जापानमा शक्तिशाली भूकम्प, कम्तिमा तीनजनाको मृत्यु
टोक्यो: पश्चिमी जापानको ओसाका प्रान्तमा सोमवार ६.१ म्याग्निच्यडको भूकम्प गएको छ। समाचार अनुसार यो भूकम्पका क्रममा कम्तिमा तीजनाको ज्यान गएको छ।
स्थानीय पत्रिका द जापान टाइम्सका अनुसार अहिलेसम्म तीनजनाको ज्यान गइसकेको छ। यो घटनामा कम्तिमा ५० जना घाइते भएका छन् । जापानको एनएचके टेलिभिजनका अनुसार मृतकमा नौ सालकी बालिका र दुई पुरुष छन् ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्र ओसाकाको उत्तरी भागमा रहेको थियो । यो भूकम्पको केन्द्र ओसाकाबाट ३४.८ डिग्री उत्तरी अक्षांश र १३५.६ डिग्री पूर्वी देशान्तरमा रेकर्ड गरिएको छ ।
जापान मौसम विभागका अनुसार भूकम्पको झट्का स्थानीय समयानुसार बिहान ७ बजेर ५८ मिनेटमा महसुस भएको हो । तर भूकम्पपछि सुनामीबारे कुनै किसिमको चेतावनी दिइएको छैन । यसलाई जापानमा पछिल्लो समय आएका शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ ।
भूकम्पपछि ओसाका, शिगा, क्योटो र नारामा हाईस्पिड बुलेट ट्रेन र स्थानीय रेल सेवा अवरुद्ध भएका थिए । प्रशासनका अनुसार भूकम्पबाट यो क्षेत्रमा रहेका कुनै परमाणु भट्टीलाई असर गरेको छैन । भूकम्पपछि ओसाकामा लगभग एक लाख ७० हजार घरमा बिजुली अवरुद्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस !