प्रधानमन्त्रीको ढिपी र गौशालाको गोबर ग्यास

प्रधानमन्त्रीको ढिपी र गौशालाको गोबर ग्यास

मुलुकको सबैभन्दा ठूलो गौशाला आज चरम आर्थिक अभावको संकटबाट गुज्रिरहेको छ


रूसको सफल आन्तरिक्ष कार्यक्रम अमेरिकाका लागि हाँक थियो। ठूलो चुनौतीको विषय बनेको थियो। अमेरिकीहरू तिलमिलाएका थिए। त्यसैले राष्ट्रपति जोनएफ केनेडीले एकैपटक चन्द्रमामा पुग्ने तिथिमितिसमेत घोषणा गरिहाले। यसले अमेरिकी वैज्ञानिकहरू ठूलो असमञ्जसमा परे। किनकि अहिलेका विश्वविख्यात अमेरिकी आन्तरिक्ष संस्था नासा (नेसनल एरोनोटिक्स एन्ड स्पेस एडमिन्सट्रेसन) को स्थापना भएको ६ वर्षभन्दा बढी भएको थिएन। तर आश्चर्यको विषय के रह्यो भने अमेरिकीहरूको अदम्य साहस र प्रचुर लगनशीलता तथा अहोरात्र मेहनतले नील आम्रष्टङ र बुज आल्ड्रिन चन्द्रमा पुग्ने विश्वको पहिलो व्यक्ति बने। हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली केनेडी होइनन्। नेपाल अमेरिका पनि होइन र यहाँ नासा त के त्यसको एउटा रौंको बराबर कुनै अनुसन्धान तथा अन्वेषण केन्द्र छैन। त्यस्तो अवस्थामा प्रधानमन्त्रीजस्तो हैसियत भएको व्यक्तिले जथाभावी बोल्दै हिँड्दै गयो भने उनको के दुर्दशा हुन्छ भन्ने कुरा यो सरकारको दयनीय अवस्था हेरेर अहिले सहजै अनुमान लगाउन सकिन्छ। झन् कोरोनाको कहरले त मुलुकका सबै क्षेत्र थिलथिलो भएको अवस्थामा हाम्रो प्रधानमन्त्री केनेडी नभए पनि मौकामा चौका हान्न भने धेरै सिपालु हुनुहुन्छ। दुई वर्षपहिले पूर्वाञ्चल भ्रमणमा रह“दा उनले विराटनगरस्थित गौशालाले पाइपलाइनबाट ग्यास वितरणको तयारी गरिरहेको अवस्था अवलोकनका लागि चाँजोपाँजो मिलाउन भने तर विनातयारी चौबीस घन्टाभित्र उद्घाटन नै गरिहाले।

तराई–मधेसमा वैकल्पिक ऊर्जाका सबैभन्दा सशक्त माध्यम गोबर ग्यास तथा सौर्य ऊर्जाको भरपूर उपयोग गर्न सक्यो भने प्रधानमन्त्री ओलीका शब्दमा समस्यालाई पनि सम्पत्तिका रूपमा उत्पादन गर्न सक्ने क्षमता नेपालीसँग रहेको जगजाहेर छ।

पहिलोपटक प्रधानमन्त्री भएका बेला पाइपलाइनबाट घरघर ग्यास पुर्‍याउने जुन डिङ उनले हाँकेका थिए, त्यो धोको त उनको पूरा भयो तर जनताका समस्या भने समाधान भएनन्। उदघाट्नलगतै ३२ घरमा पुगेको ग्यास दुई वर्षमा उक्लिनुभन्दा झन् घटेर ३० मा झरेको छ। तर प्रधानमन्त्रीले ग्यासको उदघाट्न गर्दै आश्वासनको जुन पोका बाँडेका थिए, त्यो भने दुई वर्षभन्दा बढी भइसक्दा पनि पूरा भएको छैन। प्रधानमन्त्रीकै शब्दमा ‘३२ वटा घरपरिवारलाई सिलिन्डरको डल्ला चाहिँदैन अब छोटो समयभित्र ६० घरले सिलिन्डरको डल्लाको बिदाइ गर्दैछन्। थोरैले भए पनि काँधमा सिलिन्डरको डल्ला बोकिराख्ने समस्याबाट उनमुक्ति पाएकोमा म साह्रै खुसी छु।’

