घुस प्रकरणमा मुछिएका अख्तियार आयुक्त पाठकको राजीनामा
काठमाडौं : घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनमा दिएका छन् । पाठकले राष्ट्रपति कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन् ।
शुक्रबार ११ बजे उनी राष्ट्रपति कार्यालयमा पुगेर उनले राजीनामा दिएको पुष्टि अख्तियार र राष्ट्रपतिको कार्यालयले गरेका छन् । पाठकले राजीनामा नदिएको अवस्थामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गरेको थियो ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा सांसद र नेताहरुसँग भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले पाठकमाथि महाअभियोग प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।
आरोप के थियो ?
अख्तियारका आयुक्त पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाइदिने बहानामा एक पक्षसँग ७८ लाख रुपैयाँ घुस लिएको विवरण मिडियाहरूमार्फत सार्वजनिक भएको थियो। उनले घुस लिएको भिडियो घुस दिने पक्षले अख्तियार र प्रधानमन्त्रीको कार्यालयमा उपलब्ध गराएका थिए ।
आयुक्त पाठकले ७८ लाख रुपैयाँ घुस लिएको भिडियो अख्तियार र सत्तारुढ दलका नेतासम्म पुगेपछि यो प्रकरण बाहिर आएको हो। अख्तियारका अधिकारी, सत्तारुढ दलका नेता र सांसदहरुले समेत करिब ९ घण्टाको भिडियो हेरेर पाठकले घुस नै लिएको निचोड निकालेका थिए।
पाठकले इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग २०७४ भदौमा उक्त घुस लिएको बताइएको छ। पाठकले घुस लिए पनि काम नगरिदिएको र पैसा पनि फिर्ता नगरेको भन्दै पैसा दिने पक्षले भिडियो मिडिया तथा अन्य निकायमा उपलब्ध गराएको समाचारहरूमा उल्लेख छ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले घुसकाण्डमा आयुक्त पाठकविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सांसद् र नेताहरुसँग बिहीबार बिहान भएको बैठकमा पाठकविरुद्ध महाअभियोग प्रक्रियता अघि बढाउन निर्देशन दिइसकेका थिए।
घुस कान्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी सुरु भएको छ। पाठकले राजीनामा नदिएमा उनीमाथि महाअभियोग लगाउने रणनीतिमा सरकारअघि बढेको हो।
प्रतिक्रिया दिनुहोस !