श्रीमतीका हत्यारा दुईजनालाई सर्वस्वसहित जन्मकैद
राजविराज : पारिवारिक कलहका कारण पत्नीको घाँटी रेटी हत्या गर्ने एक जनालाई सर्वस्वसहित जन्मकैद र अर्का एक जनालाई जिल्ला अदालत सप्तरीले जन्मकैदको सजाय सुनाएको छ।
सप्तरीको बोदे बरसाइन नगरपालिका ३ गौराकी ४० वर्षीया ललीतादेवी यादवको हत्या आरोपमा उनका पति ४२ बर्से जयप्रकाश यादवलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको जिल्ला अदालतले जनाएको छ। उनी ०७४ मंसिर २५ देखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए।
जयप्रकाशले गत कात्तिक २८ गते बिहान बोदे बरसाइन ३ स्थित जोगेन्द्र गोडाहाङ्ग यादवको खेतमा धान काट्न गएकी ललिताको हातबाट हँसिया खोसेर घाँटी रेटेका थिए। हत्यालगत्तै भागेर घर पुगेका उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले सोही दिन पक्राउ गरेको थियो।
जयप्रकाशका बुवा नन्कु यादवले इलाका प्रहरी कार्यालय कल्याणपुरमा यसबारे उजुरी दिएका थिए। पत्नीको चरित्रमाथि शंका गर्दै यादवले कात्तिक ९ गते पनि खुकुरी प्रहार गरी घाइते बनाएका छिमेकीहरूले बताएका छन्।
यसैगरी शम्भुनाथ नगरपालिका ३ की ४० वर्षीया कुसुमदेवी चौधरी पाण्डेको हत्या आरोपमा उनका पति ४५ बर्से महेशलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। महेशले ओखलको फलामे मुस्लोले पत्नीको टाउकोमा प्रहार गरी हत्या गरेका थिए। उनी गत पुस १२ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए। निधारमा गहिरो चोट लागेकी कुसुमदेवीको उपचारका क्रममा कोसी अञ्चल अस्पताल विराटनगरमा मंसिर १० गते मृत्यु भएको थियो।
पाण्डेकी छोरी कविताले जिल्ला प्रहरी कार्यालयमा मंसिर १० गते बुवाविरुद्ध उजुरी दिएकी थिइन्। प्रहरीले मंसिर ११ गते पाण्डेलाई पक्राउ गरेको थियो। पत्नीले मुखमुखै लागी गालीगलौज गरेकाले रिस थाम्न नसकी नजिकै रहेको मुस्लोले टाउकोमा प्रहार गरेको पाण्डेले बताएका थिए।
प्रतिक्रिया दिनुहोस !