के हुँदै थियो विराटनगरमा ?
नेपालको दोस्रो ठूलो सहर विराटनगर धेरै अर्थमा आफूलाई चिनाउन सफल भएको छ। राजनीतिक तथा औद्योगिक रूपमा मात्र होइन, शैक्षिक÷प्राविधिक रूपमा पनि यसले खेल्दै आएको भूमिका कहींकतै लुकेको छैन। सामाजिक रूपमा मुलुककै सबैभन्दा ठूलो गौशाला र अनाथ आ श्रम विराटनगरमै अवस्थित छ। यही गौशालाले ( श्रीकृष्ण गौ सेवा सदन) २०७२ सालमा जैविक फोहोरबाट ग्यास उत्पादन गरी पाइपलाइनमार्फत वितरण गर्ने परियोजनाको थालनी गरेको थियो। २०४२ सालमा राजा वीरेन्द्र तथा रानी ऐश्वर्याबाट उद्घाटित यो गौशाला निर्माणमा नेपाल सरकारको योगदान अति न्यून छ। जेजति लगानी गरिएका छन्, त्यसको अधिकांश हिस्सा स्थानीयले गरेका हुन्। विशेषतः विराटनगरका समृद्घ माडवाडी समाजको अतुलनीय योगदान रहेको छ। साँचो कुरा त के हो भने माडवाडी समाजको तर्फबाट विराटनगरवासीका लागि यो अनुपम सुनौलो उपहार हो। त्यसमा पनि समाजसेवी दिनदयाल अग्रवाल बाँचुञ्जेल गौशालाको जुन सुव्यवस्थित व्यवस्थापन प्रदान गरे, त्यो विराटनगरवासीका लागि अब ऐतिहासिक धरोहर भइसकेको छ। अति उच्च प्रविधिको गोबरग्यास, बर्मेली आधुनिक अर्गेनिक मल तथा बिहानै गौमूत्रको सेवनजस्ता स्वास्थ्यवद्र्घक विकास निर्माण तथा सामाजिक आयोजनाहरूले उनको काम गर्ने तरिका सबैका लागि अनुकरणीय बनेको छ। विशुद्व सामाजिक सेवाहेतु गरिएका यी कार्यका लागि नेपाल सरकारलाई नगुहारिएका पनि होइनन् तर पञ्चायतकालदेखि अहिलेसम्म सरकारको प्रत्यक्ष लगानीविना निर्माण गरिएका नेपालको सबैभन्दा ठूलो गौशालाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको इज्जत र प्रतिष्ठालाई कसरी जोगायो र अहिलेसम्म धान्दै छन् त्योचाहि“ सबैका लागि चासोको विषय बनेको छ। प्रधानमन्त्रीको उदघाट्न भाषणको सारलाई केलाएर अध्ययन गर्ने हो भने यस प्रकारको भावार्थ प्रस्टरूपमा दृष्टिगोचर हुन्छ।

