प्रहरीहरू भन्छन्– थाहा थियो तर सबैले ‘आलमलाई जोगाए’
गौर : निलम्बित सांसद मो. अफताब आलम जोडिएको बम विस्फोट र हत्याका घटना भएको तत्कालीन प्रहरी अधिकारीहरूले स्वीकार गरेका छन्। तर, जबाफदेहिताबाट उनीहरू पन्छिएका छन्। आलमलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरीसामु उनीहरूले ‘हो, घटना भएको थियो’, ‘थाहा थियो’, ‘कारबाही गर्नू भनेको थिएँ’ जस्ता उत्तर दिएका छन्।
त्यस बेलाका जिल्ला र इलाका इन्चार्जदेखि केन्द्रैसम्मका प्रहरी अधिकारीमाथि थाहा पाएर पनि कारबाहीको दायरामा नल्याएको प्रश्न उब्जिएको छ। प्रहरीसँगको उनीहरूको बयान यस्तो छ–
विस्फोट भएकै हो
ओमविक्रम राणा, तत्कालीन प्रहरी महानिरीक्षक
विस्फोट सम्बन्धमा अनुसन्धानमा रहेका अधिकृतले घटना विवरण जानकारी गराए। त्यतिखेर बम बिस्फोट भएको देखिन्छ। केही मानिस घाइते भएको र केही मृत्यु भएको भन्ने रिपोर्टिङ भएको थियो भन्ने लाग्छ। त्यस्तो रिपोर्टिङ भएपछि निष्पक्ष रूपमा अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएको थिएँ।
पछि जिल्ला प्रहरी कार्यालय रौतहटले पूर्वमन्त्री मो. अफताब आलमसमेतलाई मुद्दा चलाउने रायसहित सरकारी वकिलको कार्यालय, रौतहटमा मिसिल पेस गरेकोमा आलमसमेतका व्यक्ति हाजिर जमानीमा छुटेको भन्ने सुनें।
अनुसन्धान गर्न भनेको थिएँ
किरण गौतम, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक
२०६४ चैत २७ गते बेलुका र २८ गते बिहान रौतहटको राजपुरफरदवामा विस्फोट भई केही व्यक्ति हताहत भएको बुझिन आएको छ भनी तत्कालीन रौतहट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी लक्ष्मण न्यौपानेले मलाई जाहेर गरेका थिए।
त्यसपछि घटनास्थलमा तत्काल गई कानुनबमोजिम गर्नुपर्ने सम्पूर्ण कार्य गर्नुका साथै अनुसन्धानमा कुनै पनि कसर बाँकी नराखी सक्रियतासाथ गर्नू भनी निर्देशन दिएको थिएँ।
एसपीले रोक्नुभयो
इन्द्रप्रसाद सुवेदी, प्रहरी नायब उपरीक्षक
चैत २७ गते बेलुकी अन्दाजी साढे ६ बजे इलाका प्रहरी कार्यालय, राजपुरबाट चुनावमा सुरक्षार्थ ड्युटीमा निस्कने तयारी गर्दै गर्दा पश्चिम दिशाबाट विस्फोटको ठूलो आवाज आयो। त्यसतर्फ हेर्दा धुवाँको धालो मुस्लो देखें। त्यो स्थान इलाका प्रहरी कार्यालय, राजपुरबाट साढे एक किलोमिटर दूरीमा थियो।
मैले तत्कालै मोबाइल टोलीलाई लिई घटनास्थल जाँदै गर्दा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी लक्ष्मण न्यौपानेले बोलाउनुभयो। अर्को टोली पठाएँ भन्नुभयो।
मुद्दा नचलाई छाडियो
राजीव बस्नेत, प्रहरी नायब उपरीक्षक
मलाई अनुसन्धान अधिकृत तोकियो। मुद्दाका फरार प्रतिवादी सेखलाई २०६५ असार १ गते पक्राउ गरी अनुसन्धान गर्दा प्रतिवादी मो. अफताब आलम, सेख सेराज भन्ने शेष सेराज, मो. मोबिन आलमसमेतका प्रतिवादी संयुक्त निवेदनसहित कार्यालयमा हाजिर भए।
