निजी क्षेत्रका तीन अग्रणी संस्थाको आग्रह : एमसीसी पास गरौं
काठमाडौं : निजी क्षेत्रका तीन अग्रणी संस्थाले राष्ट्रिय हित हेरी एमसीसी पास गर्न आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्वर अफ कमर्सले बुधबार संयुक्त विज्ञप्ति निकाली संसदबाट तत्काल एमसीसी पारित गरी कार्यान्वयन गर्न नेपाल सरकारसँग आग्रह गरेका हुन्।
उनीहरुले सरकार, राजनीतिक दल र सरोकारवालाहरुलाई एमसीसी विकास केन्द्रित भएकाले तत्काल सहमति जुटाएर पास गर्न भनेका हुन्। एमसीसी संसदबाट तत्काल पारित गरी कार्यान्वयन गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल एवं सरोकारवालासमक्ष उनीहरुले आग्रह गरेका हुन्।
नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गरे उच्च आर्थिक वृद्धिलाई सघाउ पुर्याउने विज्ञप्तिमा उल्लेख छ।
नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच सन् २०१७ सेप्टेम्बर १४ मा भएको सम्झौताअनुसार विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतको काम अझैं अघि बढ्न सकेको छैन।
संघीय संसदबाट सम्झौता अनुमोदन गर्नुपर्ने पूर्वसर्त पूरा नभएका कारण द्विपक्षीय सम्झौता भएको ४ वर्षसम्म कार्यान्वयन हुन नसक्नु दु:खद भएको उनीहरुको ठहर छ। एमसीसीअन्तर्गतका आयोजना सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि समेत नमुना बन्न सक्ने उनीहरुको विश्वास छ।
' युरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका ३० भन्दा धेरै मुलुकमा एमसीसीअन्तर्गत परियोजना निर्माण भइसकेकाले नेपालमा पनि सहज कार्यान्वयन हुनेमा निजी क्षेत्र विश्वस्त छ ,'विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस !