कृषिमा ‘चामत्कारिक क्रान्ति’
बाढीले वगरमा परिणत गरेको करिब पाँच लाख हेक्टर जग्गालाई पुनः उर्वर बनाउन सक्ने महत्वकांक्षी योजना हामीसँग छ
‘कृषि क्रान्ति’ को नारा घन्किन थालेको दशकौं भयो तर यो नारा, नारामै सीमित बनाइयो। सरोकारवाला निकायको भूमिका प्रभावहीन हुँदा कृषि क्षेत्रको अवस्था परम्परागत शैलीमै चलिरहेको छ। सरकारले २०७७÷७८ को नीति तथा कार्यक्रममार्फत कृषिको उत्पादकत्व १० वर्षमा दोब्बर बनाउने नीति लिएको छ। सरोकारवाला निकायमा विश्वास र उपयुक्त योजना भएमा मात्रै सरकारको पछिल्लो नारा साकार पार्न सकिन्छ। यसका लागि निजी क्षेत्रले उल्लेखनीय भूमिका खेल्न सक्छ। सरकारले पनि निजी क्षेत्रलाई विश्वासमा लिएर आवश्यक नीतिगत व्यवस्थामा सुधार गर्नुपर्छ। अनि मात्र कृषिमा फट्को मार्न सकिन्छ।
कृषिलाई अर्थतन्त्रको मेरुदण्ड मानिएको छ। तर, यस क्षेत्रको अवस्था दयनीय छ। जग्गाको ठूलो हिस्सा कृषि भूमिका रूपमा प्रयोग हुन सकेको छैन। जग्गा बाढी तथा पहिरोले नष्ट हुने क्रम जारी छ। यथास्थितिमा यस्ता जग्गा बगरहुँदै मरुभूमिमा परिणत हुँदैछन्। कृषियोग्य जग्गा खण्डीकरण भएर भौतिक पूर्वाधार निर्माण र सहरीकरणमा प्रयोग बढ्दो छ। एकातिर कृषि भूमिको परिमाण घट्दै गइरहेको छ भने अर्कोतर्फ यसमा निर्भर जनसंख्या संकटमा छ।
पछिल्लो समय कोभिड—१९ को पहिलो लहर र नयाँ वर्षसँगै सुरु भएको दोस्रो लहरले रोजगारीमा ठूलो धक्का दिने निश्चित छ। यस्तै वर्षेनी स्वदेशमा साढे ५ लाखभन्दा बढी श्रमशक्ति श्रम बजारमा प्रवेश गर्ने क्रम जारी छ। यो श्रम शक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने चुनौती छ। नेपालको अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको रेमिट्यान्सको स्रोत वैदेशिक रोजगारीमा आउन सक्ने संकुचनले एक वर्षभित्र २५ देखि ३० लाख युवाशक्तिको वैदेशिक रोजगार गुम्ने खतरा पनि उत्तिकै छ। वैदेशिक रोजगारबाट फर्किने युवालाई रोजगारको व्यवस्था गर्नुपर्ने बाध्यता पनि छ। यसरी वैदेशिक रोजगारबाट फर्किनेका घरको चुल्हो पनि लामो समयसम्म बल्ने अवस्था छैन।
‘भेटिभर’ एक प्रकारको सहयोगी झार हो। जसको सहयोगमा बाढीको बालुवा र ढुंगाले पुरेर बगर बनेको खेतीयोग्य जग्गालाई पुनः पोषणयुक्त र उर्वर भूमिमा परिणत गर्न सक्छौं।
कोभिड—१९ महामारीका कारण उत्पन्न दुर्घटना न्यूनीकरण गरी गरिबी र वेरोजगारी समस्या समाधान गर्न, उत्पादन बढाउन, पोषणयुक्त खाद्य सुरक्षाको ग्यारेन्टी गर्न, रोजगारको सुरक्षा, इनर्जी सेक्युरिटी, राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन र स्वच्छ वातावरण तयार पार्न एउटै सर्वोतम विकल्प हो, कृषितन्त्र। गत वर्ष कोभिड—१९ का कारण सबै क्षेत्र तहसनहस भयो। अधिकांशको रोजगारी पनि गुम्यो। त्यसले कृषिको महत्वलाई उजागर गर्यो। कृषिमा रोजगारीको अवसर सिर्जना गरी २० देखि २५ लाख युुवालाई रोजगारी उपलब्ध गराउन सक्ने बिषयमा बहस पनि चलेको थियो तर यो विषय भाषणमै सीमित रह्यो। यतिबेला कोभिडको दोस्रोे लहर सुरु भइसकेको छ। यसले पार्ने प्रभावबारे आउने दिनमा अनुभव होला नै।
