मित्र रवीन्द्रको आकस्मात बिदाई, कल्पना बाहिरको कुरा : विश्वप्रकाश शर्मा
काठमाडौं : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका युवा नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीलाई मिल्ने साथीको रुपमा सम्झना गरेका छन्।
बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित सातजनाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै शर्मले रवीन्द्रसँगका सहकार्यको सम्झना गरेका हुन्।
रवीन्द्र अधिकारी कुनैबेला अनेरास्ववियुको अध्यक्ष छँदा म नेपाल विद्यार्थी संघको सभापति थिएँ। दरबार हत्याकाण्ड लगत्तै नेपालको विद्यार्थी आन्दोलनलाई सानातिना विमतिबाट माथि उठाएर लोकतन्त्रका सवालमा सम्पूर्ण एकताको निर्माणमा अर्को अनेरास्ववियुका अध्यक्ष मित्र राजेन्द्र राई र मसंगै रवीन्द्रजीको सक्रिय भूमिका स्मरण गरिरहेको छु’, विश्वप्रकाशले भनेका छन्, ‘राजनैतिक रूपमा मेरा आदरणीय साथी रविन्द्र ब्यक्तिगत रूपमा एकै परिवारका सदस्यझैँ थिए। कल्पना सम्म गरेको थिइन यी मिलनसार मित्र रविन्द्रले यसरी अकस्मात विदाइ लिनेछन् भनेर। उहाँको निधनले मर्माहत छु, अत्यन्तै दुख लागेको छ।’
सँगै शर्माले अधिकारी र अन्य मृतकका परिवारप्रति समवेदना दिएका छन्। ‘ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मित्र रविन्द्र संगै जीवन गुमाएका सबैको आत्मा शान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु’, उनले थप भनेका छन्।
प्रतिक्रिया दिनुहोस !