कार्यालय प्रमुखकै आदेशअनुसार सोही दिन बयान लिने सहित अनुसन्धान कार्य सम्पन्न गरियो।
अधिकारकर्मीलाई रोकियो
ईश्वरविक्रम शाह, प्रहरी नायब निरीक्षक
२०६४ वैशाख तेस्रो साता इलाका प्रहरी कार्यालय राजपुर प्रमुखमा खटिएर गएँ। २०६४ सालको संविधानसभाको मतदान २८ गते सकिएपछि मतपेटिका निर्वाचन कार्यालयमा बुझाएँ। २९ गते म कार्यरत रहेको इलाका प्रहरी कार्यालय, राजपुरमा फिर्ता भई गएको हुँ। सो घटनाको गाइँगुइँ सुनें। मिडियाबाट पनि थाहा पाएँ। घटनास्थलमा पुगेका मानवअधिकार, इन्सेकको टोली तथा पीडितलाई प्रतिवादीहरूले स्थानीयसँग भेट्न नदिएको थाहा भयो।
घरमा नयाँ भुस राखेकाले निकाली हेर्न खोज्दा अधिकारकर्मी दीपेन्द्र झा र पीडित पक्षलाई आक्रमणको प्रयास भएछ। घटनास्थल सेख इद्रिसको गोठघर पुग्दा करिब ५ सय पुरुष र महिलाले घेराउ गरेको अवस्थामा देखेपछि तिनलाई पक्रेर इलाका प्रहरी कार्यालय, रौतहट ल्याएको थिएँ।
बम विस्फोट र हत्या आरोपमा पक्राउ परेका निलम्बित सांसद आलमले बुधबार कर्तव्य ज्यान मुद्दाको बयान दिएका छन्। उनले मंगलबार ९ वटा र बुधबार २२ वटा प्रश्नको उत्तर दिएका छन्।
ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा बिहीबार उनीसँग बयान हुनेछ। बिहान साढे १० बजे अदालतमा उपस्थित गराइएका आलमसँग न्यायाधीश दीपक ढकालले बयान लिएका हुन्। अदालतबाट बयान दिएर निस्कँदै गर्दा उनले हाँस्दै आफू ठिक रहेको बताए। पुरानै प्रतिक्रिया हो, केही भन्नु छैन भन्दै उनले राजनीतिक पूर्वाग्रह रहेको बताए। कर्तव्य ज्यान मुद्दाको बयान सकिएको र अब दुईवटा मुद्दाको बयानपछि थुनछेक बहस सुरु हुने पीडित पक्षका कानुनव्यवसायी पुष्पराज पौडेलले जानकारी दिए।
२०६४ चैत २७ गते आलमका काका सेख इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकाहरूलाई इँटाभट्टामा जलाएको आरोपमा गत असोज २६ गते नेता आलम पक्राउ परेका थिए। सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ गते पछिल्लोपटक जिल्ला प्रहरी कार्यालयलाई मुद्दा अनुसन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपित भनिएका नेता आलम पक्राउ परेका हुन्। रौतहटको यमुनामाई गाउँपालिका–४ का त्रिलोकप्रताप सिंह मारिएको भन्दै बाबु श्रीनारायण सिंह र ओसी अख्तर मारिएको भन्दै आमा रोक्साना खातुनले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए।
सर्लाहीस्थित गडैता–२ का सफी अहमद र भारत सीतामणि जिल्ला बैरगनिया २ का ४२ वर्षीय गौरीशंकर रामले बम विस्फोटनमा घाइते भई उपचारपछि ठिक भएको भन्दै उजुरी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !