एमसीसीबारे सरकार संसदमा किन बोल्दैन ?
काठमाडौं : राष्ट्रियसभा सदस्य रामनारायण विडारीले एमसीसीबारे सरोकारवाला निकाय मौन रहेको बताएका छन्। सोमबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले अहिले एमसीसीबारे सरकार मौन रहेको बताएका हुन्।
बैठकमा विडारीले भने ‘एमसीसी र इन्डो प्यासिफिकबारेमा घरघर, गल्लीगल्लीमा चर्चा चल्यो। यस्तो चर्चा चल्यो कि दुबै अमेरिकी योजना हो। इन्डो प्यासिफिक चैं सैन्य रणनीति हो, एमसीसी चैं विकास उन्मुख देशको लागि हो। यो दुबैको व्याख्या नेपालमा सन् २०१७ सालमा सम्झौता भयो।’
विडारीले सरकारभन्दा बेसरोकारवालाहरु कराइरहेको बताएका छन्। ‘यो दुइवटै कुरामा बेसरोकारवाला मान्छेहरु फ्याउफ्याउ कराइरहेको देखिन्छ। जसलाई सरोकार नै छैन्, जो सरोकारवाला छन् उनीहरु मौन छन्, बोल्दै बोल्दैनन्’ उनले भने ‘यसको व्याख्या के हो? सरकारले सदन चलेपछि दिन पर्यो कि परेन? एमसीसी र इन्डो प्यासिफिक एउटै हो कि होइन्? एमसीसीबारे अमेरिकी मन्त्रीले भने अरे, खनि हाम्रा मन्त्रीले होइन भने अरे। हो चैं के हो त?’
उनले सन् २०१७ देखि आएको हो भने फरक-फरक कुरा कसरी भयो भन्दै प्रश्न गरे ‘सत्य के हो, वास्तविकता के हो? जनता बुझ्न चाहन्छन्, थाहा पाउन चाहन्छन्। सदनप्रति जिम्मेवार मन्त्रीले ५ दिनभित्र हाम्रो नियमअनुसार जवाफ चाहियो। सदनले यसलाई पास गर्न पर्छ कि पर्दैन् यसबारे पनि जानकारी गराइयोस्।’
त्यस्तै उनले भारतले सार्वजनिक गरेको राजनीतिक नक्सा एकातर्फि रुपमा सार्वजनिक गरेकाले नेपालले पनि तत्काल नक्सा सार्वजनिक गर्नुपर्ने बताए। सीमा विवादबारेको छलफल कहाँ पुग्यो? त्यो पनि जानकारी गराउन आग्रह गरे।
प्रतिक्रिया दिनुहोस !