हाम्रो बानी विपद् आउनुअघि विशेष योजना ल्याएर तयारी नगर्ने तर पछि यसो गरेको भए (!) भनेर भाषण दिइहाल्ने। यस्तो प्रवृत्तिले पनि हामी नेपाली पछौटेपनको सिकार हुँदै आएका छौं। यस्तो अवस्थामा उद्योग तथा कलकारखाना सञ्चालन गर्न ठूलो चुनौती हुन्छ तर कृषिका गतिविधि सञ्चालन गर्न सकिन्छ। कोभिडले थला पारेको अर्थतन्त्रलाई कृषिले नै टिकाइराखेको छ। कृषि क्षेत्रको उत्पादकत्व बढाउन र हालसम्म उपभोगमा आउन नसकेका जग्गालाई कृषि भूमिमा परिणत गर्न आवश्यक छ।
प्रयोगहीन अवस्थामा रहेका बाँझो, पर्ति, दर्ता छुट, ऐलानी, खोला उकास तथा बाढीपहिरोका कारण वगरमा परिणत भएका जग्गा वैज्ञानिक कृषि प्रणालीको सहयोगमा पुनः उर्वर र कृषियोग्य भूमिमा परिणत गर्न सकिन्छ। यसले उत्पादन मात्र बढाउँदैन रोजगारीको दिगो समाधान पनि दिन्छ। २०७७÷७८ को नीति तथा कार्यक्रममार्फत सरकारले अघि सारेको ‘चिनौं आफ्नो माटो बनाऊँ देश’ तथा ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नारा पनि सार्थक हुनेछ।
तराईमा पाँच लाख हेक्टरभन्दा बढी जग्गा बाढीले नष्ट पारेर वगरमा परिणत गराएको छ। यसले लाखौं किसान सुकुमबासी भएका छन्। त्यसले उनीहरूको दैनिक जनजीवन कष्टकर बनेको छ।
नेपालमा प्रतिव्यक्ति सिञ्चित जग्गाको स्वामित्व ०.०७ हेक्टर मात्रै छ। यो सानो क्षेत्रफलले न व्यावसायिक र आधुनिक प्रणालीबाट कृषि व्यवसाय गर्न सकिन्छ न त कृषिमा आत्मनिर्भर नै। व्यावसायिक र आधुनिक वैज्ञानिक खेती गर्न उपयुक्त क्षेत्रफल भएको जग्गा आवश्यक पर्छ। ससाना टुक्रामा बाँडिएका जग्गामा कृषि प्रणालीलाई अगाडि बढाउन सम्भव छैन। अब हामी कतैबाट पनि खेतीयोग्य जग्गा थप्न सक्ने अवस्थामा छैनौं। भएकै जग्गालाई व्यवस्थित गरी उत्पादनमा वृद्धि गर्ने हो।
प्रस्ताव र अवधारणा
हामीले कृषि क्षेत्रमा केही गर्न सक्ने शोध तथा अध्ययन गरेका छौंं। हामीसँग महत्वपूर्ण योजना पनि छ। यो योजना हामीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिज्ञहरूसँग छलफल गरी तयार पारेका छौं। प्रयोगहीन र काम नलाग्ने अवस्थामा रहेको पर्ति, खोला उकास, बाढीको बालुवा र ढुंगाले पुरेर बनाएको वगर जग्गा, ऐलानी तथा अन्य प्रकारका अव्यवस्थित जग्गा सरकारले कम्तिमा लामो अवधिका लागि भाडामा उपलब्ध गराइदिनुपर्छ। कृषिमा क्रान्ति गर्न हामी तयार छौं। यसमध्ये बाढीले वगरमा परिणत गरेको करिब पाँच लाख हेक्टर जग्गालाई पुनः उर्वर बनाउन सक्ने महत्वकांक्षी योजना मसँग छ। यो पाँच लाख हेक्टरलाई कृषि यान्त्रिकरणको सहयोगमा व्यावसायिक र आधुनिक रूपमा पर्माकल्चरमा आधारित एग्रो फरेस्ट्रीको अवधारणा कार्यान्वयनमा ल्याउन सक्ने योजना र क्षमता हामीसँग छ।
