जुम्लामा गोली: प्रहरीले ढाकछोप गर्‍यो, डाक्टरले खोलिदिए पोल

जुम्लामा गोली: प्रहरीले ढाकछोप गर्‍यो, डाक्टरले खोलिदिए पोल

काठमाडौँ: जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अनशनरत प्रा डा गोविन्द केसीलाई निकाल्ने क्रममा गोली प्रहार गरिएको घटनाको नेपाल प्रहरीले ढाकछोप गरेको छ। 

प्रतिष्ठानभित्रको भिडलाई तितरबितर पार्ने क्रममा प्रहरीबाट हानिएको गोली लागेर प्रहरी जवान कमल आचार्य त्यहीँ ढलेका थिए । तर, नेपाल प्रहरीले भने बिहीबारै एउटा विज्ञप्ती निकालेर आचार्यलाई गोली नभइ शिशा र काँटी गाडिएको जिकिर गरेको छ। 

मुख्यमन्त्रीले पनि ढाँटे

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि प्रतिष्ठान हातामा गोली नचलेको जिकिर गर्दै प्रहरी जवान आचार्यको छातीमा पाँच इन्चको काँटी गाडिएको भनेर सुर्खेतका पत्रकारलाई ढाँटे । 

अन्नपूर्ण पोस्ट्ले प्रतिष्ठानमा प्रहरीले हानेको गोली प्रहरीलाई नै लागेर गम्भीर घाइते भएको र एक्सरे रिपोर्टमा पनि गोली देखिएको समाचार प्रकाशित गरेको थियो । यस्तोमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शैलेन्द्र थापा क्षेत्रीले पनि विज्ञप्ती निकाल्दै घटना लुकाउन खोजे । 

उनले बिहीबार जारी गरेको विज्ञप्तीमा केही अनलाइन र न्यूज च्यानलमा प्रहरी जवानलाई गोली लागे भनेर समाचार प्रकाशित गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए । उनको विज्ञप्तीमा भनिएको थियो, 'प्रहरी जवानको गोली लागेर मृत्यु भएको भन्ने समाचारबारे ध्यानाकर्ष भएको छ । सो सम्बन्धमा नेपाल प्रहरीबाट गोली नचलाएको र हालसम्म पनि कोही हताहत नभएको जानकारी गराइन्छ ।'

आचार्य गम्भीर घाइते भएको अवस्थामा जुम्लाका डिएसपी तपनकुमार दाहाललाई उधृत गर्दै धेरै अनलाइन र टेलिभिजनमा उनको निधन भएको समाचार आयो । तर, आचार्यलाई काठमाडौँ ल्याएर उपचार भइरहेको छ, उनको अवस्था भने गम्भीर देखिएको छ। 

चिकित्सकले खोले पोल

नेपाल प्रहरीका प्रवक्ता क्षेत्री र कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले गोली चल्दै नचलेको दाबी गरिरहँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको एक्सरेमा दाहिने छातीभित्र गोली देखिएको थियो । मुख्यमन्त्री शाही र नेपाल प्रहरीको विज्ञप्तीलाई एक्सरे रिपोर्टले नै खण्डन गरिदिएको छ । आचार्यको छातीको एक्सरे रिपोर्टमा एउटा गोली उनको शरिरमै भेटिएको छ । 

वीर अस्पतालमा कार्यरत एकजना एक्सरे विशेषज्ञले आचार्यको दाहिने छाती छेड्दै पसेको गोली देब्रे छातीको माथिल्लो भागमा पुगेर अड्केको उल्लेख गरेका छन् । उनका अनुसार गोलीले छेडेपछि आचार्यको दाहिने छातीमा ठुलो मात्रामा रगत जमेर बसेको छ । 

'गोली दाहिने कोखाबाट छेडेर दाहिने फोक्सोलाइ चिर्दै देब्रे छातीको माथिल्लो भागमा अड्केको देखिन्छ', उनले भनेका छन्, 'दाहिने छातीमा ठूलो मात्रामा रगत जमेर फोक्सो खुम्चिएको छ र काम नगरेको पनि देखिन्छ। देब्रे छातीमा हावा पसेर देब्रे फोक्सोले पनि काम गरेको अवस्था छैन ।'

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको एक्सरे रिपोर्टमा आचार्यको छातीभित्र गोली प्रष्ट देख्न सकिन्छ । 

मुटु रोग विशेषज्ञ रामेश कोइरालाले आचार्यको एक्सरे रिपोर्टको विश्लेषण गर्दै छाती भित्र नै धारिलो बस्तु पसेको बताएका छन् । धारिलो बस्तु दाहिने छातीबाट छिरेर बायाँ छातीको माथिल्लो भागमा पुगेको उल्लेख गरेका छन्। 'दाहिने फोक्सो (प्लुरल क्याभिटी) पुरै तरल पदार्थले भरिएको छ (यहाँ रगत हुनुपर्दछ)। देब्रे फोक्सो बाहिर पनि हावा छिरेको देखिन्छ र यति ठूलो क्षति गर्ने त्यो वस्तु गोली नै होला, काँटी वा सिसाको गति त्यत्रो हुन्न।'

कोइरालाले सामान्यतया छातीबाट गोली छिरेर पनि आचार्य बाँच्न सफल भएको बताएका छन् । 'छातीको एकातिरबाट अर्कातिर गोली ह्याकुलामुनि रहेका मुटु, रगतका नली, स्वासनली वा खानानलीमा चोट नलगाई पुग्दैन', उनले भनेका छन्, 'यस्ता बिरामी या त भाग्य या त सर्जनको कमालले बाँच्छन्।' 

कहाँका हुन् आचार्य

त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइते प्रहरी जवान आचार्य रुपन्देहीको बुटवल घर भइ हाल परिवारसहित सुर्खेतमा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्सपेक्टर प्रकाश केसीका अनुसार अहिले उनको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार दिउँसोदेखि उनको अवस्था सुधारोन्मुख छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.