अमरसिंह थापाको जन्मभूमिबारे यसो भन्छन् इतिहासविद्हरू
गोरखा : इतिहासविद् तथा संस्कृतिविद्हरूले राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको जन्मस्थल गोरखाको सिरानचोक नै भएको दाबी गरेका छन्। गहिरो ऐतिहासिक अध्ययन, प्रकाशित कृतिहरू तथा स्थानीय ऐतिहासिक प्रमाणका आधारमा आफूहरू यस निष्कर्षमा पुगेको उनीहरूको भनाइ छ।
गोरखाको अमरपुरस्थित अमरसिंह थापा पार्कमा आयोजित अन्तरक्रियामा इतिहासविद् तथा संस्कृतिविद् प्रा.डा. जगमान गुरुङले अमरसिंह थापा र उनका पिता उमराव भीमसिंह थापाको बसोबास यही क्षेत्रमा रहेको बताए। उनका अनुसार अमरपुर गोरखा दरबार जाने ऐतिहासिक मार्गसमेत भएकाले यसको विशेष महत्व छ। स्थानीयवासीले सोही स्थानमा अमरसिंह थापा र उमराव भीमसिंह थापाको शालिक निर्माण गरेका छन्।
प्रा.डा. गुरुङले पृथ्वीनारायण शाहका सेनापति उमराव भीमसिंह थापाको निधनपछि अमरसिंह थापा गोरखा दरबारमै हुर्किएर सैनिक तालिम प्राप्त गरेको र नेपाल एकीकरण अभियानमा अतुलनीय योगदान दिएको उल्लेख गरे। उनले नाटककार बालकृष्ण समको ‘अमरसिंह’ नाटकको तेस्रो हरफ तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम उपकुलपति सूर्यविक्रम ज्ञवालीद्वारा लिखित ‘नेपालको इतिहासमा अमरसिंह थापा’ पुस्तकमा समेत थापाको जन्मस्थान सिरानचोक नै उल्लेख गरिएको बताए।
कार्यक्रममा उनले बाह्य प्रभावका कारण नेपाली समाजमा विभाजन बढाउने प्रयास भइरहेको भन्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउन सबैलाई आग्रह गरे।
'पहिले दहीजस्तै जमेको नेपाली समाज अहिले विभाजित बनाउने प्रयास भइरहेको छ। जातीय तथा सामुदायिक नाममा एकअर्काविरुद्ध उभ्याउने प्रवृत्ति बढेको छ। यो हाम्रो आफ्नै सोचभन्दा पनि अरूले सिर्जना गरेको मानसिकता हो,' उनले भने।
गुरुङले अमरपुरलाई राष्ट्रिय एकताको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गर्दै अमरसिंह थापाको नाममा पार्क निर्माणका लागि मगर समुदायले जग्गा दान गरेको, गुरुङ समुदायले पहल गरेको र ब्राह्मण समुदायले समितिमा बसेर योगदान दिएको उल्लेख गरे।
अङ्ग्रेजसँगको युद्धमा अमरसिंह थापाले कुनै पनि लोभ वा प्रलोभनमा नपरी राष्ट्रप्रति अटल निष्ठा प्रदर्शन गरेको स्मरण गर्दै उनले अमरसिंह थापा बगाले थापा वंशअन्तर्गतका थापा भएको बताए। अमरपुर क्षेत्रको ऐतिहासिक महत्व अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने विश्वास व्यक्त गर्दै नेपाली भाषा र राष्ट्रिय एकताको विकासमा मगर, गुरुङ, राईलगायत विभिन्न समुदायको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो।
त्यस्तै इतिहासविद् डा. दिनेशराज पन्तले आफूले विसं २०३७ सालदेखि गोरखाको इतिहासबारे अध्ययन गर्दै आएको जानकारी दिँदै गोरखाको इतिहास करिब १,३०० वर्ष पुरानो रहेको बताए। गोरखाको इतिहाससम्बन्धी चार खण्डको पुस्तक लेखिसकेको उल्लेख गर्दै उनले गोरखा दरबारस्थित हनुमान भञ्ज्याङमा लिच्छविकालीन राजा द्वितीय शिवदेव र जयदेवका शिलालेख रहेको र गोरखा प्राचीन सभ्यता तथा इतिहासको केन्द्र रहेको बताए।