यस्तो जग्गाको सदुपयोग गरी हामी कृषिजन्य वस्तु, तरकारी, फलफूल र जडिबुटीजन्य वस्तुको पर्याप्त परिमाणमा दिगो उत्पादन गर्न सक्छौ। यसका साथै कृषिजन्य उद्योग कलकारखानालाई आवश्यक पर्ने विभिन्न प्रकारका कच्चा पदार्थ दिगो रूपमा उपलब्ध गराउनुका साथै सरकारको सहयोग भयो भने २० देखि २५ लाख युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ। बाढीले बगरमा परिणत गरेका जग्गाधनी किसानलाई पनि रोजगारीमा जोड्न सकिन्छ। यसका साथै बायो इनर्जीको ग्यारेन्टी, अर्थतन्त्रमा सुदृढीकरण, खाद्य तथा पोषणयुक्त खाद्य पदार्थको उत्पादन, स्वच्छ वातावरणलगायतका क्षेत्रमा ठूलो सहयोग गर्न सकिन्छ।
यसका लागि सुपर चामत्कारिक ‘भेटिभर’ नामको एक प्रकारको झारको सहयोग लिन सक्छौं। भेटिभरको सहयोगमा बाढीको बालुवा र ढुंगाले पुरेर बगर बनेको खेतीयोग्य जग्गालाई पुनः पोषणयुक्त र उर्वर भूमिमा परिणत गर्न सक्छौं। यो झारको सहयोगमा बाढीको प्रभावलाई पनि अधिकतम मात्रामा कम गर्न सक्छौं। भेटिभरको माध्यमबाट खोला नियन्त्रण गर्दै माटोको कटान रोक्न सक्छौं। बगरमा परिणत भएको जग्गा सधैका लागि कृषियोग्य बनाउन सक्छौं।
भेटिभर एउटा वायो इन्जिनियरिङ टुलका साथै सस्टेनेवल एग्रिकल्चर र गरिबी निवारण गर्ने ठूलो माध्यम हो। भेटिभर एक वर्षमा जमिनमुनि १० फिट तल जान सक्छ। जमिनमाथि यो लगभग ५ फिट जान्छ। यो ठूलो चामत्कारिक बिरुवा हो। भेटिभर ड्याम (बाँध) को काम गर्न सक्षम छ। जहाँबाट जग्गा काटिएको छ त्यहीं भेटिभर रोप्दा त्यसले बाढी रोक्न सक्छ। भेटिभरको बिरुवापछि मोरिंगा र बाँसजस्ता बहुगुणी बोटको रोपण गर्नेछौं। भेटिभरले माटोमुनिको प्रदूषित पानीलाई पनि स्वस्थ्य बनाउन सहयोग गर्छ। भेटिभरको जराको तेल नै प्रतिलिटर ३० हजार रुपैयाँ पर्छ। भेटिभरले वगरमा परिणत भएको माटोभित्रको नकारात्मक तत्वलाई सोसेर माटोलाई उर्वर बनाइदिन्छ। भेटिभरको जराले जमिनमुनि पर्याप्त नाइट्रोजन उपलब्ध गराउँछ। नाइट्रोजनले माटोलाई पोषणयुक्त बनाउन ठूलो सहयोग गर्छ। अहिले मुलुकमा देखिएको विभिन्न प्रकारका खाद्यान्न, फलफूल, तरकारी, दलहन, तेलहन वस्तुको अभावको समस्यालाई पनि यसले सधैंका लागि अन्त्य गर्नेछ। बाढीले वगर बनाइदिएको जग्गालाई पूर्व अवस्थामै ल्याएर किसानको जीवनस्तर पनि सुधार गर्न सकिन्छ। यस्तो अवस्थामा सरकारले भाडामा जग्गा उपलब्ध गराउन सके हामीजस्ता निजी क्षेत्रले सकारात्मक भूमिका निर्वाह गर्न सक्छौं।
नेपालमा वर्षेनी दुई खर्ब रुपैयाँबराबरको इन्धन आयात हुन्छ। इन्धन आयातसँगै हामीले वातावरण पनि प्रदूषित गरिरहेका छौं। यसका साथै व्यापार घाटा पनि उच्च दरमा छ। हामीले सुरु गर्न लागेको कृषि क्रान्ति योजनाबाट इन्धनको आयात पनि रोक्न सकिन्छ। हामीले बायो ग्याँसबाट बायो सीएनजीमा परिवर्तन गरी ग्रिन इनर्जी उत्पादन गर्न योजना बनाएको छौं। यो पनि कृषि क्रान्तिकै सहयोगमा सम्भव छ। यो इनर्जीको सहयोगमा वातावरण स्वच्छ बनाइनुका साथै इन्धनको आयात दर घटाएर व्यापार घाटा पनि न्यूनीकरण गर्न सकिन्छ।
