गुट भेला गर्नेलाई कारबाही गर्ने ओलीको चेतावनी

गुट भेला गर्नेलाई कारबाही गर्ने ओलीको चेतावनी

काठमाडौं : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अराजकता, अनुशासनहीनता र उच्छृंखलतालाई छुट नभएको बताएका छन्। विधि विधानविपरीत हिँड्न खोज्नेलाई कारबाही गर्ने चेतावनी प्रधानमन्त्री ओलीले दिएका छन्।

पार्टीका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले चैत ४ र ५ मा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। ओलीले २८ फागुनमा एकलौटी रूपमा आफ्ना पक्षका नेताहरूको जिम्मेवारी खोस्ने, केन्द्रीय कमिटीमा नेताहरू थप्नेलगायत निर्णय गरेको भन्दै नेपाल र खनाल पक्ष आक्रोशित देखिएको छ। उनीहरूले मंगलबार ओलीले आयोजना गरेको चियापान कार्यक्रम बहिष्कार गरेका छन्। ओलीले नेपाल र खनाल पक्षका नेतातर्फ संकेत गर्दै एमालेमा बसेर अराजकता मच्चाउने छुट अब कसैका लागि पनि नभएको बताएका हुन्।

‘जंगलको राज चलाउने अनि विधि पद्धतिका कुरा गर्ने ? लोकतान्त्रिक मूल्य मान्यता, पद्धति, विधि, नियम, कानुन, देशको संविधान केहीको पनि कुनै मतलव छैन। अहंकार स्वेच्छाचारिता। अब पार्टी २०७५ जेठ ३ भन्दा अगाडिको स्थितिमा फर्कियो भनेपछि पनि केही मानिसहरू छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन्। निहुँ खोजिरहेका छन्’, ओलीले भने, ‘७ गते फेरि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। उहाँहरू भोलि राष्ट्रिय भेला बोलाउने राष्ट्रिय भेलाबाट प्रतिवेदन पास गर्ने अरे। राष्ट्रिय भेलाबाट के–के समानान्तर कमिटी बनाउने अरे। समानान्तर होइन अर्को कमिटी बन्ला। कसैले पनि अर्को कमिटी बनाउँछ कि पार्टी बनाउँछ कि त्यो त के गर्न सकिन्छ ?’

तर, यो एउटै पार्टीमा बसेर यस पार्टीमा अब उप्रान्त अराजकता, अनुशासनहीनता, उच्छृंखलताजस्ता कुराहरू, विधि विधानविपरीतका कामकारबाहीहरू, पार्टीको एकताविरोधी क्रियाकलापहरूमा छुट नहुने ओलीले स्पष्ट पारे। ‘ती कुराहरू मान्य हुन सक्तैन। त्यस्ता कुराहरूलाई हामी सहेर बसिरहन सक्दैन। पार्टीलाई पार्टीको रूपमा चल्न नदिने। भाँडभैलो मच्चाउने। जहिले पनि भाँडभैलो मच्चाउने कुरा चाहिँ हुन सक्तैन’, ओलीले भने।

उनले पार्टीलाई धम्क्याएर, घुर्काएर ठेगान लगाउँछु भन्ने कसैले सोचेका छन् भने त्यो सम्भव नरहेको बताए। ‘पार्टी विधि विधान र तरिकाअनुसार चल्छ। नचाहिने कुराको अगाडि लत्रिने कुरा छैन। सत्यसँग नलड्ने निहुँ खोजुवाहरूसँग नझुक्ने। हाम्रो नीति त्यही हो’, ओलीले भने। नेपाल खनाल पक्षको राष्ट्रिय भेलामा को–को जान्छन् नजर लाइनेछ भन्दै ओलीले कारबाहीको संकेत गरे।

