विश्‍वभर आज : दिल्‍लीमा आम आदमी विजयी, कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

विश्‍वभर आज : दिल्‍लीमा आम आदमी विजयी, कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

दिल्लीमा आम आदमी पार्टी विजयी


 

नयाँदिल्ली : भारतको दिल्लीमा भएको विधानसभा निर्वाचनमा अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप)ले स्पष्ट बहुमत ल्याएको छ । भाजपाले जम्मा ६ सिट जितेको छ भने आपले मंगलबार दिउसोसम्म ५२ स्थानमा जित हासिल गरेको छ । साथै जारी मतगणनामा २ स्थानमा अगाडि रहेको छ ।

भाजपा भने ५ स्थानमा अगाडि देखिएको छ । यससँगै आपले दिल्लीमा तेस्रो पटक सरकार बनाउँदैछ । दिल्ली विधानसभामा सरकार गठन गर्न जम्मा ३६ सिट पर्याप्त छ । ७० सदस्यीय विधानसभाका लागि गत शनिबार मतदान भएको थियो । दिल्लीको सन्दर्भमा अघिल्लो चुनावमा भन्दा आपको ५ सिट कम आएको हो भने भाजपाको ५ सिट बढी आएको हो ।

साथै थप ८ सिट पनि जित्‍ने सम्भावना बलियो छ । दिल्ली विधानसभामा कंग्रेस भने यसपटक पनि शुन्यमै समेटिएको छ ।

अफगानिस्तानमा आत्मघाती हमला, तीन सैनिकसहित पाँचको मृत्यु

काबुल : अफगानिस्तानको काबुलस्थित रक्षा मन्त्रालयलाई लक्षित गर्दै भएको आत्मघाती आक्रमणमा पाँचजनाको मृत्यु भएको छ । ‘तीनजना सैनिकसहित पाँचजनाको मृत्यु भएको छ । दुईजना आम नागरिक हुन्,’ मन्त्रालयका प्रवक्ता नसरत रहिमीले अन्तर्राष्ट्रिय मिडियालाई बताएका छन् ।

विस्फोटमा १२ जना घाइते छन् । जसमध्ये पाँचजना सर्वसाधारण हुन् । सैनिक प्रशिक्षालयको गेटमै हमला भएको थियो । ‘मर्सल फहिम मिलिटरी एकेडेमी’को गेट नजिकै हमला भएको बताइएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार त्यहाँ नजिकैका घर नै हल्लाउने गरी शक्तिशाली विस्फोट भएको थियो । विस्फोटपछि गोली प्रहारको आवाज सुनिएको स्थानीयबासीले जनाएका छन् । विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । अफगानिस्तानका ग्रामिण स्थानमा तालिबान समूह सक्रिय रहँदैआएको छ ।

रोहिंग्या शरणार्थी चढेको डुंगा पल्टिँदा १५ को मृत्यु


ढाका : बंगलादेशमा रोहिंग्या समुदायका शरणार्थी चढेको डुंगा पल्टिँदा १५ जनाको मृत्यु भएको छ । अरु दर्जनौं हताहत भएका छन् । काठको डुंगामा चढेर १ सय ३० रोहिंग्या शरणार्थीहरु बंगालको खाडी हुँदै मलेसिया तर्फ जाँदै थिए ।

तट रक्षक प्रवक्ता हमिदुल इस्लामका अनुसार ७० जना मानिसको उद्धार भएको छ । बंगलादेशमा १० लाखजति रोहिंग्या शरणार्थीहरु आश्रय लिएर बस्दैआएका छन् । रोहिंग्या शरणार्थीहरुका लागि मलेसिया सुरक्षित बासस्थान मानिन्छ ।

भारतमा हार्दिक पटेल पक्राउपछि पत्नीको गुनासो : पतिलाई वेपत्ता गरियो !


नयाँदिल्ली : भारतको गुजरातस्थित कांग्रेसका युवा नेता हार्दिक पटेललाई गत जनवरी १८ मा प्रहरीले गिरफ्तार गरेको थियो । देशद्रोहको मुद्दा लगाएर उनलाई प्रहरीले पक्राउ गरे पनि परिवारलाई यसबारे औपचारिक रुपमा जानकारी दिएको छैन ।

हार्दिककी पत्नीले आफ्ना पति वेपत्ता भएको प्रतिक्रिया दिएकी छन् । गत १८ जनवरीदेखि आफ्ना पतिको कुनै खोजखबर नभएको हार्दिककी पत्नीले बताएकी हुन् । हार्दिककी पत्नीका अनुसार पहिले प्रहरी बारम्बार घरमा आएर ‘हार्दिक कहाँ छन् ?’ भन्दै सोध्ने गर्थे ।

हार्दिक पत्नी किन्जलले कांग्रेस पार्टीद्वारा आयोजित कार्यक्रममा प्रहरीमाथि गम्भीर आरोप लगाएकी हुन् । किन्जलले भनिन्, ‘१८ जनवरीमा गिरफ्तार भएपछि उनको बारेमा केही जानकारी छैन । हामीलाई केही थाहा छैन उनी कहाँ छन् ।’

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो


बेइजिङ : चीनमा महामारीकै रुप लिएको कोरोना भाइरसबाट एक हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । सोमबार मात्रै एक सय ८ जनाको मृत्यु भयो । जुन सबैभन्दा धेरै एकै दिन मृत्यु भएको तथ्यांक हो ।

अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार १६ पुगेको छ । साथै ४२ हजार ६ सय ३८ जनामा संक्रमण देखिएको छ । चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमण विश्वका २७ देशमा फैलिसकेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प भारत भ्रमणमा आउँदै


नयाँदिल्ली : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प यही फेब्रअरीमा भारत भ्रमणमा आउने भएका छन् । भारतीय अधिकारीहरुले यसबारे जानकारी दिएका हुन् । हालै जारी गरिएको विज्ञप्ति अनुसार ट्रम्प यही फेब्रुअरी २४ गते दुई दिने भ्रमणका लागि भारत आउने कार्यक्रम छ ।

ट्रम्पसँगै उनी पत्नी मेलानिया पनि आउने बताइएको छ । भारतमा छँदा उनीहरुले गुजरातको अहमदाबाद भ्रमण गर्ने तालिका छ । ट्रम्पले यसअघि कश्मीरको विषयमा पाकिस्तानसँग मध्यस्तता गर्नुपर्ने भए आफू तयार रहेको प्रतिक्रिया दिँदैआएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने ट्रम्पसँगको भेटमा मध्यस्तता गर्न आग्रह गर्दैआएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.