नेपालमा पहिलोपटक विश्व बैंक, स्वयं गौशाला र विराटनगर महानगरपालिकाको अनुदान सहयोगमा डेढ करोडको लगानीमा निर्माण गरिएको अति उच्च प्रविधिको गोबरग्यासले गौशालाको छेउछाउको ६० घरपरिवारलाई पाइपलाइनमार्फत खाना पकाउने ग्यास आपूर्ति गर्ने निधो गरेको थियो। २०७५ साल मंसिरमा सो ग्यास प्लान्टको उद्घाटन गर्ने उद्देश्यका साथ काम भइरहेको थियो। यसैबीचमा प्रधानमन्त्रीको पार्टीसँग सम्बद्घ विराटनगरका केही नेताले सुइको पाए। थाहा पाउनसाथ प्रधानमन्त्रीको पूर्वाञ्चल भ्रमण क्रममा अवलोकनका लागि तारतम्य मिलाइयो। त्यतिबेलासम्म ३२ घरमा ग्यास आपूर्ति गर्न सक्ने तयारी भइसकेको थियो। तर पहिलोपटक आफू प्रधानमन्त्री भएका बेला पाइपबाट जनताका घरघरमा ग्यास पुर्‍याउने उनले जुन ढिपी कसेका थिए, त्यो ३२ घरबाट शुभारम्भ भयो भन्ने घोषणा गर्न चाहन्थे। यो सुनौलो अवसरलाई उनले उद्घाटनमा रूपान्तरण गरे। सरकारी सञ्चारमाध्यमदेखि आसेपासे मिडियाबाट खुब प्रचारप्रसार गर्न लगाए। लाग्थ्यो, अब नेपालीहरू केही वर्षमै ग्यासमा आत्मनिर्भर बन्ने छन्। आफूले वाचा गरेका कुरा अचानक र अप्रत्याशित रूपमा भेटाएपछि उनको खुसीको सीमा नै रहेनन्। प्रधानमन्त्रीले आफ्नो उद्घाटन भाषणमा सरकारका तर्फबाट केही आर्थिकसँगै दुई केबीको सोलार पावर अनुदान सहयोग गर्ने घोषणा पनि गरिहाले। साथै आफूले बोलेका कुरा आज मूर्तरूप धारण गरेको डिङ पनि हाँके।

प्रधानमन्त्रीमाथि प्रश्नवाचक चिह्न
तर प्रधानमन्त्रीको फाइ“फुट्टी केही महिनाभित्रै उदांगियो। उनको विकासे हा“कमाथि प्रश्नवाचक चिह्न लागेको छ। उद्घाटनका बेला ३२ घरमा आपूर्ति गरिएको ग्यास दुई वर्ष बितिसक्दा पनि ३३ हुन सकेको छैन। बरु घटेर झन् ३० मा झरेको छ। प्रधानमन्त्रीले घोषणा गरेको अनुदान सहयोग अहिलेसम्म प्राप्त नभएकाले आर्थिक अभावका कारण योजना थिलथिलो भएको छ। बा“की ३० वटा घरधुरीका लागि उत्पादित ग्यास खेर गइरहेको छ। गौशालासँग ५० लाख मात्र सम्भव हुन सक्यो भने ३० घरधुरीले अगामी १० दिनमा ग्यास पाउन सक्छन्। तर जुन गौशालाले प्रधानमन्त्रीको इज्जत र प्रतिष्ठा बचायो, त्यसलाई आज ५० लाख राशि पहाडसरह भएको छ। यसको मूल कारण के हो भने मुलुकको सबैभन्दा ठूलो गौशाला आज चरम आर्थिक अभावको संकटबाट गुज्रिरहेको छ।

गौशालाले ग्यास उत्पादन गर्नुभन्दा पहिले गोबरबाट बर्मेली आधुनिक अर्गेनिक मलको कारखाना स्थापना गरेको थियो। यसबाट अति उच्च प्रकारको कम्पोस्ट मल उत्पादन हु“दै आएको छ। तर ग्यास प्लान्टको स्थापनासँगै मलको उत्पादन स्वात्तै घटेको छ। करोडौंको लागतमा निर्माण गरिएको एकातिर मल कारखानाको अवस्था खस्किँदै गएको छ भने अर्कातर्फ त्यही अनुपातमा लगानी गरिएको ग्यास उत्पादन पनि सोचेजस्तो नभएकाले नेपालको सबैभन्दा ठूलो गौशालाको अवस्था धर्मराउँदो छ। यसले गर्दा सयांैको संख्यामा रहेका गाईको खुराक पनि समयमा उपलब्ध हुन सकिरहेको छैन। जेजति गाई छन्, प्रायः कुपोषणको सिकार भएका छन्। गौशालाले आयुर्वेदिक विधिबाट बिहानै गौमूत्र सेवनको जुन कार्यक्रम ल्याएको थियो, त्यो पनि बन्द भएको छ। यता ग्यास प्लान्टमा केही खराबी आयो भने भारतबाट महँगो शुल्क तिरेर प्राविधिक झिकाउनुपर्ने बाध्यता छ।

