नेकपा विवाद : प्रचण्डले धुम्बाराहीमा बोलाए सचिवालय बैठक, ओली नजाने
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद चर्किरहेको बेला अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सचिवालय बैठक बोलाएका छन्। सचिवालयमा रहेका नेताहरूको अनौपचारिक बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार दिउँसो ३ बजे बस्ने गरी अध्यक्षले बोलाएको प्रचण्डको सचिवालयले जनाएको छ।
ओलीसँग परामर्श नगरीकन बैठक डाकिएकोले यो बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित हुनेछन्।बिहीबार बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने बताउँदा प्रधानमन्त्री ओलीले भने बैठक जरूरी नभएको बताएका थिए। बिहीबारको बालुवाटार सम्वाद थप तिक्कतापूर्ण भएपछि प्रचण्ड सचिवालय बैठक बोलाउने निश्कर्षमा पुगेका हुन्।
प्रधानमन्त्री ओलीले पनि आफूविरुद्ध कहाँ केके भइरहेको छ भन्ने बारे सबै सूचना आफूसँग भएको बताउँदै खुमलटार र कोटेश्वरमा गुटगत भेला र बैठक गरेर विभाजन ल्याउन खोजेको आरोप लगाएका थिए। ओलीले आफूलाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको तर आफू पछि नहट्ने बताएका थिए।
अहिले पार्टी बैठक बोलाउने र भदौ २६ मा स्थायी समितिले गरेको निर्णय कार्यान्वयन गर्ने विषय मात्रै आफूहरूले उठाए पनि राजीनामाको उठ्दै नउठेको विषय किन उठाएको भन्दै दाहालले ओलीसँग आपत्ति जनाएका थिए।
त्यसपछि दाहालसँग ब्रिफिङ सुन्न वरिष्ठ नेता माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा, राष्ट्रियसभा दलका नेता दीनानाथ शर्मा, ऊर्जामन्त्री वर्षमान पुनलगायत खुमलटार पुगेका थिए।
पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्त्री ओलीले आफूखुसी राजदूतहरु नियुक्त गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै प्रचण्ड-नेपाल पक्ष यतिबेला ओली टिमसँग रुष्ट भएको छ।
प्रतिक्रिया दिनुहोस !