साइकलमा आँप बेच्ने बहानामा ब्राउन सुगरको कारोबार, एक भारतीय पक्राउ
वीरगन्ज : वीरगन्जको बजारमा साइकलमा आँप बेच्दै गरेका एक भारतीय नागरिक ठूलो परिमाणको लागू औषध ब्राउन सुगर (खैरो हेरोइन) सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको बेतिया थानाको गोपालपुर ग्राम पञ्चायतको वडा नम्बर–२ घोघा स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–८ मा डेरा भाडामा बस्दै आएका ३० वर्षीय गुड्डु आलम रहेका छन् ।
वीरगन्ज महानगरपालिका–९ स्थित सडकपेटीमा एक भारतीय नागरिकले साइकलमा आँप बेच्दै ब्राउन सुगरपनि बेचिरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यहि सूचनाको आधारमा मंगलबार साँझ वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक बिक्रम सुबेदीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।
सुबेदी नेतृत्वको टोलीले सडक पेटीमा आलमले आँप बेचिरहेको साइकल खानतलासी गर्दा साइकलको पछाडिको चक्का नजिक झुण्डयाइएको प्लाष्टिकको बोरामा कालो प्लाष्टिक भित्र सेतो प्लाष्टिकमा लुकाइ छिपाइ राखिएको अवस्थामा २७ ग्राम २९० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।
त्यसपछि प्रहरीले बरामद ब्राउन सुगरसहित आलमलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । आलमलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !