मर्यादा नाघ्दै सांसद
विराटनगर : पूर्व बजेट छलफलमा कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीले यसका सिद्धान्त र प्राथमिकताबारे सदनमा आफ्ना धारणा सुनाए। सभामुखले बोल्ने समय पूरा भएको भन्दै सचेत गराएपछि सरावगीले मन्तव्य छोट्याए अनि रोस्ट्रमबाट बिदा हुँदै भने, ‘धेरै विषय अझै थिए तर समय सकियो, जय नेपाल।’
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फेले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत गरेको ३७ बुँदे बजेटका सिद्धान्त तथा प्राथमिकताका विषयमा आफ्ना राय पेस गरिन्। त्यसपछि उनी ‘जय लिम्बुवान’ भन्दै रोस्ट्रमबाट बिदा भइन्।
नेकपाका सचेतक बुद्धिकुमार राजभण्डारीले कांग्रेस सांसदले रोस्ट्रम घेराउ गरेका विषयमा टिप्पणी गर्दै बजेटका सिद्धान्त र प्राथमिकताबारे पनि बोले। उनी रोस्ट्रमबाट बिदा हुँदा भने ‘धन्यवाद अभिवादन’ भन्दै ओर्लिए।
प्रदेशसभाको दोस्रो अर्थात् बर्खे अधिवेशन जारी छ। यो सत्रमा पूर्व बजेटमाथिको छलफल सम्पन्न भइसकेको छ। प्रदेशसभा बैठकले प्रदेशसभा सञ्चालन नियमावली पारित गरेको थियो। सदनमा सांसद भने त्यसको मर्मलाई भुलेर आफ्नै शैलीमा प्रस्तुत हुने गरेका छन्। सदनमा प्रस्तुत हुने अधिकांश सांसदले पार्टीलाई चिनाउने ‘जय नेपाल’, ‘लाल सलाम’, ‘जय लिम्बुवान’ र ‘अभिवादन’जस्ता शब्दावली प्रयोग गर्ने गरेका छन्। सदनमा ‘सभामुख महोदय’ भन्दै प्रस्तुत हुनुपर्ने नियम छ। तर, धेरैले ‘सभामुखज्यू’जस्ता शब्दावली प्रयोग गर्दै सदनको कारबाहीमा सहभागी सांसद र समाचार संकलनमा खटिने पत्रकारलाई पनि सम्बोधन गर्न भ्याउँछन्।
अधिकांश सांसदले सदनमा ‘जय नेपाल’, ‘लाल सलाम’, ‘जय लिम्बुवान’ र ‘अभिवादन’जस्ता शब्दावली प्रयोग गर्ने गरेका छन्।
सभामुखले उपलब्ध गराएको सयम कटिसक्दा गरिने रुलिङको बेवास्ता गर्दै सांसदले मन्तव्य लम्ब्याउने गरेका छन्। बजेट अधिवेशनमा यो क्रम दुई दिनका बैठकमा लगातार चल्यो। सांसद बोलिरहँदा सभामुखले विषयान्तर भएको र समय सकिएको भन्दै रुलिङ गर्दा पनि बेवास्ता गरिएको थियो। यस्ता विषयमा सम्बन्धित दलका सचेतकले सांसदलाई जानकारी नगराउँदा समस्या हुने गरेको जनाइएको छ। कांग्रेसका सचेतक केदार कार्की भन्छन्, ‘सदनमा कुरा राख्ने र प्रस्तुत हुने विषयमा अभ्यस्त बन्न समय लागेकाले नै यस्तो समस्या देखिएको हो तर धेरै सुधार हुने क्रममा छ।’