वगरमा परिणत पाँच लाख हेक्टर जग्गालाई प्रयोगमा ल्याउन धेरै लगानीका साथै वैज्ञानिक र प्राविधिक रूपमा काम गर्नुपर्छ। यस्तो जग्गामा ३–४ वर्ष लगानी र अथक परिश्रम गर्नुपर्छ। यस्ता प्रकारको एक विगाहामा अनुमानित कम्तिमा २–३ लाख रुपैयाँ खर्च गर्दा माटोलाई पूर्वास्थामा फर्काउन सकिन्छ। यो लगानीमध्ये ५० हजार माटोमै जान्छ। साढे २ लाख रुपैयाँ ज्यालामा खर्च हुन सक्छ। यस्तो लगानी राष्ट्रिय हितमा हुनेछ।
दोस्रो लगानी बोटविरुवा रोपण, रेखदेख र हुर्काउनमा लाग्नेछ। हामीले नमुनाका रूपमा सर्लाहीको वागमती किनारको महिनाथपुर, छटौलमा, र महोत्तरी र धनुषाको बीचको बरहरी खोला किनारको किसाननगर वगरमै नमुना योजना सुरु गरेका छौं। यो नमुना योजनाले सार्थकता पाएको छ। भेटिभरको बोट १५ दिनमै हुर्किन्छ।
बहुबालीको प्रयोग र बहुआम्दानीको स्रोत
एग्रो फरेस्ट्रीका आधारमा पर्माकल्चरको सिद्धान्तमा यस्तो जग्गामा हामी एकल बालीभन्दा बहुजातका बाली लगाउनुपर्छ। ‘भर्टिकल तथा होरिजेन्टल’ खेती प्रणालीअनुसार भेटिभर, बाँस, सितलचिनी (मोरिंगा–सोइजन), फलफूल, मकै, गहुँ, विभिन्न प्रकारका बहुमुल्य जडिबुटी, लहरेबाली, कोशेबाली,तरकारी बाली, उखुबाली, माटोमुनि हुने बाली (आलु, गाजर, सखरकण्ड, तरुललगायत), ठूलो रुख बिरुवा (आँप, कटहर, लिचीलगायत), दाल र गेडागुडीजन्य, तेलहन बाली, विभिन्न प्रकारका घाँसेबालीलगायत दुई दर्जनभन्दा बढी बाली एकैपटक लगाउन सकिन्छ। यसबाट एकैपटकमा धेरै प्रकारका बालीबाट उत्पादन लिन सक्षम हुन सक्छौं। यस्ता बालीबाट कार्वनको उत्सर्जन गर्ने मात्रा न्यूनीकरण गर्न पनि सहयोग गर्छ। भर्टिकल यसमा सातदेखि ९ तह (लेयरसम्म) खेतीपाती गर्न सकिन्छ।
यस्तो बालीबाट नियमित पर्याप्त परिमाणमा आम्दानी लिन सकिन्छ। यस्तो योजना कार्यान्वयन गर्दा लाखौं व्यक्तिले सजिलै रोजगारी पाउन सक्छन्। विडम्बना यस्तो चामत्कारिक झार भेटिभरको बोट नेपालमा पाउन सहज हुनुपर्छ। बाहिरबाट ल्याउन प्लान्ट क्वारेन्टाइनको समस्या छ।
यस्तो बालीबाट आउने उत्पादन विभिन्न उद्योगलाई कच्चा पदार्थ पनि पर्याप्त परिमाणमा उपलब्ध हुनेछ। उदाहरणका लागि कागज बनाउने उद्योग। कागज बनाउने उद्योगलाई आवश्यक पर्ने सम्पूर्ण कच्चा पदार्थ यस्ता एग्रो फरेस्ट्रीबाट उपलब्ध हुनेछ। खाद्यजन्य उद्योगका लागि आवश्यक पर्ने सबै प्रकारका कच्चा पदार्थ पनि यहाँबाट उपलब्ध हुनेछ।
उत्पादन हुने सम्पूर्ण बाली उत्पादनलाई विभिन्न प्रकारका भ्यालु चेनको आधारमा थप अर्को उत्पादन लिन सकिन्छ। विभिन्न प्रकार जडिबुटीबाट औषधीजन्य पदार्थ उत्पादन गर्न सकिन्छ। गुणस्तरीय औषधी उत्पादन गरी ग्लोबल मार्केटिङ पनि गर्न सकिन्छ। यसका साथै यसलाई एग्रो टुरिज्मको अवधारणासँग पनि जोड्न सकिन्छ। विभिन्न प्रकारका बोटविरुवाको पातबाट वायो ग्याँसको कच्चा पदार्थ पनि पर्याप्त आर्जन गर्न सकिन्छ। रेसिड्यु प्रोडक्ट रेसियो (आरपीआर) कुनैकुनै बालीमा तीन दोब्बर बढी परिमाणमा उपलब्ध हुन्छ। यसबाट बायो ग्यास, पेपर र ब्रिकेट बनाउन काम लाग्न सक्छ।
—कान्तिपुर पब्लिकेसन्सका संस्थापक गोयन्का हाल कृषि उद्यम र अनुसन्धानमा आवद्ध छन्।
प्रतिक्रिया दिनुहोस !