भीड घटाऔं, दसैं मनाऔं
दसैं पर्व सुरु भएको छ। कोरोना महामारीले अघिल्लो साल खल्लो बनाएको दसैं यो वर्ष भने मनाउने तयारीमा नेपाली छन्। कोरोना खोप धेरै नागरिकले पाएकाले लकडाउन छैन। स्वास्थ्य मापदण्ड अपनाएर बजार पसल खोल्न सरकारकै निर्देशन छ। एक वर्षसम्म लकडाउनका कारण घरमा थुनिएका नागरिक बाहिर निस्कन पाएका छन्। यातायातका साधन निर्वाध रूपमा चलेका छन्। झट्ट हेर्दा अब कोरोनाले हामीबाट बिदा लियो भन्ने महसुस सबैलाई हुन्छ। तर, अवस्था त्यस्तो छैन। दैनिक संक्रमित भेटिएका छन्। कोरोनाकै कारण हुने मृत्युलाई शून्यमा झार्न सकिएको छैन। त्यसैले अझै स्वास्थ्य मापदण्डको पालना आवश्यक छ।
स्वास्थ्य सुरक्षा प्राथमिक विषय हो। अघिल्लो वर्ष बडादसैंका विविध विधि र परम्परा खुम्चिए। घर परिवारमा सीमित बन्यो दसैं। रौनक सीमित गरी सावधानी अपनाएर चाड मनाउनुपर्ने परिस्थिति थियो। अहिले बजारमा देखिने ठेलमठेलको भीडले दसैं रौनकताका साथ भित्रिएको भान हुन्छ। मास्कलाई चिउँडोमा अड्काएर बजार दौडनेको लर्को छ। सार्वजनिक यातायातमा भित्र खुट्टा टेक्ने ठाउँ छैन। स्वास्थ्य मापदण्डलाई यी सबै दृश्यले गिज्याएको छ। व्यापारीलाई बेच्ने सुर छ, उपभोक्तालाई किन्ने। देशका मुख्य सरहमा भीड थामिनसक्नु छ। जसका कारण पुनः संक्रमितको संख्या बढ्न सक्नेमा दुविधा छैन।
खोपले कोरोनाको मृत्युदर घटनाउने हो, संक्रमण हुनबाट रोक्ने होइन। खोप नेपालमा भित्रिएसँगै स्वास्थ्य विज्ञले यो विषयमा सचेत गराइरहेका पनि छन्। तर, अझै नागरिकमा खोप लगाएपछि ढुक्क हुन्छ, संक्रमण हुँदैन भन्ने भ्रम छ। यसै भ्रमका कारण स्वास्थ्य मापदण्डमा लापरबाही छ। मास्क कानमा झुन्ड्याउने बाहेक सही तरिकाले लगाएको कमै पाइन्छ। सामाजिक दूरीको पालना छैन। पुनः सरसफाइमा ध्यान घटेको छ। कोरोना नयाँ नयाँ भेरियन्टमा आउने भएकाले मानव स्वास्थ्यका लागि जोखिम उत्तिकै छ। विश्वका विकसित मुलुकलाई यो विषयलाई गम्भीरताका साथ लिए पनि हाम्रो मुलुकमा अझै खेलाँची छ। यस्तो क्रियाकलापले पुनः महामारी नफैलिएला भन्न सकिँदैन। सचेत हुनैपर्ने समय हो यो।
देशका प्रमुख सहरमा संक्रमण दैनिक सय माथिको संख्यामा नै छ। अब चाडपर्वको समयमा यो संक्रमण गाउँगाउँसम्म पनि पुग्न सक्छन्। पारिवारिक भेटघाट र आपसी खुसी साट्नका लागि धेरैजसो दसैंमा आफ्नो मूलघर पुग्छन्। सहरमा अस्थायी बसोबास गर्नेहरू आफ्नो थातथलो फर्कन्छन्, गाउँ फर्कन्छन्। तर, परिवारसँग रमाइलो गर्न दसैंमा घर जानेहरूले आफूसँगै कोरोना भाइरस पनि लगेमा त्यसले संकटको स्थिति पैदा गर्न सक्छ। दसैंलगत्तै चिसो बढ्ने भएकाले कोरोना भाइरसले अरू अत्याउन सक्छ। खोप लगाएँ भने ढुक्क हुने अवस्था छैन। रुसमा मंगलबार एकैदिन कोरोना संक्रमणका कारण ८ सय ९५ जनाको मृत्यु भएको उदाहरण छ। यो अहिलेसम्मकै सबैभन्दा धेरै मृत्युको संख्या हो। छिमेकी मुलुक भारतमा कोरोनासँगै निपाहा भाइरसको संक्रमण बढ्दो छ। त्यसैले हामीले लापरबाही गर्नु हुँदैन।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा १० वटा जिल्लामा पाँच सयभन्दा बढी संक्रमित छन्। २० वटा जिल्लामा दुई सयभन्दा बढी सक्रिय संक्रमित रहेको जोगिएर चाडपर्व मनाउनुको विकल्प छैन। हामीलाई थाहै छ, अहिले कोरोनाजस्ता भाइरसबाट बाच्ने एकमात्र उपाय भनेको सजगता अपनाउनु नै हो। न यसको उपचार हुन्छ, न उपचार गर्ने पर्याप्त ठाउँ नै पाइन्छ। दसंै सुरक्षित भएर मनाऔं। खानपान र स्वास्थ्य मापदण्डमा ख्याल गरौं।
प्रतिक्रिया दिनुहोस !