्। उनले छोरा कृष्ण बोहराको नाममा गोदावरी नगरपालिकामा एक रोपनी जग्गा रहेको उल्लेख गरका छन्। बोहराको बैंकमा साढे ६ लाख रकम, तीन वटा जिप र कार, ४० तोला सुन पनि सम्पत्तिका रूपमा रहेको छ। तर, बोहराले १९ करोड ७५ लाख रकम बैंकिङ ऋण रहेको पनि सम्पत्ति विवरणमा खुलाएका छन्।

आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले पनि पत्नीको नाममा मात्रै सम्पत्ति रहेको विवरण पेस गरेका छन्। पत्नी लक्ष्मी भट्टको नाममा काठमाडौंको गोठेटारमा तीन आनामा बनेका घर, कैलालीको धनगढी उपमहानगरपालिका–४ मा साढे ६ कठ्ठा जग्गा र कञ्चनपुरको दैजीमा १६९३ वर्गमिटर जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। उनको खातामा ७३ हजार नगद रहेको, एउटा स्कुटर, ५२ तोला सुन, ५०५ तोला चाँदी, भैंसी १, बाख्रा १ सम्पत्तिको रूपमा रहेको उल्लेख गरेका छन्। शाहले ७ लाख २० हजार वित्तीय ऋण रहेको पनि विवरणमा उल्लेख गरेका छन्।

सामाजिक विकासमन्त्री दीर्घ सोडारीले पेस गरेको सम्पत्ति विवरणमा श्रीमती र आफन्तको नाममा मात्रै अचल सम्पत्ति देखाएका छन्। बुबा लोकबहादुर सोडारीको नाममा कैलालीको गौरीगंगा नगरपालिकामा १५ कठ्ठा जग्गा र घर, बुबाकै नाममा अछामको मंगलसेनमा ४ रोपनी जग्गा र घर, दाजु कल्यान सोडारीको नाममा कैलालीको गौरीगंगा नगरपालिकामा ५ कठ्ठा जग्गा, लम्की चुहा नगरपालिकामा ५ कठ्ठा जग्गा रहेको उल्लेख गरेका छन्। मन्त्री सोडारीले श्रीमती गीता सोडारीको नाममा धनगढी उपमहानगरपालिका १ मा १२ धुर जग्गा, उनकै नाममा एक कठ्ठा जग्गा र घर, बबिन मसाला उद्योगको नाममा एक कठ्ठा जग्गा र घर रहेको विवरण पेस गरेका छन्।

मन्त्री सोडारीको बैंक खातामा ५ लाख ६० हजार, मोटरसाइकल २ थान, ६ तोला सुन, २० तोला चाँदी, २० कित्ता सेयर, १० बाख्र्रा र २ गोरु सम्पत्तिका रूपमा छन्। उनले एक लाख वित्तीय ऋण रहेको पनि विवरणमा पेस गरेका छन्।

भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहराको तराईमा कुनै अचल सम्पत्ति छैन। उनले बुबा भवानसिंह बोहराको नाममा डडेलधुराको परशुराम नगरपालिकामा २ घर, साढे १० रोपनी जगगा, आफ्नो नाममा एक घर र साढे १९ रोपी जग्गा, बाजे गोपी बोहराको नाममा डेढ रोपनी जग्गा र पत्नी मैनादेवी बोहराको नाममा आधा रापनी जग्गा रहेको विवरण पेस गरेका छन्। दुई लाख ६४ हजार बैंक मौज्दात, चार तोला सुन, आधा किलो चाँदी, एक कित्ता सेयर, मोबाइल २, गाई एक, भैंसी १ बाख्रा ३ र गोरु दुई सम्पत्तिको रूपमा रहेको उल्लेख गरेका छन्। उनले एक लाख व्यक्तिगत ऋण रहेको उल्लेख गरेका छन्।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले बैतडीको दशरथ चन्द नगरपालिका–५ मा एक रोपनी जगगा, ५ लाख बैंक मौज्दात, मोटरसाइकल एक थान, १५ तोला सुन, १७५ कित्ता सेयर मौरीका घार ३५, अफसेट मेसिन १ र २५ लाख वित्तीय ऋण रहेको उल्लेख गरेकी छन्।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीको नाममा पनि अचल सम्पत्ति छैन। उनले कैलालीको भजनी नगरपालिका–४ मा श्रीमान् परशुराम चौधरीको नाममा रहेको एक बिघा ४ कठ्ठा जग्गाा र घर, ५० हजार बैंक मौज्दात, एक थान मोटरसाइकल, ७ तोला सुन र ३५ तोला चाँदी, १० कठ्ठामा केराखेती,, २ राँथा, एउटा पावर टिलर, एक ट्र्याक्टर र एक लाख बैकिङ ऋण रहेको विवरण पेस गरेकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.