‘एकथरी अनुहारका साथीहरू चियापानमा देखिनु भएन। हिजो बेलुका मैले सुनेँ बैठक बसेर निर्णय गर्नुभयो अरे। पार्टीको चियापानमा नजाने। कसका चियापानमा पाए जानुहुन्छ ? पार्टी अध्यक्षको प्रधानमन्त्रीको निमन्त्रणामा नजाने कसको निम्ता पाए जानुहुन्छ ? हुन त सबैलाई थाहा छ तर नभनौं। थाहा त छ नि सबैलाई कसको निम्ता पाए जानुहुन्छ भनेर ? एकथरी अनुहारहरू देखिएन आज। राम्रो लक्षण होइन। कुनै कारणबश आउन भ्याउनुभएन होला भन्ने म ठान्छु। उहाँहरूले त्यस्तो निर्णय गर्नुभयो भन्ने होइन होला भन्ने म ठान्छु। अझै केही समय बाँकी छ,’ प्रधानमन्त्रीले भने, ‘भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न उहाँहरू र कति तमासा गर्नुहुन्छ। एक नजर चाहिँ त्यता राखेको छु। पार्टीलाई धम्क्याएर, घुर्काएर ठेगान लगाउँछु भन्ने सोच्या छ भने त्यस्तो होइन। पार्टी विधि विधान र तरिकाअनुसार चल्छ। नचाहिने कुराको अगाडि लत्रिने कुरा छैन। सत्यसँग नलड्ने निहुँ खोजुवाहरूसँग नझुक्ने। हाम्रो नीति त्यही हो।’
ओलीले मुद्दा लडेर प्राप्त गरेको प्रतिनिधिसभा बैठक झगडियाहरूले नै सञ्चालन गर्न नदिएको बताए। ‘अधिवेशन प्रारम्भ भएको पहिलो दिनको बैठकमा नै अध्यादेश प्रस्तुत गर्नुपर्छ संविधानअनुसार। त्यो सरकारलाई प्रस्तुत गर्न दिइएन। अथवा संविधान कार्यान्वयन गर्न दिइएन। संविधान कार्यान्वयन गर्न व्यवधान खडा गरियो। कार्यसूची बदलेर सभामुखजीले मन्त्रीजी एकछिन पख्नुहोस् भनेर रोकेर पछि एकछिन स्थगित भनेर, फेरि एकछिनपछि अर्को दिनलाई सर्‍यो भनेर संविधानले संविधानले पहिलो दिन नै पेस गर्नुपर्ने संवैधानिक दायित्व पनि सरकारले पूरा गर्न पाएन। त्यो जिम्मेवारीबाट सरकारलाई व्यवधान खडा गरेर बञ्चित गरियो’, उनले भने, ‘संविधान कार्यान्वयनप्रति सभामुखको जुन प्रतिबद्धता हुन पथ्र्यो। संविधान कार्यान्वयनप्रति उहाँको जुन कर्तव्य थियो त्यसभन्दा पर भिन्न प्रकारका सहमति, भिन्न प्रकारका सेटिङबाट संविधानको कार्यान्वयन हुन नदिनु, अझ एसिड आक्रमणविरुद्ध, त्यो पर्खिरहन नहुने, कडा कानुन ल्याउनुपर्ने पीडितहरूको माग, सम्पूर्ण महिला समुदायको मागअनुसार कडा कानुन ल्याउनुपर्ने माग र संसद्बाट कानुन ल्याएर प्रक्रियाबाट जाँदा ‘तुरुन्तै गर्नुपर्ने कुरालाई ध्यानमा राखेर अध्यादेश ल्याइएको थियो। त्यो पेस गर्न दिइएन भनेपछि संसद्लाई कति कामकाजी, कति प्रभावकारी बनाउन खोजिएको रहेछ भन्ने त्यसबाट स्पष्ट हुन्छ। संसद्लाई निष्प्रभावी बनाउने चेष्टा भइरहेको छ।’

ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा एमालेका केन्द्रीय सदस्य तथा सांसदहरूलाई बोलाएर चियापान कार्यक्रम आयोजना गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.