गृहमन्त्री गुरुङको चेतावनी : अपमान र चरित्रहत्या गर्नेलाई छाड्दैनौं
काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले कुनै पनि नागरिकमाथि अपमान, चरित्रहत्या वा आधारहीन आरोप लगाउनेविरुद्ध कडारूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।
मंगलबार पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले आफूविरुद्ध जस्तोसुकै आरोप आए पनि सहन सक्ने तर नेपाली नागरिक र विशेषतः चेलीबेटीमाथि हुने अपमान र चरित्रहत्या कदापि नसहने बताए।
'म त थेग्न सक्छु, तर हाम्रा नेपाली दिदीबहिनी र छोरीहरूलाई चरित्रहत्या गर्ने प्रयास भयो भने गृहमन्त्रालय संवेदनशील बन्छ। आइन्दा कुनै पनि नागरिकलाई अपमान गर्ने वा चरित्रहत्या गर्ने प्रयास स्वीकार्य हुँदैन,' उनले भने।
गृहमन्त्री गुरुङले मिडिया ट्रायलका कारण कुनै पनि व्यक्ति आत्महत्या गर्न बाध्य हुने अवस्था आउन नहुनेमा जोड दिए। तथ्य र प्रमाणबिनै कसैको प्रतिष्ठामाथि प्रहार गर्ने कार्य रोक्नुपर्ने उनको भनाइ थियो।
उनले गृह मन्त्रालयले आफ्नो कार्यकालको सुरुआतमै चारवटा निर्णय गरेको जानकारी दिँदै, तीमध्ये 'जेनजी आन्दोलन' का क्रममा फौजदारी अभियोग लगाइएकाहरूको मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने विषयमा कानुनी अध्ययन अघि बढाउने निर्णय पनि रहेको बताए।
प्रतिक्रिया दिनुहोस !