नेपालको फास्टेस्ट बलर सिजन-३ मा १३३ किमि प्रतिघण्टा रेकर्ड

नेपालको फास्टेस्ट बलर सिजन-३ मा १३३ किमि प्रतिघण्टा रेकर्ड
सुन्नुहोस्

काठमाडौं : नेपालभरका तीव्र गतिका बलरहरूको खोजी गर्ने उद्देश्यले वर्ल्डलिंकले आयोजना गरेको ‘नेपाल फास्टेस्ट बलर’ को तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ। करिब दुई महिनासम्म देशका २३ वटा सहरमा सञ्चालन गरिएको यस प्रतियोगितामा देशभरबाट करिब २,५०० जना बलरहरूको सहभागिता रहेको थियो।

यस वर्षको प्रतियोगितामा अभिषेक कोइरालाले १३३ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्दै प्रतियोगिताको इतिहासमै नयाँ रेकर्ड कायम गरेका छन्। यसअघि पहिलो संस्करणमा प्रदीप जैसवालले १२५ किलोमिटर प्रतिघण्टा तथा दोस्रो संस्करणमा  हिक्मत महराले १३० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्दै विजेता भएका थिए ।

प्रतियोगिताको अर्को आकर्षणका रूपमा वीरबहादुर घर्ती ले पनि १३० किमि प्रतिघण्टाको गति पार गर्दै आफ्नो क्षमता प्रदर्शन गरेका छन्। प्रतियोगितामा विभिन्न उमेर र स्तरलाई समेट्ने गरी चार वटा विधामा प्रतिस्पर्धा गरिएको थियो।

कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल तथा टी–२० अन्तर्राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी विशेष उपस्थितिका रूपमा सहभागी भएका थिए। प्रतियोगिताको सञ्चालन अन्तर्राष्ट्रिय क्रिकेट प्रस्तोता एन्ड्रयु लियोनार्ड ले गरेका थिए। उनले प्रतियोगिताका क्रममा विभिन्न सहरमा पुगेर सहभागीहरूसँग प्रत्यक्ष अन्तरक्रिया समेत गरेका थिए।

प्रतियोगिताका विजेता अभिषेक कोइरालाले नगद एक लाख रुपैयाँ, प्रथम उपविजेता तथा ‘प्रमिसिङ ट्यालेन्ट’ घोषित वीरबहादुर घर्तीले नगद ५० हजार रुपैयाँ, तथा दोस्रो उपविजेता राजेन्द्र बमले नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

यसका साथै विजेता अभिषेक कोइराला र प्रमिसिङ ट्यालेन्ट वीरबहादुर घर्तीले आगामी जुलाई महिनामा भारतस्थित प्रतिष्ठित जस्ट क्रिकेट एकेडेमी मा तीन महिनाको विशेष प्रशिक्षण अवसर प्राप्त गरेका छन्। प्रशिक्षण अवधिमा उनीहरूले आधुनिक क्रिकेट प्रशिक्षण, बायोमेकानिक्स, स्किल डेभलपमेन्ट लगायतका क्षेत्रमा विशेषज्ञहरूसँग काम गर्ने अवसर पाउनेछन्। साथै, भारतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक र खेलाडीहरूसँग सिक्ने तथा अन्तरक्रिया गर्ने अवसर समेत प्राप्त गर्नेछन्।

गत वर्षका विजेता हिक्मत महराले समेत सोही प्रशिक्षण कार्यक्रम पूरा गरेपछि आफ्नो बलिङ गति उल्लेखनीय रूपमा सुधार गर्दै हाल १४४ किमि प्रतिघण्टासम्म बलिङ गर्न सफल भएका छन्। उनी हाल नेपाली घरेलु क्रिकेटमा सुदूरपश्चिम प्रदेशबाट प्रतिस्पर्धात्मक क्रिकेट खेलिरहेका छन्।

कार्यक्रमका प्रमुख प्रायोजक तथा क्रिकेट कनेक्टिभिटी पार्टनर वर्ल्डलिंक कम्युनिकेशन्स ले नेपाली क्रिकेटमा लुकेर रहेका प्रतिभाशाली खेलाडीहरूको पहिचान, विकास र प्रोत्साहनका लागि निरन्तर योगदान दिँदै आएको छ। नेपाल क्रिकेट संघ (क्यान) तथा विभिन्न जिल्ला क्रिकेट संघहरूको सहकार्यमा सञ्चालन हुँदै आएको यो कार्यक्रम अहिले तेस्रो वर्षमा प्रवेश गरेको छ।

वर्ल्डलिंकले भविष्यमा पनि नेपाली क्रिकेटका प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने तथा उनीहरूको क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.