वीरगन्जका चिकित्सक हड्तालमा उत्रिएपछि अस्पतालको सेवा ठप्प
वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा गत शनिबार भएको तोडफोड र चिकित्सकमाथिको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै हड्तालमा उत्रिएका चिकित्सक र स्वास्थ्यकर्मीले सोमबार पनि प्रदर्शन गरेका छन् ।
आइतबारदेखि अस्पतालको आकस्मिकसहित सबै उपचार सेवा ठप्प पारेर हड्तालमा उत्रिएका अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले घण्टाघर चोकमा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । दोषीलाई कारबाही र शान्ति सुरक्षाको माग गर्दै उनीहरूले स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा मागे गरेका छन्।
यसैबीच सोमबार अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.चित्तरन्जन साहले एक विज्ञप्ति जारी गर्दै अस्पतालको आकस्मिक कक्षमा गरिएको तोडफोड र डा.प्रमोद राममाथि भएको कुटपिटमा संलग्नलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय पर्सासँग माग गरेका छन्।
निमित्त मेसु साहले घटना भएको दिनको सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्न अराजक व्यक्तिहरूको पहिचान गरी कानुनअनुसार कारबाही गर्न माग गरेका हुन् । साथै उनले उक्त घटना पश्चात अस्पतालको चिकित्सक र स्वास्थ्यकर्मीहरू मानसिक र शारीरिक रुपमा भयभित भइ सेवा प्रवाह गर्न नमानेका कारण अस्पतालको आकस्मिकसहितका सबै उपचार सेवा अवरुद्ध भएको पनि जानकारी गराएका छन् ।
यसका साथै नेपाल चिकित्सक संघको आह्वानमा आइतबारदेखि वीरगन्जका अन्य निजी अस्पतालका चिकित्सकहरू पनि आन्दोलनमा उत्रिएका छन् । जसका कारण यहाँका प्राय सबै अस्पतालमा बिरामीको उपचार प्रभावित बनेको छ ।
सरकारी र सामुदायिक अस्पतालका चिकित्सकहरु हड्तालमा उत्रिएपछि उपचारका लागि अस्पतालमा पुगेका बिरामी र सेवाग्राहीहरू समस्यामा परेका छन् । शनिबार नारायणी अस्पतालमा भएको घटनामा संलग्न रहेकामध्ये एकजनालाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिइसकेको भएपछि ती व्यक्तिको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन ।
यता शनिबार आकस्मिक कक्षमा कार्यरत रहेकै बेला कुटिएका डा.रामलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
गत शनिबार बिहान सिकिस्त अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएका वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । पटेलको मृत्युपछि आक्रोशित उनका परिवारजन र गाँउलेले अस्पतालमा प्रदर्शन गर्दै आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै त्यहाँ कार्यरत डा.रामलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !