अनुगमनमा कृषि मन्त्री : कालिमाटीमा बिचौलिया हटाइँदै

अनुगमनमा कृषि मन्त्री : कालिमाटीमा बिचौलिया हटाइँदै

काठमाडौं : सरकारी स्वामित्वको सबैभन्दा ठूलो कालिमाटी तरकारी बजार बिचौलियाको नियन्त्रणबाट बाहिर ल्याउन तयारी थालिएकोे छ। तीनदेखि चार तहमा रहेका बिचौलियाका कारण तरकारी महँगो भएपछि सरकारले हस्तक्षेप गरेर भए पनि बिचौलिया नियन्त्रण गर्ने प्रयास थालेको हो।

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले सोमबार तरकारी बजारको अनुगमन गरेका छन्। अनुगमनपछि मन्त्री खनालले बिचौलियाका कारण तरकारीको मूल्य महँगो भएको बताए। राज्यमन्त्री रामकुमारी चौधरी र केही कर्मचारीसहित पुगेका मन्त्री खनालले तरकारी बजार, माछा बजार, किसान तथा व्यापारीसँग भाडा, मूल्य महँगिने कारण र स्टलका बारेमा जानकारी लिएका थिए।

‘तरकारीमा बिचौलियाको सिन्डिकेट र वर्षौदेखिको राज राज्यले अब सहन गर्दैन। बिचौलियाका कारण किसानले लागत मूल्य नपाएको र उपभोक्ताले निकै महँगो मूल्य तिर्नुपरेको भेटेका छौं। यस्ता अवाञ्छित क्रियाकलाप गर्नेलाई राज्यले दायरामा ल्याएर छाड्छ’, अनुगमनका क्रममा कृषि मन्त्री खनालले भने,‘सरकारी स्वामित्वकै कालिमाटी बजारमा उपभोक्ता र किसानको हक अधिकारका नाममा लुट भइरहेको पायौं। यसलाई गहन रूपमा छानबिन गर्दैछौं।’

मन्त्रालयले पछिल्लो समयमा गरेको अध्ययनअनुसार तरकारी उत्पादन गर्ने किसान र उपभोक्ताले खरिद गर्ने तरकारीबीच ठूलो अन्तर भेटिएको थियो। सोही अन्तरलाई आधार बनाएर मन्त्रालयले कालिमाटी बजारमा अनुगमन गरेको हो। त्यस क्रममा एउटै व्यवसायीले १५ वर्षदेखि एउटा स्टलमा अड्डा जमाएर बसेको फेला परेको छ। मासिक आठदेखि १० हजार रुपैयाँ कालिमाटी बजारलाई उपलब्ध गराउने व्यवसायीले त्यही स्टल मासिक दुई लाख रुपैयाँसम्म भाडामा लगाएका छन्।

मन्त्री खनालले एउटै व्यक्तिले १५ वर्षसम्म स्टल राख्न पाउने नीति परिवर्तन गरी कार्यविधि परिमार्जन गर्ने बताए। उनले भने, ‘स्टल लिन चाहनेका किसानका लागि गोला प्रथा प्रणालीबाट उपलब्ध गराइनेछ। वर्षौदेखि बस्दै आएका व्यवसायीलाई हटाउनुभन्दा नयाँ कार्यविधि ल्याएर किसान र उपभोक्तालाई मार नपर्ने गरी व्यवस्थित गर्न लागेको छौं।’

‘नयाँ कार्यविधिले तोकेको मापदण्ड पूरा नगर्ने व्यवसायीलाई कालिमाटी बजारभित्र प्रवेश र स्टल प्राप्त गर्ने अधिकारमा अब प्रतिबन्ध लगाउँदैछौं। बाधा गर्नेलाई छाडिन्न्’, मन्त्री खनालले भने,‘सस्तो लोकप्रियता र तमाशा देखाउन छापा मारेको होइन। दर्जनौं पटक आएको गुनासोका आधारमा छापा मारेका छौं। अवस्था निकै दयनिय र चुनौतीपूर्ण भेटियो। अब यो बजारलाई सुधार गरेरै छाड्छु।’

माछा बजारका कारण कालिमाटी बजार अव्यवस्थित र दूर्गन्धित बनेको भन्दै मन्त्री खनालले कालिमाटीबाट माछा बजार हटाएर बालाजु वा वैकल्पिक स्थान खोजेर व्यवस्थापन गर्ने बताए। कालिमाटी बजारले काठमाडौंबासीको कुल मागमध्ये ६० प्रतिशत तरकारीको आपूर्ति गर्दै आएको छ।

काठमाडौंबाहेक विभिन्न नाकामा अत्याधुनिक सुविधासहित १० वटा तरकारी बजार निर्माण गर्ने सरकारको तयारी छ। विषादीयुक्त तरकारीका विषयमा पनि मन्त्रालयको ध्यान गम्भीर रूपमा आकर्षित भएको मन्त्री खनाले बताए। तरकारी उत्पादन गर्ने र बिक्री गर्नेलाई नै कुन विषादी प्रयोग गर्दा हानि हुन्छ भन्ने विषयमा जानकारी नहुँदा उपभोक्ताको ज्यान जोखिममा परेको खनालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.