अझै महाकालीमा तुइनकै भर

अझै महाकालीमा तुइनकै भर

दार्चुला : दार्चुलाका व्याँसवासी अहिले पनि उर्लंदो महाकाली वारपार गर्न तुइनमा ताङ्लोकै भर पर्नुपरेको छ। वर्षौँदेखि स्थानीयवासीले महाकाली नदीमा झोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा व्याँसीवासीले नदी वारपार गर्न तुइनकै भर पर्नुपरेको हो। 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापन गर्ने निर्णय गरेका थिए। घोषणाअनुसार २०७४ असोजभित्रै तुइन विस्थापन हुनुपर्नेमा दार्चुलाको महाकाली नदीमाथि लगाइएका आधा दर्जन तुइन अहिले पनि सञ्चालनमा छन्। बर्खाको उर्लंदो महाकालीमा स्थानीयवासीले ज्यानकै बाजी थापेर आवतजावत गर्नुपरेको छ।

यहाँका बासिन्दालाई किनमेल तथा गाउँमा उत्पादित कृषि उपज बिक्रीवितरण मात्रै होइन, औषधि उपचारका लागि अस्पताल जानसमेत तुइनको मात्रै भर छ। पुल नबन्दा सबैभन्दा बढी सकस स्कुले बालबालिका र ज्येष्ठ नागरिकलाई परेको छ। बालबालिका र ज्येष्ठ नागरिकले तुइन तान्न नसक्ने हुँदा उनीहरूलाई तार्न सहयोगी आउनैपर्ने बाध्यता छ। 'तुइनको डोरीलाई तान्ने बल सबैलाई नपुगेर र आत्तिँदा धेरै जना लड्ने गरेका छन्', व्याँस गाउँपालिका–२ का मुकेश बुढाथोकीले भने, 'तुइन बन्छ भनेर सुनेको वर्षौं भएको छ यहाँका नागरिकले। तर पुल बन्ने सपना जस्तै लाग्न थालेको छ, दार्चुलाका व्याँसवासीलाई।' 

उनका अनुसार डोरी चुँडियो भने सामान डुब्यो मान्छेको ज्यान पनि गयो। कैयौँ महाकालीमा बेपत्ता पनि भएका छन्। फलामे तार खोलावारिपारि लगाइएको हुन्छ। फलामे तारमाथि रसी अर्थात् स्थानीय भाषामा ताङ्लोको प्रयोग गरिएको हुन्छ। कैयौँले यही तुइनमा अड्क्याएको ताङ्लो चुँडिएर ज्यान गुमाउँछन्। 

यस क्षेत्रमा हरेकको घरघरमा व्यक्तिगत रुपमा ताङ्लो बनाइएको हुन्छ। खलङ्गा आउँदा झोलामा लिएर आउनुपर्छ। आउँदा जाँदा नदीवारपार गर्ने साधन नै ताङ्लो हो। व्यासको दुम्लिङमा नेपाल भारत गर्न दुई वर्षअघिसम्म काठेपुल थियो। तर जब कोरोना कहर शुरु भयो, भारतले काठेपुल भत्काइदियो। त्यसयता यहाँका नागरिकले तुइनकै सहारामा वारपार गर्नुपरेको छ।

उनले बर्खाको समयमा नदीवारपार गर्न निकै डर छ। ज्यानकै बाजी राखेर वारपार गर्नुपर्ने बाध्यता छ। तुइन नभए खानलाई अन्न हुँदैन। चामल त्यही भारत गएर ल्याउने हो भन्नुभयो। दुम्लिङका बुढाथोकीले भने, 'नेपालतिरबाट खच्चड आउने बाटोसमेत भत्किसक्यो। व्यासको सुनसेराको तुसरपानीमा पहिराले बाटो अवरुद्ध भएको छ। गाउँमा चामल पाउँदैन। तुइन लगाएर पारिपट्टिबाट ल्याउन पनि निकै समस्या छ।” उहाँका अनुसार भारतीय एसएसबीले देख्नेबित्तिकै समातिहाल्छन्। उनीहरुको आँखा छलेरै ओसारपसार गर्नुपर्ने बाध्यता छ। अहिले बर्खाको समयमा त निकै सास्ती खेप्नुपरेको छ। 

अहिले पनि व्याँस गाउँपालिका–२ को दुम्लिङ, रिठान मालघाट, बर्ती, डोकट लगायतका ठाउँमा तुइन सञ्चालनमा छ। यहाँका झोलुङ्गे पुल निर्माण हुन नसक्दा नागरिकले तुइनको सहारामा वारपार गर्नुपरेको हो। 

झोलुङ्गे पुल निर्माणमा ढिलाइ

महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने उद्देश्यले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गतको सस्पेन्शन ब्रिज डिभिजनले दार्चुलाका चार ठाउँमा झोलुङ्गे पुल निर्माण गरिरहेको छ। मालिकार्जुन गाउँपालिकाको बाकु, व्याँस गाउँपालिकाको बडुगाउँ, बर्तिघाट र मालघाटमा झोलुङ्गे पुल निर्माण भइरहेको हो। 

चारवटै ठाउँमा तुइन तथा ट्युब विस्थापनअन्तर्गत अहिले पुल निर्माणको काम भइरहेको छ। ब्याँस गाउँपालिका–२ को माल र ३ र ४ को बर्तिघाटमा झोलुङ्गे पुल निर्माणको काम लामो समयदेखि रोकिएको छ। गत वर्ष कोरोनाका कारण अघि बढ्न नसकेको निर्माण कार्य अहिले पनि अघि बढेको छैन। 

यी दुवै ठाउँमा खम्पाचे रुविना जेभी काठमाडौँले झोलुङ्गे पुल निर्माणका लागि कूल दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो। यस्तै बाकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले झोलुङ्गे पुल निर्माणको ठेक्का पाएको छ। दुवै ठाउँको पुल निर्माण गर्न कूल रु दुई करोड ५५ लाख ६४ हजार लागतमा सम्झौता भएको थियो।

ब्याँस गाउँपालिकाका मुख्य तुइन रहेका ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको ढिलाइले स्थानीयवासीले हिउँद र बर्खायाम दुवै समय महाकाली नदीमाथि जोखिम मोलेर हिँड्नु परेको व्यास–२ का रवीन्द्रसिंह धामीले बताए । मुख्य नाकामा झोलुङ्गे पुलका लागि फाउन्डेशन खनियो तर त्योभन्दा अघि काम बढेको देखिएन।

अहिले बाकू र बडुगाउँमा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, सस्पेन्शन ब्रिज डिभिजनका इन्जिनीयर अजय यादवले भने । 

व्यवसायी कुँवरका अनुसार नेपाल भारत दुवैतर्फ पुल निर्माणका लागि चाहिने सामग्री जम्मा गरेको हराउन थालिसकेको छ। फाउन्डेशन पनि पुरिनथालेको छ। तर अझै समान नआउँदा काम गर्न समस्या भएको छ। बाकु र बडुगाउँमा भने असोजभित्रै निर्माण सक्ने गरी काम भइरहेको निर्माण व्यवसायी दीपक साउँदको भनाइ छ। 

यसअघि दार्चुलाकै व्यास गाउँपालिकाको तिगरम, लेकम गाउँपालिकाको लाली र मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा झोलुङ्गे पुल निर्माण भइसकेको छ। रासस/नरेन्द्रसिँह कार्की


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.