निर्मला हत्या प्रकरण : अपराधी खोज्‍न दलको दबाब

निर्मला हत्या प्रकरण : अपराधी खोज्‍न दलको दबाब

जिल्लाको वास्तविक अपराधी पत्ता लगाउन नसकेको भन्दै परिवार - आफन्तले थालेकाे अान्दोलनमा राजनीतिक दलहरुको संलग्नता बढ्न थालेको छ । नेपाल कम्युनिस्ट पार्टीले आइतबारदेखि कञ्चनपुरमा आन्दोलन चर्काउने भन्दै विज्ञप्ति जारी गरेको छ भने कैलालीमा मुख्यमन्त्रीलाई ज्ञापन बुझाउँदै कांग्रेसका प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरूले निर्मलाका हत्यारा पत्ता लगाई कारबाही माग गरेका छन्।

विप्लव नेतृत्वको नेपाल कम्युस्टि पार्टी कञ्चनपुरले आइतबार १२ बजे महेन्द्रनगरस्थित पुरानो जिल्ला प्रशासनको गेटमा भेला हुन आह्वान गरेको छ। विप्लव नेकपाका जिल्ला इन्चार्ज अग्नि र सचिव परिवर्तनले संयुक्त रूपमा विज्ञप्ति प्रकाशन गर्दै चार महिना बितिसक्दा पनि निर्मलाका हत्यारा कानुनी कठघरामा ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। ‘निर्मला घटनामा सरकारले देखाएको लाचारी, गैरजिम्मेवारीपना र अपराधीलाई संरक्षण गर्ने गतिविधिले सम्पूर्ण नेपालीलाई लज्जित तुल्याएको छ’, संयुक्त विज्ञप्तिमा उल्लेख छ। नेकपाले देशभरि आइतबारदेखि दबाबमूलक जनप्रदर्शन गर्ने पनि विज्ञप्तिमा उल्लेख छ।

यता, कैलालीमा कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलासहित कांग्रेसका दुई जना प्रदेश सदस्यले कञ्चनपुरमा हत्यापछि बलात्कार गरिएकी निर्मलाका हत्यारा पत्ता लगाई कारबाहीको माग गरेका छन्। शनिबार बिहान धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा रहेको मुख्यमन्त्री त्रिलोचन भट्टको आवासमै पुगेर उनीहरूले निर्मलाका हत्यारालाई पक्रेर कारबाही माग गरेका हुन्।

कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य डाक्टर डिला संग्रौला, प्रदेशसभा सदस्य दिव्यश्वरी शाह र नन्दा बमले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका हुन्। उनीहरूले प्रदेश सरकारको तर्फबाट पनि निर्मलाको हत्या प्रकरणमा ठोस कदम नचालिएको आरोप लगाए।

निर्मलाका लागि न्यायिक अभियान सञ्चालन गरेकी संग्रौलाले, धनगढीमै आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले कुर्सीको आडमा निर्मलाका हत्यारा लुकाएको आरोप लगाइन्। ‘सिंहदरबारमा बसेर बलात्कारी र हत्यारालाई संरक्षण गरिएको छ’, उनले भनिन्। ‘कुर्सीको आडमा बलात्कारी र हत्यारालाई संरक्षण गर्ने प्रधानमन्त्री र गृहमन्त्रीलाई कुर्सीमा बसिरहने अधिकार छैन।’ संग्रौलाले प्रधानमन्त्रीका फोटा, पोल र सडकका भित्तामा टाँसेर नयाँ युग नआउने बताइन्।

देउडा गाएर न्यायको याचना

बैतडीका महिलाले देउडामार्फत निर्मलाका हत्यारालाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरेका छन्। लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत पाटनमा महिलाले देउडामार्फत निर्मलालाई न्यायको माग गरेका हुन्। विभिन्न सहकारी र समूहमा आबद्ध महिलाले सामूहिक रूपमा देउडा गीतमार्फत निर्मलाको हत्यारालाई कारबाही माग गरेका हुन्।

लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत पाटनमा भएको प्रतियोगितात्मक देउडा कार्यक्रममा सहभागीले निर्मलालाई न्याय दिन सरकारलाई आग्रह गरेको सामाजिक कार्यकर्ता लोकेन्द्रप्रसाद पन्तले बताए। उनले भने, ‘देउडा कार्यक्रममा सहभागी महिलाले निर्मलाको हत्यारा पत्ता लगाउन सरकार उदासीन रहेको भन्दै गीतका शब्दबाट हत्यारा पत्ता लगाउन आग्रह गरे।’

नारामा लेखेर मात्रै महिलामाथि हुने हिंसा अन्त्य नहुने भन्दै महिलाले बनेका कानुन कार्यान्वयनका लागि देउडा गाउँदै आग्रह गरेका छन्। प्रतियोगितामा सहभागी महिलाले निर्मलाको न्यायका लागि सरकारले ध्यान दिन आग्रह गरेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए। महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि गाउँगाउँबाट महिला जाग्नुपर्ने सहस्त्रलिंग महिला समूहका अध्यक्ष डम्मरी भट्टले बताइन्। उनले भनिन्, ‘हामीले समाजमा विभिन्न खालका सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर महिलामाथि हुने हिंसा अन्त्यका लागि पहल गर्नुपर्छ।’

निर्मलाको हत्या भएको चार महिना बितिसके पनि सरकारले हत्यारा पत्ता नलगाएकाले आफूहरूले देउडा गीतमार्फत हत्यारा पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराएको उदयदेव महिला समूहकी अध्यक्ष सरस्वती जोशीले बताइन्। उनले भनिन्, ‘हामीले गीतमार्फत निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिएका छौं।’

डेउडा कार्यक्रममा पाटन नगरपालिकाभित्रका ६ वटा महिला समूह सहभागी थियो। उनीहरूले विभिन्न भाकामा देउडा गाउँदै निर्मलाका हत्यारालाई छिटो पत्ता लगाई कानुनी राज्यको उदाहरण दिनुपर्ने माग गरेका छन्। 

(शिवराज भट्ट, धनगढी / भगीरथ अवस्थी, बैतडी)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.