झापामा हुने कला साहित्य उत्सव २०७५ को घोषणा
काठमाडौं : कला साहित्य उत्सव २०७५ को चौंथो शृङ्खला यही फागुन १८, १९ र २० गते हुने भएको छ। झापाको काँकरभिट्टामा हुने कला साहित्य महोत्सवमा अघिल्ला उत्सवहरू जस्तै कला, साहित्य, संस्कृति, अर्थ–राजनीति, सञ्चार एवम् पर्यावरण जस्ता विषयमा विमर्श गरिने आयोजक ‘रिडर्स झापा’ ले जनाएको छ।
‘लेखक, चिन्तक, अध्येता एवम् विषय–विज्ञता हासिल गरेका मानिसहरूलाई विविध शीर्षकमा बहसका लागि सहभागी गराइने छ’, आयोजक रिडर्स झापाले जारी गरेको प्रेस नोटमा उल्लेख छ, ‘छोटो समयमा खँदिलो बहसका लागि सहभागि दर्शक/श्रोताबाट आएका प्रश्नमा समेत छलफल गरिने छ।‘
अघिल्ला उत्सवमा गरिएका प्यानल–छलफल र विद्वान् अध्येताले दिएका सम्भाषण देशभर विमर्शको विषय बनेका थिए।
साहित्यिक अध्ययन र साहित्यिक कर्म गरिरहेका तथा सार्वजनिक रुपमा बहसमा आएका विभिन्न विषयमा रुचि हुने सबैलाई कार्यक्रममा सहभागिताका लागि आयोजकले आह्वान गरेको छ।
झापा जिल्लाको काँकरभिट्टास्थित खानेपानी उपभोक्ता समितिको हलमा तीन–दिने उत्सव सञ्चालन हुने छ।
रिडर्स झापाले स्थानीय संघसंस्था, व्यापारिक प्रतिष्ठान एवम् व्यक्तिहरूबाट सहयोग उठाएर कला साहित्य उत्सव आयोजना गर्दै आएको छ। यो संस्थाले २०६९ देखि हरेक दुई वर्षमा कला साहित्य उत्सव गर्दै आएको छ।
उत्सवको चौंथो संस्करणमा कविता–कार्यशाला, चित्रकला प्रतियोगिता, आर्ट क्विज, बुक बस प्रदर्शनी तथा पठनको व्यवस्था गरिएको आयोजकले जनाएको छ। उत्सवमा देही आर्टसको संयोजनमा कला प्रदर्शनी, प्रत्यक्ष चित्रकला, आर्ट क्विज, फोटो प्रदर्शनी हुने छ भने परिवर्तन थिएटरले नाटक मञ्चन गर्ने छ ।
यी हुन् बहसका विषय
कला साहित्य उत्सव २०७५ का लागि हालसम्म १४ विषय तय भएका छन्। बिहान १० देखि बेलुका ५ बजेसम्म तीन दिन उत्सवमा बहस हुनेछ। साहित्यको दलन, अभिव्यक्ति र बहिष्करण, समकालीन आख्यानमा वर्ग चेतना, काव्यमा विद्रोह शीर्षक तय भएका छ्न।
यस्तै विश्व विद्यालयको पुनर्संरचना, समाज विज्ञान र मानविकीको सङ्कट, सांस्कृतिक राष्ट्रवाद, दक्षिण पन्थको सांस्कृतिक जग, सत्ता र लेखक, दलालीको दलदल, आर्थिक समृद्धिका सङ्कट, पर्यावरणको खबर, समाचार, झुटा समाचार, खरिद समाचार, नेपालका भूराजनीतिक पहेली जस्ता शीर्षकमा उत्सवमा बहस हुने कार्यक्रम संयोज हरि तिम्सिनाले जाकरी दिए।
आयोजक ‘रिडर्स झापा’ विगत एक दशकदेखि विभिन्न किसिमका सार्वजनिक विमर्शका कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्था हो।
प्रतिक्रिया दिनुहोस !