ठोरीकी चेली लक्ष्मीलाई न्याय दे भन्दै वीरगन्जमा प्रदर्शन
वीरगन्ज : पर्साको सखुवा प्रसौनी गाउँपालिका –१ सिद्धपुरमा गत शुक्रबार बिहान मृत अवस्थामा भेटिएकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै छानबिनको माग गर्दै सोमबार वीरगन्जमा प्रदर्शन गरिएको छ।
पर्साकै ठोरी–३ रामनगरमा माइती भएकी दुई सन्तानकी आमा लक्ष्मी गत शुक्रबार बिहान आफ्नै घर छेउको गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। तर, उनको मृत्यु आत्महत्याका कारण नभई हत्या गरेर शव गोठमा झुण्ड्याइएको माइती पक्षको आरोप छ।
मृतक लक्ष्मीको शव नारायणी अस्पतालमा पोष्टमार्टम गरेपछि चार दिनदेखि अस्पतालकै शवगृहमा राखिएको छ। माइती पक्षले पोष्टमार्टम रिपोर्ट नआएसम्म शव बुझ्न नमानेका कारण लक्ष्मीको शव चार दिनदेखि शवगृहमै अलपत्र छ।
उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै मृतक लक्ष्मीका माइती गाउँका महिला, आफन्त र परिवारजनले सोमबार ठोरीबाट सदरमुकाम वीरगन्ज आएर प्रदर्शन गरेका हुन्। वीरगन्जको नयाँ बसपार्क चोकमा भेला भएका उनीहरूले त्यहाँबाट नाराबाजी गर्दै घण्टाघर पुगेर प्रदर्शन गरेका थिए। त्यसपछि त्यहाँबाट उनीहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र पनि बुझाएका छन्।
मृतक लक्ष्मीकी माइतीघर रहेको ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मीले प्रजिअ दाहाललाई ज्ञापनपत्र बुझाउँदै लक्ष्मीले आत्महत्या गरेको नभई उनका पति,सासु र ससुराले कुटपिट गरेर हत्या गरेपछि शव गोठमा लगेर झुण्ड्याएकोले त्यसमा संलग्नहरुलाई हदैसम्मको कारबाही हुनुपर्ने बताइन्। उक्त घटनामा मृतक लक्ष्मीका पति सुधिर सिलवाल, सासु, ससुराका साथै सुधिरका दिदी र भिनाजुपनि संलग्न रहेको आरोप माइतीपक्षको छ।
सोमबार प्रजिअ दाहाललाई बुझाइएको ज्ञापनपत्रमा अस्पतालले बनाएको पोष्टमार्टम रिपोर्ट गलत रहेकाले पुन पोष्टमार्टम गर्नुपर्ने,घटनाबारे छानबिन गर्न निष्पक्ष जाँचबुझ समिति गठन गर्नुपर्ने, मृतकको ब्याग र मोबाइल सार्वजनिक गर्नुपर्ने, घटनामा संलग्न सासु, ससुरा, पतिका दिदी भिनाजुलाई तत्काल प्रहरीले पक्राउ गर्नुपर्ने लगायतका माग उल्लेख छ।
प्रहरीले भने मृतक लक्ष्मीका पति सुधिरलाई घटना भएकै दिन नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। त्यसै दिन सासु र ससुरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको भए पनि वृद्ध अवस्थाका कारण मृतककै आफन्तहरूको सहमतिमा उनीहरू दुवै जनालाई तारिखमा छाडेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्ले बताए।
मल्लले पोष्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै मृत्युको यकिन कारण खुल्ने बताए। उनले मृतकका पति सुधिर प्रहरी हिरासतमै रहेको र घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताए।
मृतक लक्ष्मीका माइती पक्षका आफन्तका अनुसार लक्ष्मीका पति सुधिर नेपाली सेनाका अवकाशप्राप्त कर्मचारी हुन्। लागू पदार्थको सेवनकर्ता समेत रहेका सुधिर र उनका परिवारका सदस्यले लक्ष्मीलाई कुटपिट गर्दै आएका थिए।
गत शुक्रबार बिहान गोठमा लक्ष्मी मृत अवस्थामा भेटिएका दिन उनले लगाएका चुरा फुटेर छरिएको अवस्थामा भेटिएको, बिहीबार बेलुकी पति र पत्नीबीच झगडा भएको ,झगडा भएको कोठाको बरण्डा बाहिर रगतको टाटा देखिएको, पासो लगाएको भनिएको डोरी कतै नबांगिएको र शव गोठको भुइँमा सुताइएको अवस्थामा भेटिएको माइती पक्षको भनाइ छ। साथै मृतक लक्ष्मीका ४ वर्षीय छोराले पनि बाबाले ममीको पेटमा लात्तीले हानेको बताएको उनीहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !