पर्सामा जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता
वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले जन्मका आधारमा नागरिकता लिएकाका अभिभावकका सन्तानलाई वंशजको नागरिकता दिन सुरु गरेको छ।
२०६३ सालमा जन्मका आधारमा नागरिकता लिएका वीरगन्जका दुई दम्पतिका तीन सन्तानले आइतबार वंशजको नागरिकता लिएका हुन्।
गृहमन्त्रालयले जन्मसिद्ध नागरिकता लिएका बुबा र आमा दुवैको नागरिकता भएकाका सन्तानलाई वंशजको नागरिकता उपलब्ध गराउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो।
जिल्ला प्रशासन कार्यालयले जन्मसिद्ध नागरिकता भएका सन्तानले नागरिकता नपाएको गुनासो आएपछि आइतबार पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव आफैं कार्यालयमा पुगेका थिए। उनकै पहलमा तीनजनाले वंशजको नागरिकता पाएका हुन्।
जिल्ला प्रशासन कार्यालय पर्साबाट आइतबार वीरगन्ज महानगरपालीका १३ का सुरेन्द्र साह सोनार र तारा देवी सोनारका जुम्ल्याहा सन्तान २० वर्षीया अन्नुकुमारी सरार्फ र २० वर्षीय विकाशकुमार सरार्फले वंशज नागरिकता लिएका हुन्।
यस्तै वीरगन्ज १३ कै महमद आलम र सबाना खातुनका छोरा १८ वर्षीय मोहमद शेख अरमान आलमले पनि आइतबार वंशज नागरिकता पाएका छन्।
तीनै जनालाई प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले नागरिकताको प्रमाणपत्र दिएका हुन्। जन्मका आधारमा नागरिकता भएका अभिभावकका सनतानले वंशजको आधारमा नागरिकता पाउनु पर्ने माग गर्दै सांसद यादवले सरकारलाई विपक्षी बनाएर सर्वोच्चमा रिट हालेका थिए।
सर्वोच्चले सांसद यादवको पक्षमा फैसला गरेपछि नागरिकता वितरण सुरु भएको हो।
प्रतिक्रिया दिनुहोस !