उनले वडाकाजी अमरसिंह थापाको नेतृत्वमा नेपाली सेना सतलज पार गर्दै काँगडादेखि रावी नदीसम्म पुगेको स्मरण गर्दै उनी राष्ट्रका लागि समर्पित, लोभ-लालचबाट टाढा रहेका वीर सेनापति भएको बताए।
डा. पन्तले अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमै भएको दाबी दोहोर्याउँदै यस विषयमा अनावश्यक विवाद नगर्न आग्रह गरे। उनले जन्मस्थल संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने सिरानचोक गाउँपालिकाका पूर्व अध्यक्ष राजु गुरुङ र राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानप्रति धन्यवादसमेत व्यक्त गरे।
कार्यक्रमअघि राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानका संरक्षक क्याप्टेन रामेश्वर थापाको नेतृत्वमा प्रा. डा. जगमान गुरुङ, डा. दिनेशराज पन्त, पूर्वमन्त्री विक्रमबहादुर थापा, प्रतिष्ठानका अध्यक्ष गणेश थापा, महासचिव बद्रीकुमार थापा, कोषाध्यक्ष श्यामसुन्दर थापा, समाजसेवी श्यामकृष्ण तिमल्सिना, सिरानचोक गाउँपालिकाका पूर्व अध्यक्ष राजु गुरुङलगायत काठमाडौंबाट पुगेका १७ जना विशिष्ट व्यक्तित्वले अमरपुरस्थित अमरसिंह थापा तथा उमराव भीमसिंह थापाको शालिक, श्रीनाथ गण र ऐतिहासिक गढीको अवलोकन गरेका थिए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रीता देवकोटा, वडा नं. ६ का अध्यक्ष प्रेमप्रसाद बस्ती, गाँखु-काठमाडौं समाजका अध्यक्ष मिलन पोखरेल, समाजसेवी हरि ढकाल, गंगा भट्ट, स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
अमरपुरमा राष्ट्रिय विभूतिको शालिक स्थापना भएपछि यस क्षेत्रको ऐतिहासिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले पार्कसम्म मोटरबाटो, खानेपानी, शौचालय तथा विश्रामस्थलको व्यवस्था गरिसकेको जनाएको छ।
स्थानीयका अनुसार पछिल्लो समय सहरबाट समेत अमरपुर क्षेत्रमा जग्गा खरिद गर्न आउने क्रम बढेको छ। कुमाउ र गडवाल क्षेत्रका भारतीय पर्यटकहरू अमरसिंह थापाको जन्मस्थल अवलोकन गर्न इच्छुक भए पनि पहुँचमार्ग पर्याप्त विकास नभएकाले उनीहरूको चाहना पूरा हुन सकेको छैन। गोरखाको ऐतिहासिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा अमरपुर विकास हुन सक्ने विश्वास स्थानीयको छ।
राष्ट्रिय विभूति अमरसिंह थापाको निधन भएको साउन १६ गते प्रत्येक वर्ष अमरपुरमै स्मृति दिवस मनाइँदै आएको छ। यस वर्ष पनि सोही स्थानमा कार्यक्रम आयोजना गरिने स्थानीय युवा राजेन्द्र अर्यालले जानकारी दिए।
त्यस्तै इतिहासविद्हरूको टोलीले आइतबार श्रीनाथ मण्डली, ऐतिहासिक कोटहरू तथा टुँडिखेलको स्थलगत अवलोकन पनि गरेको थियो। स्थानीयसँगको छलफलमा प्रा. डा. गुरुङले तल्लो पामका विद्वान झाँगल गुरुङले पृथ्वीनारायण शाहका दिव्योपदेश तयार पार्न महत्वपूर्ण भूमिका खेलेको ऐतिहासिक उल्लेख रहेको जानकारी गराएका थिए।
प्रतिक्रिया दिनुहोस !