प्रम ओलीको चीन भ्रमणपछि संयुक्त सैन्य अभ्यास

प्रम ओलीको चीन भ्रमणपछि संयुक्त सैन्य अभ्यास

काठमाडौं : नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करण प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि हुने भएको छ । गत वर्ष वैशाख ३ देखि १२ गतेसम्म महाराजगन्जस्थित विशेष वाहिनीमा दुई देशका विशेष सेनाले सैन्य अभ्यास गरेका थिए । संयुक्त अभ्यास प्रधानमन्त्री ओलीको असार ५ मा हुने चीन भ्रमणले पछि सरेको हो ।

संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण चीनमा हुने अनुमान गरिए पनि यसबारे दुवै पक्षले कुनै जानकारी दिएका छैनन् । सेनाले संयुक्त सैन्य अभ्यासको तयारी भइरहेको जानकारी मात्र दिएको छ । ‘सैन्य अभ्यासबारे दुवै देशका सैन्य अधिकारीबीच छलफल भइरहेको छ’, सैनिक प्रवक्ता गोकुल भण्डारीले भने, ‘सैन्य अभ्यास रोकिएको छैन । दुवै पक्ष आन्तरिक तयारीमा जुटेका छन् तर मिति तय भइसकेको छैन ।’

प्रधानमन्त्री ओली औपचारिक चीन भ्रमणमा असार पहिलो साता सिचुवान प्रान्त हुँदै बेइजिङ जाँदैछन् । उनको भ्रमणपछि नै दुई देशका सेनाको संयुक्त अभ्यास हुने रक्षा मन्त्रालय स्रोतले समेत जानकारी दिएको छ । दुई देशको संयुक्त सैन्य अभ्यासका लागि नेपालस्थित चिनियाँ दूतावासका अधिकारी, रक्षा मन्त्रालय र सेनाका वरिष्ठ अधिकारीबीच निकैपल्ट छलफल भइसकेको समेत स्रोतको दाबी छ । दुवै पक्षले सैन्य अभ्यासको मिति, स्थान र रूपरेखा (मोडालिटी) टुंगो लगाउने तयारी गरिरहेका छन् ।

आतंकवादबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौती दृष्टिगत गरी दुवै देशका विशेष सेनाले गत वर्ष पहिलो पटक संयुक्त सैन्य अभ्यास गरेका थिए । दोस्रो संस्करणका लागि नेपाली-चिनियाँ सेनाले प्रतिआतंकवाद युद्धकला र विपद् व्यवस्थापनमा केन्द्रित संयुक्त अभ्यासको तयारी गरिरहेको उच्च सैनिक स्रोतले जानकारी दिएको छ ।

सेनाले सैन्य कूटनीतिका माध्यमबाट मित्रराष्ट्रका सैनिक संगठनसँग द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । गत वर्ष भएको चिनियाँ-नेपाली सेनाको संयुक्त अभ्यासलाई भारत, अमेरिकालगायत कतिपय देशले असहज रूपमा लिए पनि सेनाले चीनसँगको सैनिक अभ्यास सामान्य र नियमित भएको जनाएको थियो । नेपाली-चिनियाँ सेनाको पहिलो संयुक्त सैन्य अभ्यासलाई ‘सगरमाथा फ्रेन्डसिप—२०१७’ नाम दिइएको थियो । गत वर्ष चिनियाँ जनमुक्ति सेनाका कर्नेल याङ सुमेङको नेतृत्वमा २२ सदस्यीय टोली संयुक्त सैन्य अभ्यासका लागि काठमाडौं आएको थियो ।

सेनाले पछिल्लो समय द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम र अभ्यासका माध्यमबाट सैन्य कूटनीति सुदृढ पार्दै आएको छ । सेनाले र अमेरिकी सेनासँग समेत संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । त्यस्तै नेपाली-भारतीय सैनिकको संयुक्त सैन्य अभ्यास ‘एक्सरसाइज सूर्यकिरण’को १२ औं संस्करण गत भदौ अन्तिम साता रूपन्देहीको सालझण्डीस्थित सेनाको ब्याटल स्कुलमा भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.