त्यसैले प्रधानमन्त्रीले कबुल गरेको रकम उपलब्ध गराइयो भने मात्र केही गर्न सक्ने अवस्थामा पुगेका छन् गौशाला। तर वर्तमान प्रधानमन्त्री जति बोल्छन् त्यति गर्दै र हु“दै गयो भने मुलुक वर्षभरिमै कोल्टे फेरिसक्थ्यो। त्यसैले गौशाला व्यवस्थापन समितिले विकल्प नखोजी कुनै उपाय देखिन्न। खासगरी गौशालाको रिढ मानिएको गाईको संख्या नै दिनप्रतिदिन घट्दै गएको र जेजति छन्, ती पनि पिलपिले भइसकेको अवस्थामा त्यसमाथि सक्दो चाँडो ध्यान पुर्‍याउनुपर्ने देखिन्छ।

त्यसैले मुलुककै सबैभन्दा ठूलो गौशाला जसलाई देशको धरोहरका रूपमा व्याख्या गरे पनि हुन्छ, खस्किँदै गरेको अवस्था हेरेर जोकोहीले भन्न सक्छन्– प्रधानमन्त्रीले हा“केको डीङले मूर्तरूप धारण गर्न लगाउने हो भने सक्दो चाँडो कबुल गरिएको रकम उपलब्ध गराउनुपर्छ। होइन भने त्यो ढिपीमै सीमित हुने हो भने यसको अवस्था पनि पानीजहाजजस्तो नहोला भन्न सकिन्न।

प्रधानमन्त्रीलाई राहत
पहिलोपटक प्रधानमन्त्री भएपछि जोकोही पनि फाइफुटी झार्छन्। केपी ओलीले पनि फाइफुइँ गरे। धाकरबाफ देखाए र पानीजहाजको गर्न नपाए पनि देशको पहिलो ग्यास पाइपलाइनको उद्घाटन गर्न भ्याए। यद्यपि पहिलो गाँसमै ढुंगा फेला पर्‍यो। तर प्रधानमन्त्रीले अनजान तथा भावावेशमा आएर भनेका कतिपय कुरा अहिले गौशालाजस्तै स्वस्फूर्त मूर्तरूप धारण गर्दैछन्, जो उनका लागि मात्र होइन मुलुककै लागि शुभसंकेत हो। झापाको कन्काई र दमक नगरपालिका तथा सुर्खेत र दांग जिल्लामा पाइपलाइनबाट ग्यास आपूर्ति गर्ने परियोजनाले मूर्तरूप धारण गर्दैछन्। झपामा त झन्डै चार हजार घरपरिवारका लागि परियोजना अपरेसनमा छन्। प्रधानमन्त्रीको गृह जिल्ला भएर पनि होला झापालीहरू हौसिएको हुनुपर्छ। वैकल्पिक ऊर्जा परियोजनामार्फत विश्व बैंकले ४० प्रतिशत रकम अनुदान सहयोग तथा ६० प्रतिशत आफ्नै लगानीमा भइरहेको यस प्रकारको कामले प्रधानमन्त्रीको भावलाई समाएको देखिन्छ।

अन्त्यमा, बाचाली भएको कारण हाम्रो प्रधानमन्त्रीले राष्ट्रपति केनेडीजस्तो सोचे सम्झेर नबोले पनि संयोगले उनलाई साथ दिँदै आएका छन्। तराई–मधेसमा वैकल्पिक ऊर्जाका सबैभन्दा सशक्त माध्यम गोबर ग्यास तथा सौर्य ऊर्जाको भरपूर उपयोग गर्न सक्यो भने प्रधानमन्त्री ओलीका शब्दमा समस्यालाई पनि सम्पत्तिका रूपमा उत्पादन गर्न सक्ने क्षमता नेपालीसँग रहेको जगजाहेर छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.