प्रदूषणले घातक असर

प्रदूषणले घातक असर

काठमाडौं : उपत्यकाको वायुको गुणस्तर मानव स्वास्थ्यलाई अत्यन्तै घातक देखिएको छ। विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३०० भन्दा बढी भए घातक भनेको छ। उपत्यकामा शुक्रबार एक्यूआई सबैभन्दा बढी भैंसेपाटीमा ३१४ पुगेको छ।

यसबाट तात्कालिक मात्रै होइन, दीर्घकालिक स्वास्थ्य समस्या निम्तिने जोखिम रहेकाले सजग हुन विज्ञहरूले आग्रह गरेका छन्। डढेलोको धुवाँ मिसिएको प्रदूषणले शरीरका सबै अंगलाई असर गर्ने चिकित्सक बताउँछन्। अल्पकालीन (तत्काल) रूपमा आँखा पोल्ने, छाला चिलाउनेलगायत स्वास्थ्य समस्या देखिए पनि दीर्घकालमा दम, फोक्सोको क्यान्सर हृदयाघातसमेत हुन सक्ने चिकित्सकको भनाइ छ।

शुक्रबार बिहानदेखि नै उपत्यकामा आँखा पोल्नेलगायत समस्या स्थानीयमा देखिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारै घरबाहिर ननिस्कन अपिल गरिसकेको छ। वन तथा वातावरण मन्त्रालयले उपत्यकामा देखिएको वायुको गुणस्तरमा अझै केही दिन सुधार नहुने जनाएको छ।

 
तत्काल देखिने
नाक र मुखबाट शरीरभित्र प्रवेश गर्ने धुलोका कणले समस्या निम्त्याउँछ। धुलोका ठूला–ठूला कणहरू नाक र घाँटीमा अड्कन्छन्। ससाना कण फोक्सोमै पुग्छन्। घाँटी एवं नाकको समस्या, रुघाखोकी, एलर्जी, पिनास, दम, क्षयरोग, मुटुका बिरामीलाई तत्कालै असर गर्छ।

प्रदूषणले छालामा सुक्खापन ल्याई चिलाउने समस्या देखा पर्छ। ब्याक्टेरियल, फंगल, प्यारासाइटलगायत अनेक संक्रमणको सम्भावना बढी हुन्छ। छालामा मसिना दाना देखिने, चिलाउने, छालाबाट धुलोजस्तै झर्छ।

प्रदूषणले मानसिक स्वास्थ्यमा पनि असर गर्छ। दूषित वातावरणमा लामो समस्या बस्दा निराशा, तनावलगायत मानसिक समस्या देखा पर्न सक्छन्।

दीर्घकालमा असर पर्ने
काठमाडौंमा देखिएको धुवाँ, धुलो स्वास्थ्यको दृष्टिले खतरनाक छ। यसले श्वासप्रश्वास, मुटुरोग, थाइराइडलगायत दीर्घकालीन समस्या  निम्त्याउन सक्छ। धुलोका कणहरू श्वासनलीमा बसिदिन्छन्। श्वास फेर्न गाह्रो हुन्छ। फोक्सोमा असर पर्छ।

आँखाले देख्न नसकिने पीएम १० र २.५ माइक्रोग्रामभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडले क्यान्सर निम्त्याउँछ। ससाना कण फोक्सोमा गएर बस्छन्। त्यसले रुघाखोकी, क्रोनिक ब्रोंकाइटिस, दमखोकीलाई बढावा दिन्छ। रोग प्रतिरोधात्मक क्षमतामा पनि ह्रास आउँछ।

फोक्सोको क्यान्सर देखिनुमा धूमपान र प्रदूषण मुख्य कारक हुन्। श्वासनली र फोक्सोमा बढी असर गर्छ।

स–साना कणहरू रक्तनलीमा जमेर गम्भीर असर गर्छन्। धुलोका कणले रक्तनलीमा रगत जमेर रक्तप्रवाहमा रोकावट ल्याउने जोखिम हुन्छ। मधुमेह, रक्तचापका बिरामीको रक्तनली यसै बिग्रिरहेको हुन्छ। रक्तनलीमा बोसो जमेको हुन्छ। यही बेला प्रदूषणका ससाना कण रक्तनलीमा बसेर भित्री भागलाई बिगार्छ। यसले हृदयाघात, मस्तिष्काघातसमेत गराउने जोखिम हुन्छ।

(नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा.डा. ढुण्डीराज पौडेल, छाला रोग विशेषज्ञ डा. रीता श्रेष्ठ, मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारी, छाती रोग विशेषज्ञ डा. नीरज बम, क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ, मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीसँगको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.