आइसोलेसनमा रहेकी बालिकाको मृत्यु
बाजुरा : बाजुराको सदरमुकाम मार्तडीको आइसोलेसनमा रहेका एक बालिकाको मृत्यु भएको छ । बुढिगंगा नगरपालिका १ का दुई वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुरा प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिए।
मृतक बालिकाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको छ । रिपोर्ट भने आउन बाँकी रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । मृतक बालिकाको कोरोना रिपोर्ट आएपछि मात्र अन्त्येष्टिबारे निर्णय गरिने अस्पतालले जनाएको छ। बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको क्वारेन्टाइनमा रहेका बालिकाको स्वास्थ्यमा समस्या आएपछि जेठ १५ गते साँझ सदरमुकाम मार्तडीको आइसोलेसनमा राखिएको थियो ।
बच्चामा पखाला, ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएको थियो। आठ दिनअघि उनी आमा बुवासँग भारतबाट आएका थिए।उनीहरुलाई बुढिगंगा नगरपालिका १ को धुरालसैन माविको क्वारेन्टाइनमा राखिएका थियो ।
बालिकासँगै आइसोलेसनमा उनका आमा र बुवा समेत राखिएको छ। बालिका भारतबाट आउने क्रममा बाटोमा बिरामी परेको आफन्तले जनाएका छन् । सुरुमा धुरालशैन क्वारेन्टाइनमा उपचार गरिए पनि निको नभएपछि सदरमुकामको आइसोलेसनमा रिफर गरिएको एक स्वास्थ्यकर्मीले बताए।
स्वाब संकलन गरेर तीनै जनाको पीसीआर परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !