ओलीले गरे मन्त्रिपरिषद पुनर्गठन  : को-को परे, को-को हटाइए (सूचीसहित)

ओलीले गरे मन्त्रिपरिषद पुनर्गठन  : को-को परे, को-को हटाइए (सूचीसहित)

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन  गरेका छन्। ओलीले पुनर्गठनमा नयाँ अनुहार समावेश गरेका छन् भने केही पुरानैलाई निरन्तरता दिएका छन्। प्रधानमन्त्री ओलीले चित्तबुझ्दो काम नगर्ने केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन्। 

प्रधानमन्‍त्री ओलीको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेको जानकारी दिएको हो। राष्ट्रपति कार्यलयमा सिफारिस पठाइए पनि मन्त्रीले शपथ ग्रहण भने गरेका छैनन्। नयाँ मन्त्रीको शपथ कार्यक्रम बिहीबार बिहान राखिएको छ। 

नयाँ सूचीमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बाँस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा,  सहरी विकासमन्त्री  इस्तियाक राइ यादव र खानेपानीमन्त्री विना मगरलाई यथावत् राखिएको छ।

उपेन्द्र यादवको मन्त्रालय फेरियो

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवको मन्त्रालय फेरिएको छ। उनले समाल्दै आएको स्वास्थ्य मन्त्रालय नेकपाका भानुभक्त ढकाललाई दिइएको छ। उपेन्द्रलाई कानुन मन्‍त्रालयको जिम्मेवारी दिइएको छ।

तत्‍कालीन एमाले कोटाबाट सरकारमा सामेल मन्‍त्रीमा भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई हटाइएको छ। 

पूर्व माओवादीको कोटामा ओली सरकारमा सहभागी कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरी पदमुक्त भएका छन्। 

यी हुन् नयाँ मन्त्री 
ओली नेतृत्वको सरकारमा केही नयाँ र केही पुराना अनुहारले मन्त्री बन्ने अवसर पाएका छन्। हृदयेश त्रिपाठी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् भने घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकासमन्त्री बनेका छन्। 

लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिइएको छ भने  रामेश्वरराय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन्।  सँगै वसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् भने पार्वत गुरुङलाई महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिकमन्त्री बनाइएको छ। 

त्यसैगरी मोतीलाल दुगड, रामवीर मानन्धर र नवराज राउत राज्यमन्त्री बनेका छन्। दुगड उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका छन् भने रामवीरलाई सहरी विकास राज्यमन्त्री र रावतलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ। 

मन्त्री छान्ने सकस

मन्‍त्रिपरिषद् पुनर्गठनबारे निर्णायक छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालवाटारमा अपरान्ह बसेको थियो। त्यहाँ सहमति जुटेपछि प्रधानमन्‍त्रीले नामावली राष्ट्रपति कार्यलय पठाएका थिए।  

सचिवालय बैठकअघि दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' शितलनिवास पुगेर मन्‍त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति विद्या भण्डारीसँग परामर्श गरेका थिए। ओली र प्रचण्ड बुधबार बिहान बालुवाटारमा भेटवार्ता गरेपछि सिधै शितलनिवास पुगेका थिए। मन्‍त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति भण्डारीलाई पूर्व जानकारी लिन र सहमति जुटाउन दुवै अध्यक्ष त्यहाँ पुगेको स्रोतले बतायो।

एक वर्षदेखि मन्‍त्रिपरिषद् पुनर्गठन गर्ने भनेर चर्चा चलेपनि आन्तरिक भागबन्डा र विवादका कारण अहिलेसम्म पुनर्गठन हुन सकेको छैन। पुनर्गठनको चर्चा लामो भइरहँदा मन्‍त्रीहरु अन्योलमा छन् भने मन्‍त्रालयको कार्यसम्पादसमेत प्रभावित भएको छ।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन गरेका थिए। त्यसयता उनले २०७५ जेठमा तत्कालीन संघीय समाजवादी पार्टी (हाल समाजवादी) का नेताहरूलाई सरकारमा सहभागी गराएका थिए। नयाँ टीम बनाएर नयाँ ढंगले अघि बढ्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीको नीजि सचिवालय परिवर्तन गरिसकेका छन्।

यस्तो छ मन्त्रिपरिषद् सदस्यको नयाँ सूची 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.