जहाज बिग्रेपछि नेपाल एयरलाइन्सको अन्तर्राष्टिय उडान प्रभावित, यात्रु एयरपोर्टमै
काठमाडौँ: नेपाल एयरलायन्सको बुधबारको नियमित अन्तर्राष्टिय उडान प्रभावित भएको छ । एउटा जहाजमा प्राविधिक समस्या आएपछि बुधबार दिनभरिको अन्तर्राष्टिय उडान प्रभावित भएको हो ।
तीनवटा जहाजले अन्तराष्टिय उडान भर्दै आएकोमा बुधबार एयरलायन्सको एउटा विमानमा समस्या आएपछि मर्म्मत गर्नुपरेका कारण दिनभर उडान प्रभावित भएको विमानस्थल कर्मचारीले बताएका छन् ।
'विमानमा प्राविधिक गडबडी रहेको बिहान मात्र थाहा भएका कारण सबै उडान प्रभावित भएको हो', एक कर्मचारीले भने ।
उडानमा प्राविधिक समस्या आएपछि बुधबार बिहान ८ बजेको काठमाडौं दिल्लीको नियमित उडान दिउँसो १ बजे मात्र उडेको थियो । २ बजेको काठमाडौं मुम्बर्इको उडान साँझ ६ बजेर ३० मिनेटमा सर्यो । त्यसैगरि काठमाडौं-दिल्लीको साँझ ५ बजेको उडान राति साढे ८ मा सरेको थियो । काठमाडौं-दोहाको राति दश बजेको उडान १२ बजेलार्इ सरेको कर्मचारीहरुले बताएका थिए ।
विमानमा प्राविधिक गडबडी भएपछि गन्तब्यका लागि उड्न हिँडेका यात्रुहरु तनावमा देखिन्थे । विमानस्थलको लाउन्जमा प्रतीक्षारत यात्रुहरुले उडान प्रभावित भएको पूर्वसुचना नपाएको गुनासो गरेका छन् ।
दिल्ली उड्नन प्रतीक्षारत एक व्यवसायीले नेपाल एयरलायन्सको दुइ पटकको आफ्नो उडान अनुभव सुनाउँदै भने, 'यस अघि पनि तीन घण्टा ढिलो उडान भएको थियो ।'
मुम्बइबाट काठमाडौं हुँदै पोखरा पुगेर फर्किएकी एक यात्रुले दिक्क मान्दै भनिन् , एयरपोर्टमा १ बजे आइपुगेका थियौं, उडान ६.३०मा सरेको जानकारी दिइयो । नराम्रो व्यवस्थापनले यस्तो भएको हो ।'
मुम्बर्इ जान लागेका अर्का यात्रुले उडान ढिलो भएका कारण टिकट नै रद्द गरे । यद्यपि विमानस्थल कर्मचारीहरुले भने बिहान उडानबाट यात्रा गर्ने यात्रुहरुलार्इ सूचना दिन नभ्याए पनि साँझका यात्रुलार्इ जानकारी गराएको दाबी गरेका थिए । तर विमानस्थल पुगेका मुम्बर्इ, दिल्ली उडानका अधिकांश यात्रुहरुले पूर्वसूचना नपाएको नै गुनासो गरे । असुविधामा परेका यात्रुहरुलार्इ एयरलायन्सले यात्रुहरुलार्इ लन्च र स्न्याक्स प्रदान गरेको थियो ।
(काठमाडौं-दिल्लीको साँझ ५ बजेको उडानमा यात्रा गर्ने क्रममा प्रतीक्षारत संवाददाताले विमानस्थलबाट गरिएको रिपोर्टिङ )
प्रतिक्रिया दिनुहोस !