१५ पुल बन्दै
चितवन : साँघुरो भएकै कारण दुर्घटनाको जोखिम बढेको नारायणगढ–मुग्लिन सडकखण्डमा नयाँ पुल निर्माण थालिएको छ। सडकको स्तरोन्नतिकै क्रममा निर्माण गर्ने भनिएका पुलको निर्माण अहिले सुरु भएको हो।
सडक स्तरोन्नतिअन्तर्गत उक्त आयोजनामा निर्माण गर्ने भनिएको १९ पुलमध्ये १५ पुल निर्माणको काम सुरु भएको हो। दुईवटा प्याकेजमा विभाजन गरी पुल निर्माण गरिएको छ।
पहिलो प्याकेजमा इच्छाकामना गाउँपालिकामा ७ र भरतपुर महानगरपालिकामा ८ वटा पुल बन्दैछ। दोस्रो प्याकेजअन्तर्गतको ६ वटा पुलको निर्माण धमाधम भइरहेको छ। जुगेडी खहरे, लामोबालुवा, भोर्ले, सेतीदोभान र डुम्रे खोलामा पुल निर्माणले गति लिएको हो। मिलताल र खोर पुल अर्को साताबाट निर्माण सुरु हुने आयोजनाले जनाएको छ। त्यस्तै, पहिलो प्याकेजअन्तर्गतका पुलको डिजाइन स्वीकृतको अन्तिम चरणमा छ। मुग्लिनतर्फको खण्डमा पर्ने खहरे, चिसेन्जी, तुइन, कालीखोला, टोपेखोला, ब्यान्सी र रिग्दीखोलामा पुल निर्माण हुँदैछ।
‘कोरोनाको संक्रमण जोखिमले गरिएको लकडाउनले काम समयमा सुरु हुन नसकेको हो,’ नारायणगढ– मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर सबिना रानाभाटले भनिन्, ‘केही पुल अहिले सुरु भइसकेको छ। केहीको डिजाइन स्वीकृतको काम अन्तिम चरणमा भएकोले वर्षात् सकिएलगत्तै काम अघि बढ्छ।’
एक नम्बर प्याकेजका लागत ६८ करोड रहेको छ भने दुई नम्बर प्याकेजका ५९ करोडको कुल लागत छ। अहिले आठवटा पुल निर्माणको काम भइरहेको छ। दुई नम्बर प्याकेजका सातवटा पुलको डिजाइन स्वीकृत भएको छ। पहिलो प्याकेजका धेरै पुलको डिजाइन स्वीकृत हुन बाँकी छ। निर्माणको ठेक्का पाएको कम्पनीले पुलको डिजाइन गरेपछि सडक विभागबाट स्वीकृत गरिन्छ। दुवै खण्डको पुल निर्माणको ठेक्का अनक कन्सट्रक्सनले पाएको छ। डिजाइनसहित ३३ महिनामा निर्माण सकिने ठेक्का सम्झौतामा उल्लेख छ।
गत वर्ष चैत १० मा ठेक्का सम्झौता भएको हो। सम्झौताको भोलिपल्ट लकडाउन भएपछि ढिलो भएको अनक कन्सट्रक्सनका साइट इन्चार्ज दशरथ डंगोलले बताए। उनका अनुसार दुई हप्तापछि पहिलो प्याकेजको काम पनि अघि बढ्नेछ। पुल निर्माणपछि बाटोको दूरी पनि कम हुने र दुर्घटना पनि कम हुने आयोजनाले जनाएको छ। ‘निमार्णपछि दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरेका छौं,’ सूचना अधिकारी रानाभाटले भनिन्।
पुराना पुल ६÷७ मिटर चौडाइका छन्। पहिलो प्याकेका नयाँ पुल ९÷११ मिटर चौडाइ (फराकिलो) को हुनेछ। दोस्रो प्याकेजमा ११ मिटर चौडाइको बन्ने भएका छन्। यसअघि चारवटा पुल निर्माण भएका छन्।
प्रतिक्रिया दिनुहोस !